बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्देशक जेम्स क्यामरुनलाई अवतारको सिक्वेल बनाउन किन १३ वर्ष लाग्यो ?

बिहीबार, २२ मङ्सिर २०७९, १९ : २०
बिहीबार, २२ मङ्सिर २०७९

अवतार वा जेम्स क्यामरुनद्वारा निर्देशित कुनै पनि फिल्म ठुलो पर्दामा लागेको १३ वर्ष भइसक्यो । हलिउड त्यसबेलादेखि धेरै बदलिसकेको छ : यस बीचमा अवतार फिल्ममा लगानी गर्ने ट्वान्टीथ सेन्चुरी फक्सलाई डिज्नीले किन्यो ; अब सुपर हिरो नभएका महँगो एक्सन फिल्मलाई स्टुडियोले विरलै स्वीकृति दिन्छन् ( टम क्रुज हुँदा मात्र ती नरम देखिन्छन् ) र स्ट्रिमिङ सेवाले फिल्म हलको व्यवसायलाई ठुलो क्षति पुर्‍याएको छ ।

यी सब परिवर्तनका बाबजुद एउटा कुरा भने उही रह्यो: अवतार यस अवधिभर इतिहासको सबैभन्दा धेरै कमाउने चलचित्र रहिरह्यो । बीचमा सन् २०२० मा छोटो समयको लागि ‘एभेन्जर्सः इन्डगेम’ले जब यस फिल्मको कमाइलाई उछिन्यो, तब क्यामरुनले फिल्मलाई पुनः चीनमा रिलिज गरे । र क्यामरुनको आइडियाले काम गर्‍यो: फिल्मले अभूतपूर्व २.९ अर्ब डलर कमाई गर्‍यो । 

निर्देशक क्यामरुनले लामो समयदेखि अवतारको सिक्वेल बनाउने योजना बनाइरहे । तर प्रत्येक वर्ष डिज्नीले आगामी फिल्मको घोषणा गर्दा अवतारको सिक्वेललाई पछि सारिरह्यो । बिस्तारै फ्यानहरूमा अवतार २ आउनेमै शङ्का उत्पन्न हुन थाल्यो । 

अहिले आएर, न्युजिल्याण्डमा वर्षौँको छायाङ्कनपछि अन्ततः अवतारको सिक्वेल तयार भएको छ, अवतार: द वे अफ वाटर नाममा । फिल्म डिसेम्बर १६ मा फिल्मभर प्रदर्शनमा आउँदैछ ।

शीर्षक अनुरूप नै ‘अवतार: वे अफ वाटर’ले मुख्यतः समुन्द्र र त्यस वरपरको कथा समेटेको छ । यसले ना’भी समुदायको समुन्द्रमा बस्ने अलग प्रजातिबारे परिचित गराउनेछ, जसलाई मेटकायिना नाम दिइएको छ । 

अवतार २ सँगै छायाङ्कन गरिएको अवतार ३ अर्को वर्ष सन् २०२४ मा प्रदर्शनमा आउदैछ । त्यसपछिका अन्तिम दुई संस्करण भने सन् २०२६ र २०२८ मा प्रदर्शन हुने जानकारी गरिएको छ । पछिल्ला संस्करणको प्रदर्शन एक–दुई वर्षको अन्तरालमा भइरहँदा पहिलो र दोस्रो संस्करणबीच भने किन १३ वर्ष लाग्यो ?

समुद्र अन्वेषण र अभियानमा लामो समय

निर्देशक जेम्स क्यामरुन समुद्रप्रेमीका रूपमा चिनिन्छन् । विगतमा टाईटाईनिक बनाउँदा पनि उनले सो नामको जहाजको वास्तविक भग्नावशेषको अवलोकनको लागि धेरै पटक समुन्द्र मुनीको यात्राहरू गरेका थिए । 

अवतार बनाइसकेपछि क्यामरुनले सन् २०१२ मा आफ्नै डिजाइनमा विश्वभरको महासागरको सबैभन्दा गहिरो ठाउँ मारियाना ट्रेन्च पुग्ने क्षमताको पनडुब्बी बनाए । 

आफैले तयार पारेको पनडुब्बीमा चढेर उनी मारियना ट्रेन्चको सबैभन्दा गहिरो भाग अर्थात् १०.९ किमी समुन्द्र मुनी पुगे, त्यो पनि एक्लै । उनी मारियना ट्रेन्चको गहिराई एक्लै यात्रा गर्ने पहिलो व्यक्ति हुन् । 

त्यसबाहेक क्यामरुन मासुजन्य खाद्यान्नको विकल्पको जनचेतनामा पनि समय दिए । उनी वातावरणीय र स्वास्थ्य दुवै कारणले मासु खान नहुने मान्छन् । 

तीन वटा फिल्म पाँचमा बदलियो

क्यामरुनले अवतार मूल रूपमा ट्रिलोजी(तीन वटाको सङ्ग्रह) हुने परिकल्पना गरिएका थिए । यही योजनाका साथ क्यामरुनले सन् २०१२ बाट यस फिल्मको सिक्वेलको योजना बनाउन थाले । एक वर्षपछि उनले लेखकहरू सामु आफ्ना कुरा राखे ।

तर काम गर्दै जाँदा ट्रिलोजीका बाँकी दुई फिल्म चार वटामा बढ्ने भए । र चार फिल्म लेखनमा लेखकहरूलाई पुरा चार वर्ष दिए । आगामी फिल्मले पहिलो फिल्ममा देखाइएको प्यान्डोरा ग्रहका मानवजस्तै देखिने नाभीका नयाँ समूहहरुलाई देखाउनेछ । 

साथै लेखकहरूले काल्पनिक ग्रह प्यान्डोरामा रहने नयाँ वनस्पति र जीवजन्तुहरू पनि विस्तृतमा योजना बनाए । फिल्मका लेखकहरूले पान्डोराका नयाँ भूगोल, यसका बासिन्दाका चालचलन, र पात्रले लगाउने पहिरन र अन्य दृश्य तत्त्वहरू सिर्जना गर्न कुल पाँच वर्ष लगाए ।

त्यो सबका बीच क्यामरून डिज्नीका पार्कहरूमा बनेका अवतार थिमका नयाँ भीआर उडान, नदीको डिजाइनमा संलग्न भए ।

छायाङ्कनमा तीन वर्ष 

क्यामरुनले अवतार २ र अवतार ३ लाई एकै समयमा छायाङ्कन गर्ने निर्णय गरे । दोस्रो फिल्म आउन लागेको समयजस्तै विलम्ब नआयोस् भनेर चालिएको यो कदम एक हिसाबले बुद्धिमत्तापूर्ण देखिन्छ । तर दुई फिल्मको एक साथ छायाङ्कनले ढिलाइ भयो । 

सन् २०१७ देखि सुरु भएको सुटिङ तीन वर्ष चल्यो । त्यसबाहेक यस फिल्ममा क्यामरुनले पानी मुनीका दृश्यहरू पानी मुनिनै खिच्न जोड गरेकाले पनि समय लम्बिन पुग्यो । 

भीजुयल कलाकारले बाहिर खिचेर भिजेको देखाउन सक्ने बताए पनि क्यामरुनले त्यो वास्तविक नदेखिने भन्दै आफ्नो अडान छाडेनन् । यसले गर्दा कलाकारहरूले अधिकांश सुटिङ ९० हजार ग्यालन पानी अट्ने ट्याङ्कीमा गरे । 

टाइमबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप