शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

'एमाले विभाजन अनुमोदन भएन'

प्रदेश १ को मुख्यमन्त्रीमा मेरो पहिलो दाबी छैन : राजेन्द्र राई
विहीबार, २२ मंसिर २०७९, १८ : ४९
विहीबार, २२ मंसिर २०७९

नेकपा एमाले विभाजन गरेर निर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ (३ प्रतिशत मत) पनि कटाउन सकेन । उसले ७ मध्ये ६ प्रदेशमा मुस्किलले १.५ प्रतिशत मत कटाएको छ । सत्ता गठबन्धनसँग तालमेल गरेर प्रत्यक्षमा केही सिट ल्याए पनि समानुपातिक मतको अवस्थाले उक्त पार्टी अनुमोदन भएन भन्दा के होला भन्ने प्रश्न उठिरहेको छ । यसै सन्दर्भमा हामीले उक्त पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसँग कुराकानी गरेका छौं । प्रस्तुत छ राईसँग रातोपाटी संवाददाता अर्जुन आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

निर्वाचनमा सत्ता गठबन्धनले भनेजस्तो परिणाम ल्याउन नसकेको देखियो । निर्वाचन परिणामको समीक्षा कसरी गर्नुहुन्छ ?

गठबन्धनको हिसाबले मूल्याङ्कन गर्दा राष्ट्रिय रूपमा र प्रदेशगत रूपमा अपेक्षा गरेजस्तो नतिजा आएन । यो भन्दा राम्रो आउनुपर्ने हो । तर, मध्यम खालको नतिजा आएको छ । एक्लाएक्लै लड्दा यो खालको पनि आउँदैनथ्यो । गठबन्धन गरेको हिसावले आएको परिणामलाई सकारात्मक ढंगले नै लिनुपर्छ ।

नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन । यो अपेक्षित नै थियो कि अनपेक्षित भयो ?

अलिकति प्राविधिक कमजोरी जस्तो भयो । पहिलो कुरा देशैभरि प्रत्यक्षतर्फ उम्मेदवार कम उठाइएको हुनाले प्रचार–प्रसार कमजोर भयो । दोस्रो, गठबन्धनमा सँगै हिँड्नुपर्ने भएको हुनाले पनि समानुपातिकको मत छुट्टै माग्न असुविधा भयो । त्यसो भएकाले नयाँ पार्टी, नयाँ चिह्नमा जनताले भोट हाल्ने कुरामा अलिकति अलमलजस्तो भयो ।

फेरि, जनताले पनि स्थापित पार्टीलाई नै प्राथमिकता राखेको जस्तो देखियो । शहरको भोट चाहिँ पुरानो पार्टीप्रति जनताको असन्तुष्टिका कारणले नयाँ पार्टीहरूलाई गयो ।

पार्टी फुटको इतिहासलाई जनताले अनुमोदन नगरेको पटकपटक देखाउँछ । यो पटकको निर्वाचनमा पनि एमाले विभाजनलाई जनताले अनुमोदन गरेनन् भन्दा के होला ?

त्यसरी पनि हेर्न सकिन्छ । नेपालमा राजनीतिक सचेतनाको अभाव भएकाले यो ठिक बेठिकको आधारमा भन्दा पनि हिजोदेखि कुन पार्टीमा लागियो, सम्बन्ध साइनोको हिसाबले भोट हालिरहने कारणले नयाँ तथा असल विचारका साथ आएको छ भने पनि नयाँ पार्टीलाई समर्थन नगर्ने खालको स्थिति छ । त्यसो हुँदा नयाँ पार्टीहरु अनुमोदित हुनु, त्यसले नयाँ स्पेस बनाउनु गाह्रो छ ।

सत्ता गठबन्धनले थोरै सिटले बहुमत पु-याउनका लागि पनि सीके राउतको जनमत पार्टीसँग सम्बन्ध जोड्नु पर्ने अवस्था आउने, त्यसका बाबजुद एमालेले उल्लेख्य सिट प्रत्यक्षमा पनि जित्ने र समानुपातिकमा त सबैभन्दा धेरै मत ल्याएको छ । अर्कोतिर,  रवि लामिछानेको पार्टीले उल्लेख्य सफलता पाएको छ । यसलाई चाहिँ कसरी हेर्नुहुन्छ ?

नेपालमा कम्युनिस्ट विचार र पार्टीप्रतिको समर्थनचाहिँ जबर्जस्त एमालेमा छ । त्यसो हुँदा कांग्रेसको विकल्पमा वा गैरकम्युनिस्ट पार्टीको विकल्पमा अहिले पनि एमालेलाई नै जनताले छाने । त्यसको मतलब अरु पार्टीहरुलाई भोट दिँदा कांग्रेसको विकल्प बन्न सक्दैन भन्ने जनतालाई लाग्यो । ठूलो पार्टीलाई नै साथ र समर्थन गर्ने धारणाका साथ पनि मत आएको हुनसक्छ ।

दोस्रो, पहिलादेखि नै लागिरहेको पार्टीमा लाग्ने, त्यसैलाई भोट हाल्ने जुन खालको प्रचलन छ त्यसको आधारमा त्यसले समर्थन प्राप्त गर्दछ । नयाँ पार्टीको उदयको कुरा भनेको सामाजिक रूपमा मूल धारका पार्टीहरु पुराना स्थापित पार्टीहरुको काम कारबाहीप्रति जनताहरुचाहिँ खुसी छैन । त्यसो हुँदा त्यसको आक्रोश वा विद्रोह, त्यसको असन्तुष्टिको स्वर चाहिँ नयाँ पार्टीमा भोट गएको छ । यसबाट मूल रुपमा पुराना पार्टीहरुले, ठूला पार्टीहरुले धेरै ठूलो शिक्षा लिन जरुरी छ कि अब केही सन्देशमूलक, जनतालाई अनुभूति हुने खालको काम गर्ने, आफूलाई परिमार्जन नगर्ने हो भने अब नयाँ पार्टीहरुले पुराना पार्टीको ठाउँ लिने सम्भावना देखिएको छ ।

तपाईले भन्नुभयो– मूल रुपमा एमाले नै कम्युनिस्टहरुको नेतृत्व गर्ने पार्टीजस्तै भयो । जनमत पनि त्यतै केन्द्रित हुने देखियो । अहिलेको निर्वाचनमा पनि वामपन्थी जनमत बलियो देखिन्छ । फेरि वाम एकताको बहस पनि भइरहेको छ । त्यो सम्भावना छ ?

वामपन्थी पार्टीहरूको एकता आगामी ५ वर्षलाई समयावधि राख्ने हो भने त्यो सम्भावना छ । त्यसमध्ये एमालेसँगचाहिँ नेकपा एकीकृत समाजवादी र माओवादीको अलिकति समयपछि हुनसक्ला । तत्काल १÷२ वर्ष चाहिँ त्यो सम्भावना कम छ ।

नेकपा एकीकृत समाजवादी र माओवादीबीच चाहिँ तत्कालै एकता गर्ने गरी निर्वाचन अगाडि एउटा एकता कार्यदल पनि बनेको थियो । चुनावपछिचाहिँ एकता गर्ने नगर्ने भन्ने विषयमा तपाईहरुको पार्टीमा दुईधार देखियो । खास कुरा के हो ?

दुईखाले कुरा स्पष्ट रुपमा छ । कसैले मिलेर जानुपर्छ भन्ने छ, कोही मिल्नु हुँदैन भन्ने पनि छ । त्यसलाई नै विषय बनाएर गम्भीरतापूर्वक छलफल सुरु नभएको कारणले पनि फरकफरक धारणा आएको हो । माओवादीसँग पनि तत्काल नै एकताको सम्भावना छैन । सम्भवतः माओवादीसँग मात्रै एकीकृत समाजवादीको एकता भन्ने कुरा पनि अगाडि नबढ्ला । अलिकति माओवादी, एकीकृत समाजवादीसहित अरु वृहत वाम एकताको सन्दर्भमा चाहिँ त्यो एकता होला । नत्र दुईवटा पार्टीको मात्रै एकता चाहिँ हुँदैन । एमालेको चाहिँ अलिक पछाडि हुन्छ । अन्य साना वामपन्थी पार्टीहरुसहितको एकता भयो भने छिटो होला नत्र दुईवटा पार्टीमात्रैको एकता चाहिँ तत्कालै हुने सम्भावना देखिँदैन ।

पछिल्लो समय आएको बहस चाहिँ समाजवादी केन्द्र बनाउने, कम्युनिस्ट भन्ने शब्द नै हटाउने भन्ने पनि आएको छ । खास गरी यो डा. बाबुराम भट्टराईले उठाउनु भएको विषय हो । समाजवादी केन्द्र बन्ने सम्भावना चाहिँ कत्तिको छ ?

त्यस्तो सम्भावना छैन । त्यो अलिकति भावनाको कुरा हो । नेपालमा त्यो कम्युनिस्टको झण्डा, कम्युनिस्ट पार्टीको नाम हटाउने भन्ने कुरा चाहिँ त्यति सजिलो छैन । बाबुराम भट्टराईको एउटा धारणा कहाँ मिल्दैन भने समग्रतामा जोड्दा अहिले पनि कम्युनिस्ट पार्टीहरुकै जनमत बढी देखिएको हुनाले कम्युनिस्ट पार्टीमात्रै नाम राख्ने कुराले केही फरक पर्दैन । खासगरी नाम कम्युनिस्ट, काम फरक भयो भने फरक पर्ने हो । नामले चाहिँ दुनियाँमा पनि फरक पर्न छोडिसकेको छ । खासगरी हिजोको गैर कम्युनिष्ट शक्तिले पनि कम्युनिस्टहरुलाई हिजोको जस्तै वैरभाव राखेर, पानी बाराबारको शत्रुतापूर्ण सम्बन्ध राख्दैनन् । अन्तर्राष्ट्रिय सम्बन्धमा पनि छैन । दुई देशको सम्बन्धमा पनि त्यस्तो छैन र विदेशी मुलुकमा पनि त्यो सम्बन्ध त्यस्तो छैन भनेपछि अब नेपालमा पनि कम्युनिस्ट पार्टीको नाममा नै जनमत देखिएको कारण कम्युनिस्ट शब्द छोड्नुपर्ने अवस्था छैन ।

अब प्रदेश १ तिर जाउँ । सत्ता गठबन्धनलाई सरकार बनाउन एक सिट नपुग्ने देखियो । अब सरकार कसको र कसरी बन्छ ?

सम्भावना चाहिँ अहिलेको सत्ता गठबन्धनकै सरकार बन्ने देखिन्छ । यसमा मूलतः राष्ट्रिय राजनीति निर्णायक बन्छ । राष्ट्रिय राजनीतिको पनि अलिकति संकेतहरु र खासगरी नेताहरुको अभिव्यक्तिहरु पनि त्यस्तै छ । प्रदेश १ को हकमा जोड्दा जसपाको सांसदको जता समर्थन हुन्छ, त्यताको गठबन्धन सरकार बन्ने देखिन्छ ।

अब अहिले पनि हाम्रो गठबन्धनको सरकारमा जसपाको पनि मन्त्री हुनुहुन्छ । त्यसपछि व्यक्तिगत वा पार्टीगत कुराकानीमा पनि उहाँहरु हामीसँग रहनका लागि तयार हुनुहुन्छ । अब केन्द्रीय नेताको कुरा सुन्दा एमालेसँगको गठबन्धन भनेको चाहिँ चुनावसम्मका लागि हो, त्यो एउटा स्टेप थियो र पूरा भयो, अब खुल्ला छौं भन्ने अभिव्यक्ति पनि आएको छ । व्यवहारको कुरा पनि गर्दा एमालेबाट धोका पाएको, असहयोग आएको भन्ने महसुस जसपाको नेतृत्वले र जसपाले गरेको हुनाले राष्ट्रिय रूपमा पनि सत्तारुढ गठबन्धनसँगै एकता होला । गठबन्धन बनाएर सरकार बनाउने दिशामा जाला । त्यो भयो भने यहाँ पनि सरकार सत्ता गठबन्धनकै बन्छ ।

तपाई बहालवाला मुख्यमन्त्री पनि हुनुहुन्छ । मुख्यमन्त्री बन्छु भनेरै चुनाव पनि जित्नु भयो । अबको सम्भावना के छ ? तपाई मुख्यमन्त्री बन्नुहुन्छ ?

सातै प्रदेशको र संघको सरकार मिलेर बन्ने हो । गठबन्धनबाट बन्ने हो । त्यसो हुँदा भागबण्डा पनि लाग्छ । दोस्रो, आलोपालोको अवस्था निर्माण पनि हुन्छ । त्यस्तो अवस्थामा व्यक्तिगत रुपमा मैले चाहने नचाहने भन्दा पनि राष्ट्रिय रुपमा गरिने भागबण्डा अथवा आलोपालोले स्वाभाविक रुपमा म यो प्रदेशमा नेकपा एकीकृत समाजवादीको सिनियर नेता भएको हुनाले मलाई पनि एउटा पालो आउन सक्छ । त्यसअर्थमा मैले मुख्यमन्त्रीको रुपमा जिल्लामा, आफ्नो निर्वाचन क्षेत्रमा प्रस्तुत गरेको हो ।

तत्कालको कुरा गर्नुहुन्छ भने चाहिँ एउटा राजनीतिक नैतिकताले म पहिला मुख्यमन्त्री हुनुपर्छ भनेर दाबी गर्दिनँ । किनभने मलाई एक वर्षसम्म अरू गठबन्धनका साथीहरुले सहयोग गरेर मुख्यमन्त्री बनाउनु भयो । म चाहिँ अरु पार्टीलाई नै पहिलो पालो छोड्ने पक्षमा छु । तर, केन्द्रीय रुपमा हुने निर्णयले पहिलो पटकचाहिँ एकीकृत समाजवादीले नै यहाँको मुख्यमन्त्री लिने खालको हुनुपर्ने भयो भने त्यो कुरालाई मैले स्वीकार गर्दछु । तर, मेरो पहिलो दाबी छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप