शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोलिटिक्स र पोलिसीमा परिवर्तन कुर्दै सेयर बजार

बिहीबार, २२ मङ्सिर २०७९, १६ : ०६
बिहीबार, २२ मङ्सिर २०७९

काठमाडौं । गत नोभेम्बर ८ तारिकमा १९५६.३७ विन्दुमा रहेको पुँजी बजार मापक नेप्से परिसूचक डिसेम्बर ७ मा १९१७.२८ विन्दुमा बन्द भयो । यो एक महिनाको अवधिमा सेयर बजारमा खासै परिवर्तन नभएको र केही अङ्कको तलमाथि मात्रै भएको यो तथ्याङ्कले देखाउँछ ।

यो एक महिनाको बीचमा राजनीतिक रूपमा भने धेरै परिवर्तन भयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भयो । सातवटा प्रदेशका प्रदेश सरकार र केन्द्र सरकार नयाँ बन्दैछ । निर्वाचनबाट पहिलो दलको रूपमा रहेको नेकपा एमाले दोस्रो ठुलो दलको रूपमा रहेको छ भने दोस्रो ठुलो दल नेपाली काँग्रेस पहिलो दलको रूपमा देखापरेको छ । यस्तै, सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन । 

सेयर बजारका लगानीकर्ताले राजनीतिलाई नजिकबाट निहालेर सोही अनुसारको व्यवहार देखाउँछन् भन्ने मान्यता संसारभर राख्ने गरिन्छ । निर्वाचनको परिणामपछि पनि नेपालको सेयर बजारमा खासै परिवर्तन नदेखिनुले नेपाली लगानीकर्ता भने यसबाट टाढा छन् कि भन्ने पनि देखिएको छ । अब बन्ने प्रदेश र संघीय सरकारले लिने नीतिगत निर्णयले बजारमा प्रभाव पार्छ भन्ने कुरामा भने दुविधा छैन ।

यो एक महिनाको अवधिमा सेयर बजारमा १०० विन्दुसम्मको मात्रै उतारचढाव देखिन्छ । यो अवधिमा नेप्से परिसूचक बढेर १९८०.२६ विन्दुसम्म पुगेको थियो भने घटेर १८७९.३७ विन्दुसम्म आइपुग्यो । दैनिक कारोबार रकम भने बढेर १ अर्ब ७० करोड रुपैयाँको हाराहारीसम्म पुग्यो ।

यही बीचमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको छ भने सरकारले आयात प्रतिबन्ध हटाएको छ । केही वस्तुको आयातमा राख्नुपर्ने नगद मार्जिनको व्यवस्था राष्ट्र बैंकले हटाएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत ब्याजदर घटाउने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरूको व्याज अन्तर (स्प्रेड) दर घटाउने निर्णय भएको छ । १४ महिनापछि पहिलोपटक शोधनान्तर अवस्था बचतमा गएको छ । 

यी सकारात्मक सन्देश र गतिविधिले पनि सेयर बजारमा उत्साह बढाउन सकेको छैन । बजारमा एक प्रकारको नैरास्यता देखिन्छ । यसको कारण के हो ?

लगानीकर्ताले नयाँ सरकार कसको नेतृत्वमा बन्छ भनेर पर्खिरहेका देखिन्छन् । पहिला परीक्षण भइसकेका नेताकै नेतृत्वमा सरकार बनेमा खासै सुधार नहुने विश्लेषण लगानीकर्ताको छ । ‘पहिला प्रधानमन्त्री भइसकेका टेस्टेड नेताकै नेतृत्वमा सरकार बन्यो भने खासै सुधार केही हुँदैन, निर्वाहमुखी भएर अघि बढ्ने अवस्था आउँछ, त्यसैले धेरै आशावादी हुन सकिँदैन,’ एक लगानीकर्ता भन्छन् । 

नयाँ नेताको नेतृत्वमा सरकार बनेमा लगानीकर्ताका उत्साह आउने एक ब्रोकरले बताए । ‘दोस्रो बजारमा पाइने लाभांशले भन्दा भविष्यप्रतिको विश्वासले बढी सकारात्मक सन्देश प्रवाह गर्छ, नयाँ नेताको नेतृत्वमा सरकार बन्छ भन्ने भयो भने बढी उत्साह देखिनेछ भने पहिला प्रधानमन्त्री भइरहेका व्यक्ति नै फेरि पनि प्रधानमन्त्री हुने अवस्था आएमा यस्तै होला,’ लगानीकर्ताको मुड अध्ययन गरिरहेका ती ब्रोकर भन्छन् । यसरी हेर्दा लगानीकर्ताले नयाँ सरकार कुरिरहेको अर्थात् पोलिटिक्सको प्रतीक्षा गरिरहेको देखिन्छ । 

लगानीकर्ताले नयाँ नीतिको प्रतीक्षा पनि गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशतभन्दा बढी व्याजमा सर्वसाधारणलाई कर्जा लगानी गर्न पाउँदैनन् । तर, उनीहरुले बैंक वित्तीय संस्थाहरुबाट थोकमा कर्जा लिएर सर्वसाधारणलाई ऋण दिन्छन् । लघुवित्तहरुले लिने थोक कर्जाको व्याज नै अहिले बढेर १२ प्रतिशतको हाराहारीमा पुगेको छ भने बैंकहरुले त्यसमा सेवाशुल्क पनि थप गरेर लघुवित्तलाई कर्जा दिन्छन् । यसरी हेर्दा लघुवित्तले १३ प्रतिशतभन्दा बढीमा रकम पाउने र सोही रकम सर्वसाधारणलाई १५ प्रतिशत व्याजमा ऋण दिनुपर्ने हुन्छ । यस्तो व्याजदरको कारण आफूहरुको संचालन नाफा नै नभएको लघुवित्तहरु बताइरहेका छन् । राष्ट्र बैंकले यो नीतिगत व्यवस्थामा कहिले सुधार गर्छ भन्ने प्रतीक्षा लगानीकर्ताको छ । 

यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत व्याज अन्तर (स्प्रेड) दर ०.४ प्रतिशतले घटाएर बैंकहरुको लागि ४ प्रतिशत कायम गरेको छ । यो निर्णयले कर्जाको व्याज घट्नेछ भने अर्काेतिर उनीहरूको नाफा पनि कम हुनेछ । बैंकको व्याज घट्दा लगानीकर्ता आकर्षित हुन सक्छन् भने नाफा घट्दा निरास हुन सक्छन् । त्यसैले स्प्रेडदर कहिलेदेखि लागू हुन्छ भन्ने प्रतीक्षा पनि लगानीकर्ताको देखिन्छ । 

यस्तै, बीमा प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गरिरहेका कम्पनीहरूलाई कोभिड बीमा बापतको थप रकम भुक्तानी गर्न दबाब दिइरहेको छ । यस्तो रकम भुक्तानी गर्दा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको एक वर्षको नाफा प्रभावित हुने अनुमान गर्न थालिएको छ । कोभिड इन्स्योरेन्स बापतको रकम सरकारले मात्रै दिने हो कि बीमा कम्पनीहरुले पनि दिनै पर्ने व्यवस्था गरिन्छ भन्ने विषयको निर्क्योलले पनि अबको सेयर बजार प्रभावित हुनेछ । किनभने सेयर बजारमा निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनी संचालनमा छन् । 

जीवन बीमा व्यवसाय पनि अहिले प्रभावित भएको छ । बजारमा तरलता अभाव भएको कारण बैंकहरुले जीवन बीमा व्यवसायका सुविधाहरू दिएर निक्षेप तानिरहेका छन् । यस्तै, आर्थिक संकुचनको कारण जीवन बीमा व्यवसाय प्रभावित भएको छ । यस्ता कारणले पनि जीवन बीमा व्यवसाय गरिरहेका कम्पनीको नाफा प्रभावित हुनेछ । जीवन बीमा व्यवसाय गर्ने १८ कम्पनी सेयर बजारमा सूचीकृत छन् । 

सेयर बजारमा प्रभाव पार्ने कम्पनीहरूमा जलविद्युत समूहका पनि धेरै छन् । केही वर्ष अघिसम्म ८ देखि ९ प्रतिशत व्याजमा कर्जा परिचालन गरिरहेका जलविद्युत आयोजनाहरूले अहिले १२ देखि १३ प्रतिशतसम्म व्याज तिर्नु परेको छ । कर्जाको व्याज बढेपछि आयोजनाहरूको लागत बढी हुनेछ । लागत बढेपछि उनीहरूको नाफा प्रभावित हुने र सेयर बजारमा नकारात्मक असर पर्ने देखिन्छ । 

यस्तै, सरकारले अहिले १३ प्रतिशतको हाराहारीमा आन्तरिक कर्जा उठाइरहेको छ । तरलता अभाव भएको बजारमा सरकारले नै महँगो व्याजमा कर्जा उठाउँदा बजारमा तरलता अभाव अझ चर्किनेछ । 

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले एउटा स्टक एक्सचेन्ज, ३ वटा कमोडिटी एक्सचेन्ज र सङ्ख्या नतोकी सेयर ब्रोकरको लाइसेन्स दिने गृहकार्य अघि बढाएको छ । तर, अहिले सो प्रक्रिया रोकिएको छ । स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरण गर्ने प्रक्रिया कसरी अघि बढ्छ भन्ने कुराले पनि सेयर बजार प्रभावित पार्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप