शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउने छः प्रधानमन्त्री

बिहीबार, २२ मङ्सिर २०७९, १९ : १२
बिहीबार, २२ मङ्सिर २०७९

 प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् ।  आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युुत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गरेका हुन् । 

उनले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए । पर्यटन तथा कृषिको विकासमार्फत आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिनुहुँदै उहाँले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए । कोरोना महामारीले थला परेको उद्योग व्यवसायलाई माथि उठाउन सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको कृषि तथा पर्यटन विकासका लागि महोत्सवले टेवा पुर्‍याउने बताए । यस क्षेत्रलाई आर्थिक केन्द्रकारुपमा विकास गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशको विकासका लागि महोत्सवले टेवा पुर्‍याउने बताए ।

श्रम तथा रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उद्योग व्यवसायलाई सशक्त र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण भएको बताए । उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको दाबी गरे । देशमा पुँजी परिचालन अपेक्षाअनुसार हुन नसक्दा समस्या भइरहेको उनको भनाइ थियो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा लगानी भित्र्याउनका लागि लगानीकर्तालाई जग्गाको उपलब्धता, लगानीको सुनिश्चितता र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताए । समारोहमा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरेका थिए । उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रधानमन्त्री देउवाले सम्मानपत्र प्रदान गरेका थिए। 

समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नारासहित सुरु भएको महोत्सव पुस २ सम्म सञ्चालन हुनेछ । महोत्सवमा झण्डै चार सय व्यापारिक कक्ष राखिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना हुँदै आएको छ । महोत्सव कोरोना महामारीका कारण भने विगतमा दुई वर्ष हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप