शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार आचार्यको 'रुइबा' उपन्यासलाई

शुक्रबार, २३ मङ्सिर २०७९, ०७ : ०३
शुक्रबार, २३ मङ्सिर २०७९

गैरआवासीय नेपाली संघको  भाषा तथा साहित्य समितिले २०७८ को 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार' चीनमा स्थायी बसोवास गर्दै आएका साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित 'रुइबा' नामक कृतिलाई दिने निर्णय गरेको छ ।

तामाङ परिवेशमा आधारित यस कृतिमा लेखकले तामाङ पात्र र परिवेश मार्फत गहन विषयलाई पाठकमाझ प्रस्तुत गरेका छन् । उपन्यासमा 'न्याउली' नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ ।

वैदेशिक रोजगारीका नाममा कसरी निमुखा व्यक्तिहरूलाई कहालीलाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा निकै प्रखर रूपमा यस कृतिमा उद्‌घाटित गरिएको छ । यो उपन्यासले एउटा महत्त्वपूर्ण मुद्दालाई आधिकारिक किसिमले उठाएको छ । कृतिका लेखक अधिकारीलाई गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबीच यो पुरस्कार प्रदान गर्नेछ ।

यसअघि समितिले पुरस्कारका लागि प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो जसमा चेतनाथ आचार्यको 'रूइबा'  नगेन्द्र न्यौपानेको 'बर्मा र थाइल्यान्डभित्र नेपाल', अजित उत्सवको 'आकाश गंगाको किनार', दीपा मेवाहाङ्ग राईको 'यादको सन्दुक' र नरेश राईको 'तेप्लाय' संलग्न थिए ।

बिहीबार सम्पन्न सङ्घको 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति'को बैठकले उक्त सिफारिससँगै पुरस्कारका लागि 'रूइबा'लाई अनुमोदन गरेको छ । 

गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये  सर्वश्रेष्ठ  एक कृतिलाई हरेक वर्ष दुई लाख नगद राशी र सम्मानपत्रसहित 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार' प्रदान  गरिँदै आएको छ ।

उक्त पुरस्कार पहिलोपटक वि.सं. २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको 'संकलित गद्य रचना' लाई प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप