शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लघुबीमाको ७ कम्पनीलाई वार्षिक साढे २ अर्बको व्यवसाय

बिहीबार, २२ मङ्सिर २०७९, १७ : २६
बिहीबार, २२ मङ्सिर २०७९

बीमा प्राधिकरणले लघु बीमाको लागि बेग्लै कम्पनी स्थापनाको प्रक्रिया अघि बढाए पनि व्यवसाय भने खासै धेरै देखिएको छैन । बीमा कम्पनीहरुले गत कात्तिक मसान्तसम्म गरेको व्यवसायका आधारमा मूल्यांकन गर्दा लघु बीमा व्यवसायको आकार वार्षिक साढे २ अर्ब रुपैयाँ बराबर मात्रै हुने देखिएको हो ।

प्राधिकरणले भदौ १० गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै ७ वटा लघु बीमा कम्पनी स्थापनाको लागि लाइसेन्सको आवेदन माग गरेको थियो । प्राधिकरणको माग अनुसार आवेदन दिएकामध्ये ७ कम्पनीलाई गत मंसिर १० गते लाइसेन्स दिइएको थियो ।

लघु बीमाको लागि प्राधिकरणले ७ वटा बेग्लै कम्पनीलाई लाइसेन्स दिएको भएपनि व्यवसायले ती ७ कम्पनी थेग्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत कात्तिक मसान्तसम्ममा ७९ करोड ६८ लाख रुपैयाँ बराबरको मात्रै लघु बीमाको व्यवसाय भएको छ । चार महिनामा भएको तथ्यांक हेर्दा एक आर्थिक वर्षमा साढे २ अर्ब रुपैयाँ हाराहारीमा लघु बीमा व्यवसाय रहेको देखिन्छ ।

चालू आर्थिक वर्षको ४ महिना (साउनदेखि कात्तिक मसान्तसम्म) मा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले लघु जीवन बीमातर्फ ४३ लाख ८ हजार २७० बीमालेख जारी गरेका छन् । यस्ता बीमालेखबाट गत कात्तिक मसान्तसम्ममा ७७ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । यसमा पनि प्रथम बीमा शुल्क भने जम्मा ७१ करोड ६२ लाख रुपैयाँ मात्रै संकलन भएको तथ्यांकले देखाएको छ भने ५ करोड ४३ लाख रुपैयाँ नवीकरणीय बीमा शुल्क संकलन भएको छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले गत कात्तिक मसान्तसम्ममा लघु बीमातर्फ १२ हजार ४२२ बीमालेख जारी गरेका छन् । कम्पनीहरुले सो अवधिमा कुल २ करोड ६३ लाख २६ हजार रुपैयाँ बीमा शुल्क लघु बीमाबाट संकलन गरेका छन् ।

व्यवसायको आकार खासै राम्रो नदेखिए पनि बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले नयाँ कम्पनी थपिरहेको छ । प्राधिकरणले लघु जीवन बीमा व्यवसायतर्फ ३ वटा कम्पनी र लघु निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनी लाइसेन्स दिएको छ । 

प्राधिकरणले लघु जीवन बीमा व्यवसाय गर्नको लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि, विराटनगर ७ मोरङ, प्रदेश १, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि. वीरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेश र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि. पोखरा ८ कास्की, गण्डकी प्रदेशलाई लाइसेन्स दिएको हो ।

निर्जीवन लघुबीमा व्यवसाय गर्नको लागि प्राधिकरणले ४ वटा कम्पनीलाई लाइसेन्स दिएको छ । प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरन्स लि, बुटवल २ रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल माइक्रो इन्स्योरेन्स लि, भरतपुर १ चितवन, वागमती प्रदेश, स्टार माइक्रो इन्स्योरेन्स लि, जनकपुरधाम धनुषा, मधेश प्रदेश र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि, धनगढी ३ कैलाली, सुदूरपश्चिम प्रदेशलाई लाइसेन्स दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप