शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

बिहीबार, २२ मङ्सिर २०७९, १८ : ०५
बिहीबार, २२ मङ्सिर २०७९

बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ ।  गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइँचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन् । उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएकी छन् । “यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ”, उनले भनिन् ।

विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो । विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन् । “यहाँको जुनारलाई यात्रुले कोसेलीका रुपमा लैजाने गरेका छन्”, स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन् । एकैदिनमा रु ५० हजारसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन् ।

किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् । शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताइन् । विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन् । उनी जुनार बेचेर वर्षको रु एक लाख बचत गर्छिन् ।

खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मूल्यमा भने एकरुपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो रु ६५ देखि रु ७० सम्ममा किसानसँग खरिद गरी रु ८० देखि रु १२० सम्ममा जुनार बिक्री गर्दै आएका छन् । गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष रु सात लाख २० हजार आम्दानी भएको बताए । उनको बगैँचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन् । 

किसानको बगैचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन् । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन । जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ । जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौँ, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाइँका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ । पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यावसायिक खेती गर्ने क्रम बढ्दै गएको उनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप