बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटमा आयोडिनयुक्त नुनको अभाव

बिहीबार, २२ मङ्सिर २०७९, २० : ३५
बिहीबार, २२ मङ्सिर २०७९

कालिकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो । कालिकोटमा साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो ।

चालू आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमुना ढुवानी सेवाले तीन हजार पाँच सय क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गर्नुपर्नेमा हालसम्म तीन सय ५५ क्विन्टल मात्र ढुवानी गरेको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय कालिकोटका कर्मचारी लालबहादुर बमले जानकारी दिए ।

“अहिले डिपोमा आयोडिनयुक्त नुन पनि सकिएको छ”, उनले भने, “हामीले बिक्री गर्दै आएको सहुलियतको नुन ढुवानीको जिम्मा लिएको ठेकेदार कम्पनीले ढुवानी नगर्दा नुनको अभाव भएको हो ।”

साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय कालिकोटले अर्को सूचना नआएसम्म गाउँका नागरिकलाई आयोडिनयुक्त नुन लिन नआउन आग्रह गरेको छ । ढुवानीकर्तालाई नियमित ताकेता गर्दा पनि मागअनुसार नुन ढुवानी नगरेको शाखा कार्यालयका कर्मचारी बमको भनाइ  छ । 

“आयोडिनयुक्त नुन ढुवानी गर्नका लागिका ठेकेदार कम्पनी मानेनन्”, उनले भने, “ढुवानीका अन्य विकल्पका विषयमा छलफल भइरहेको छ ।” कालीकोट जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेसनले अन्य ठाउँको भन्दा सहुलियत दरमा नुन बिक्री गर्ने गरेको बमले जानकारी दिए । “साविक कर्णालीका जिल्लामा आयोडिनयुक्त नुनमा साल्ट ट्रेडिङ कर्पोरेशनले ५० प्रतिशत छुटका बिक्री गर्दै आएको छ”, उनले भने, “सहुलियतको नुन उपभोक्ता पाउँदा ढिके नुन विस्थापित नै भएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप