बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘अस्थिरता अन्त्यका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ’

१० वर्षपछि राजनीतिबाट सन्यास लिने विजय गच्छदारको घोषणा
बिहीबार, २२ मङ्सिर २०७९, २२ : ३४
बिहीबार, २२ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले अहिलेको जनादेशले देश अस्थिरतातिर जाने हो कि भन्ने चिन्ता लागेको भन्दै दुई ठुला पार्टी मिलेर देशलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताए ।

‘मेरो ५० वर्ष लामो राजनीतिक इतिहासमा जे कुरा देखिरहेको छु, म त्यति सन्तुष्ट छैन,’ गच्छदारले भने, ‘हामी धेरै चुकेका छौँ, त्यसकारण नेपाल धेरै अलमलियो, अहिले पनि राजनीतिक स्थिरता आउँदैन कि भन्ने चिन्ता लागेको छ ।’

उनले अहिलेको ५ दलीय गठबन्धन मिलेर चुनावमा जाँदा पनि बहुमत ल्याउन नसकेको बताए । ‘अहिले पनि कांग्रेसको नेतृत्वमा गठबन्धनबाट सरकार बन्न त सक्ला तर, अस्थिरता हुने हो कि भन्ने चिन्ता छ । त्यसो हुँदा संविधान र व्यवस्था कमजोर हुनसक्छ,’ उनले भने ।

०५१ सालमा आएको अहिलेकै जस्तो जनादेशका कारण मुलुक अहिलेसम्म अस्थिरतामा रुमल्लिइरहेको गच्छदारको दाबी थियो । ‘एक पटक ठुला पार्टी मिलेर जसरी ०४६ सालमा प्रजातन्त्र ल्याए, ०६२÷०६३ मा सामन्ती राजतन्त्र अन्त्य गरे, त्यसरी नै अहिले आउन लागेको अस्थिरतालाई अन्त्य गर्न र मुलुकलाई फड्को मार्नका लागि नेपाली कांग्रेस र एमाले पार्टी मिलेर पाँच वर्ष सरकार चलाए हुने थियो भन्ने मेरो इच्छा हो,’ गच्छदारले भने ।

उनले उपेन्द्र यादवको कारण अस्थिरता आउन लागेको पनि आरोप लगाए । ‘मैले उपेन्द्र यादवसँग लामो कुरा गरेको छु, जसपासँग लामो कुरा गरेको छु, दुई पटक कुरा गरेको छु । मैले उहाँलाई भनेको छु, मधेस आन्दोलनको जस उपेन्द्र यादवले पाउँछ, तर कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेतिर किन जानु भयो, अब सच्याउनु होस् भनेर भनेको छु,’ गच्छदारले भने, ‘तपाईको कारणले अस्थिरता आउने भयो भनेर मैले भनेको छु ।’

यदि उपेन्द्र यादवको पार्टी पनि कांग्रेससहितको गठबन्धनमा हुन्थ्यो भने यो अवस्था आउने थिएन भन्ने गच्छदारको तर्क थियो । ‘मधेस आन्दोलनको बेलामा सबैभन्दा बढी मधेस विरोधी भनेर केपी ओलीलाई भन्ने अनि चुनावको बेलामा उहाँसँगै मिल्ने कुरा ठीक थिएन । मैले चुनाव हार्नुको कारण पनि उपेन्द्र यादव नै हो,’ उनले भने ।

गच्छदारले पाँच दलीय गठबन्धन संविधान रक्षाको लागि र केपी ओलीको कदमको विरुद्धमा बनेको बताउँदै त्यो गठबन्धनको बहुमत हुने बित्तिकै स्थिरता आउँछ भन्ने आफूले नदेखेको उनले बताए ।

कांग्रेस र एमालेको सरकार बन्दा माओवादी वा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षी बन्न सक्ने उनले बताए । ‘प्रतिपक्षी नहुने भन्ने कुरै हुँदैन,’ के तपाईले प्रतिपक्षी \विहीन सरकार बनाउन खोज्नु भएको भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘तेस्रो पार्टी छैन र ? कांग्रेस र एमालेको सरकार बन्यो भने प्रचण्डजीको पार्टी छैन र ? प्रचण्डजी पनि मिल्ने हो भने घण्टीको पार्टी छैन र ? त्यसकारण प्रतिपक्षी नहुने कुरै हुँदैन नि ।’

अर्को प्रसंगमा उनले आफूले २०८९ सालमा सक्रिय राजनीतिबाट विश्राम लिने बताए । ‘८० वर्षको व्यक्ति भर्खरै चुनाव जितेर आउनु भएको छ । मेरो पार्टीको सभापति ७७ वर्ष उमेरको हुनुहुन्छ । उहाँ फेरि प्रधानमन्त्री बन्दै हुनुहुन्छ । अनि रामचन्द्र पौडेल पनि पुग नपुग ७८ वर्षको हुनुभयो,’ तपाई राजनीतिबाट विश्राम लिने होइन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हिंजोमात्र मैले चित्रबहादुर केसीको अन्तरवार्ता सुनिरहेको थिएँ । उहाँ पनि ७९ वर्षको हुनुहुन्छ । हाम्रो नेता शेखर कोइराला ७३ वर्षको हुनुभयो । म त भर्खरै ६९ वर्ष भएँ । ७७ वर्ष पुग्न त अझै ८ वर्ष लाग्छ । म ठ्याक्कै तपाईलाई भन्छु २०८९ मा म रिटायरमेन्ट हुन्छु ।’

उनले अबको १० वर्षपछि मात्र सक्रिय राजनीतिबाट बिदा लिने प्रस्ट पारे । आफूले ७ पटक चुनाव लड्दा भर्खरै एक पटक पराजित भएको तर यो पराजयले आफूलाई अझ जिम्मेवार बन्न प्रेरित गरेको उनको भनाइ थियो ।

कांग्रेसमा उठेको पुस्तान्तरणको कुरा राम्रो भएको र विगत देखि नै उठ्दै आएको उनले बताए । यद्यपि अहिले पार्टी सभापति शेरबहादुर देउवाले नचाहेसम्म पुस्तान्तरण या नेतृत्व हस्तान्तरण केही नहुने उनको भनाइ थियो ।

‘म संसदीय दलमा छैन । शेरबहादुर देउवाजीले कांग्रेसको नेतृत्व गरिरहनु भएको छ । उहाँले नचाहेसम्म नेतृत्व हस्तान्तरण हुने पनि देख्दिनँ र पुस्तान्तरण हुने कुरा पनि देख्दिनँ,’ गच्छदारले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप