बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दलहरू समानुपातिकको प्रेसरमा, सुरु भयो नयाँ सरकार निर्माणको जोडघटाउ

बिहीबार, २२ मङ्सिर २०७९, १८ : ४०
बिहीबार, २२ मङ्सिर २०७९

आज मिति २०७९ मंसिर महिनाको २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. समानुपातिकको प्रेसरमा दलहरु

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली माग गरेको छ । आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गरेसँगै राजनीतिक दलहरुलाई पत्राचार गरेको हो । 

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरि पठाउन पत्राचार गरिएको आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।  

राजनीतिक दलको केन्द्रीय समिति वा सो सरहको समितिले बन्दसूचीबाट उम्मेदवारको नाम सिफारिस गरेर पठाउन पत्राचार गरिएको उनको भनाइ छ । दलहरूले यही मंसिर २४ गतेसम्म आयोगले मागे अनुसारको विवरण पठाउनुपर्नेछ । 

समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएर समानुपातिक तर्फ सिट पाएका दलहरुलाई सो सिटमा उम्मेदवार निर्वाचित गर्न यसअघि बुझाएको बन्दसूचीबाट नाम छनौट गरेर पठाउन पत्राचार गरिएको हो ।  दलहरूले आफूले पाएको समानुपातिक सिटमा विभिन्न समानुपातिक समावेशी क्लष्टरबाट प्रतिनिधित्व हुनेगरी उम्मेदवार छानेर आयोगमा पठाउनुपर्ने आयोगले जनाएको छ । 

यसैबीच निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको नामावली मागेसँगै दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । नेकपा एमालेले शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ । यसैगरी नेपाली कांग्रेसले पनि केन्द्रीत कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अन्य दलहरु पनि समानुपातिक नामावली तयार गर्नका लागि छलफलमा जुटेको बताइएको छ । ​

२.नयाँ सरकार गठनको हिसाबकिताब
निर्वाचनको अन्तिम परिणाम आएसँगै सत्ता गठबन्धनलाई संघमा नयाँ सरकार बनाउन २ सांसदको अभाव हुने देखिएको छ । गठबन्धन गरेर निर्वाचनमा गएका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा नेपालको प्रतिनिधिसभामा १३६ सिट मात्र पुग्ने भएको हो । जबकि, २७५ सदस्यीय प्रतिनिधिसभामा सामान्य बहुमतका लागि कम्तीमा १३८ सिट चाहिन्छ ।

यी दलहरुले प्रत्यक्ष जितेका र समानुपातिकबाट आउने सांसद संख्या गणना गर्दा कांग्रेस ८९, माओवादी केन्द्र ३२, नेकपा एकीकृत समाजवादी १०, लोसपा ४ र जनमोर्चाको १ जोड्दा १३६ मात्र हुन्छ । यो हिसाबबाट सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन थप २ सांसद अपुग हुने देखिएको हो । 

तर, निर्वाचन परिणामपछि सीके राउतको जनमत पार्टी र प्रभु साहसहित उनीपक्षीय अर्का एक स्वतन्त्र सांसद समेत गठबन्धनसँग नजिकिएका छन् । जसले गर्दा सत्तारुढ गठबन्धनलाई बहुमत जुटाउन पर्याप्त विकल्प देखिन्छ ।
यस्तै प्रदेशतर्फपनि चार वटा प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत नदेखिएको तथा एमाले पनि सरकार बनाउने कसरतमा देखिएकाले दलहरुले आन्तरिक छलफललाई तीव्रता दिएको दिएका छन् । ​

३. छलफलमा माओवादीका युवा नेता
 चुनावी परिणाम लगत्तै नेकपा माओवादी केन्द्रका युवा नेताहरूले पार्टीका कमीकमजोरी खोतल्न थालेका छन् ।  हरेक निर्वाचनमा एकपछि अर्को गर्दै पार्टी खुम्चिँदै जान थालेपछि  युवा नेताहरूले आफ्नै पहलमा छलफल अघि बढाएका हुन् । 

पार्टीका युवा नेता लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’ रामदीप आचार्य, डिपी ढकाल, लगायत नेताहरू छलफलमा जुटेका हुन् ।  पार्टीको भविष्यलाई लिएर युवा नेताहरूले  चिन्ता व्यक्त गर्दै बहस र छलफललाई अघि बढाएको नेता डीपी ढकालले जानकारी दिए । ​

४. उधौली पर्व मनाइयो

बिहीबार किरात समूदायले आफ्नो दोस्रो ठूलो चाड उधौली र ज्यापु समूदायले यमरी पूर्णिमा मनाएका छन् । पर्वको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।  उधौलीबाट मानव जीवन र प्रकृतिबीचको सम्बन्ध उजागार हुने उनको भनाइ छ ।यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन् । 

५. जबराको गुनासो 
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकार, संसद् र संसदीय समितिले कानुन विपरीत तजबिजी अधिकार प्रयोग गरेर संविधानकै उल्लङ्घन गरेको गुनासो गरेका छन् । बुधबार संघीय संसद् सचिवालयबाट महाभियोग र निलम्बन निष्प्रभावी रहेको पत्र बुझेसँगै सर्वोच्च अदालत जान लागेका जबरालाई सरकार, सर्वोच्च अदालत प्रशासन र नेपाल बार एसोसिएसनले रोकेको थियो । महाभियोगको औचित्य वा विषय सकिइसकेको हो कि अझै बाँकी छ भन्ने कानुनी पाटो बाँकी नै रहेको भन्दै सरकारले जबरालाई सर्वोच्च प्रवेशमा निषेध गरेको थियो ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफूलाई निषेध गर्ने काम भएको समेत गुनासो गरे ।  रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै जबराले आफू सर्वोच्चमा हाजिर गरेर बिदामा बस्ने तयारीमा रहेको खुलासा गरेका छन् ।  

गत बैंशाख १३ गतेदेखि सरकारले अन्य उपभोग्य वस्तुसँगै कार, जिप, भ्यान र १५० सिसी इन्जिन क्षमतामाथिको दुई पाङ्ग्रे सवारी साधनको आयातमा पूर्ण बन्देज लगाएको थियो । सवारी साधनलाई विलासिताको साधानको रुपमा व्याख्या गर्दै सरकारले गाडी आयातमा ५० देखि शत प्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गर्दै गाडी आयातमा प्रतिबन्ध लगाइएको थियो । आयात खुलाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएपनि आफूहरु विस्वस्त हुन नसकेको व्यवसायीहरुको भनाइ छ । 
यता अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरू सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।  मन्त्री शर्माले उद्योगी व्यवसायीहरूका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायीहरू सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए । 

७. माओवादीमा कारबाही सिफारिस
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अचुतम काफ्ले र रामेश्वर राय यादवले अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस भएको छ । 
प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई भुमिका खेलेको भन्दै माओवादी दुई नेतालाई कारबाही सिफारिस भएको हो ।

८. राप्रपाको चुनावी नतिजा 
पाँच वर्षको अन्तरालमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा गुणात्मक प्रगति गरेको छ । २०७४ सालको निर्वाचनमा राप्रपाले प्रदेशतर्फ ४ र प्रतिनिधिसभामा जम्मा १ सिट जितेको थियो । यस्तै राप्रपाले प्रतिनिधिसभातर्फ थ्रेसहोल्ड समेत कटाउन सकेको थिएन।

तर, मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट राप्रपाले प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सिट जितेको हो । यस आधारमा राप्रपाले औसतमा प्रदेशसभातर्फ ७ गुणा र प्रदेशसभातर्फ १४ गुणा नै सिट वृद्धि गरेको हो । २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट निर्वाचित भएका थिए । तर, तत्कालीन अवस्थामा राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीका रुपमा अस्तित्वमा रहेको राप्रपाले थ्रेसहोल्ड पार गर्न सकेको थिएन ।

​९. रास्वपामा समानुपातिक लफडा
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् ।  

१०. यो पनि....
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् ।  प्रेस चौतारी नेपाल, चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे ।  अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । ​

 

यसैगरी नेकपा (एकीकृत समाजवादी)का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् ।  आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता तत्कालै नहुने उनले बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती आयोजना छिट्टै सम्पन्न हुने बताउका छन् । धनगढीमा बिहीबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब छिट्टै सम्पन्न हुने बताएका हुन् । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप