शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको नेतामा रस्साकस्सी : देउवालाई कसको कति चुनौती ?

शुक्रबार, २३ मङ्सिर २०७९, ०८ : ०३
शुक्रबार, २३ मङ्सिर २०७९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्ने दौडमा देखिएका छन् । सरकारको नेतृत्व गर्नका लागि संसदीय दलको नेता बन्नैपर्ने बाध्यात्मक परिस्थितिका कारण देउवा त्यसतर्फ अग्रसर देखिएका हुन् । पार्टीको संस्थापन पक्षबाट देउवा निर्विकल्प रुपमा संसदीय दलको नेताका लागि अगाडि आएका छन् ।

संस्थापन इतरबाट नेता शेखर कोइराला कि महामन्त्री गगन थापा भन्ने अन्योल कायमै छ । संसदीय दलमा देउवासँग आफै भिड्ने शेखर कोइरालाको तयारी छ । १४ औं महाधिवेशनमा देउवाका निकटतम प्रतिद्वन्द्वी कोइराला पार्टीभित्र वैकल्पिक नेताको स्थान गुमाउने पक्षमा छैनन् । संसदीय दलमा थापालाई समर्थन गरेर जाँदा आफ्नो राजनीति संकटमा पर्ने कोइरालामा भय देखिन्छ ।

संसदीय दलमा थापाको आक्रामक तयारीले कोइरालामा अलमल देखिएको छ । अहिलेसम्म गगनको पक्षमा नउभिएका उनी स्पष्ट ढंगले अगाडि आउने अवस्था पनि छैन । संसदीय दलको नेताको रेसबाट महामन्त्री थापा ‘ब्याक’ नहुने देखेपछि कोइरालाको प्रस्टता हराएको छ ।

१४ औं महाधिवेशनमा प्रकाशमान सिंह प्यानलबाट चुनाव जितेका महामन्त्री विश्वप्रकाश शर्माले थापाको प्रस्तावक बस्ने घोषणा गर्दा कोइरालाले कित्ता क्लियर गरेको पाइँदैन । ‘ए बाबा ! कसैले समर्थन गरेर वा संसदीय दलको नेता बन्छु भनेर हुने कुरा होइन, यो नम्बरको कुरा हो,’ कोइराला भन्छन्, ‘संख्या पु-याउनु परेन भनेको ? नम्बर गेम जसले पु-याउन सक्छ, त्यही दलको नेता बन्छ ।’

नम्बर गेममा सभापति देउवाकै बर्चस्व देखिएको उनको भनाइ छ । ‘हामी कसरी जाने भन्ने विषयमा सभापतिसँग कुरा गरेरै अगाडि बढ्ने हो । अन्य साथीहरुसँग पनि कुरा गर्छौं,’ कोइरालाले भने ।

कोइराला र थापाबीच पटक–पटक छलफल हुँदा पनि एक जनाको नाममा सहमति हुन सकेको छैन । संसदीय दलमा कोइरालाको साथ पाउनेमा महामन्त्री थापा आशावादी नै छन् । ‘संसदीय दलमा उम्मेदवारीबाट म पछाडि फर्किने ठाउँ नै छैन । शेखर कोइरालालाई सभापति बनाउन इमानदारितापूर्वक म लागेको हुँ । मलाई शेखर कोइरालाको आशीर्वाद प्राप्त हुन्छ,’ उनी भन्छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि संसदीय दलको नेतामा चुनाव लड्ने तयारीमा छन् । प्रधानमन्त्रीका दौडमा देखिएका पौडेलले पार्टीभित्र र गठबन्धन दलका नेतासँगको भेटघाट गरिरहेका छन् । पार्टीका नेताहरुलाई भेटेर संसदीय दलमा आफूलाई सहयोग गर्न पौडेलले आग्रह गर्दै आएका छन् ।

गठबन्धन सम्बद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर उनले प्रधानमन्त्रीका लागि लबिङ गरिरहेको पाइन्छ ।

संसदीय दलमा प्रतिस्पर्धा र सर्वसम्मत दुवै कुरालाई मध्यनजर गरी आफ्नो दाबी प्रस्तुत गरेको पौडेलको तर्क छ । ‘मैले प्रतिस्पर्धा र सर्वसम्मत दुवै कुरालाई मध्यनजर गरी आफ्नो दाबीलाई अत्यन्त न्यायोचित सोचेर नै आफूलाई प्रस्तुत गरेको छु । म सबै परिस्थितिलाई फेस गर्न तयार भएर नै अग्रसर भएको हुँ ।’

आफू चुनाव लड्न पनि तयार रहेको भन्दै पौडेलले आफ्नो नाममा सर्वसम्मत हुने विश्वास व्यक्त गरे । ‘प-यो भने चुनाव लड्न पनि तयार छु तर कांग्रेसमा चुनाव लड्नुपर्ने स्थिति नआउला । मेरो नाममा सर्वसम्मत हुने धेरै आधार छन्,’ पौडेल भन्छन् ।

यता देउवाले भने प्रधानमन्त्रीमा आकांक्षा राख्ने नेताहरुलाई समेत आफ्नो पक्षमा उभ्याउँदै लगेको अवस्था छ । प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधि देउवाको पक्षमा उभिएको अवस्था छ । निधिले देउवालाई संसदीय दलमा समर्थन गर्नु आफ्नो कर्तव्य भएको बताए । यस्तै कोइरालाले अहिले संसदीय दलको नेतामा उपयुक्त पात्र देउवानै भएको बताए ।

‘लड्छु भनेरमात्र हुँदैन । गगनजीलाई अहिले हेर्दा गाह्रो छ । हुन त शेखर कोइराला मेरो दाइ हो,’ उनी भन्छन्, ‘तर संसदीय दलको नेतामा उपयुक्त पात्र शेरबहादुरजी नै हो ।’

शशांक र विमलेन्द्रले देउवालाई समर्थन गर्ने संकेत देखाउँदा प्रकाशमान पनि त्यही लाइनमा छन् । देउवाको पक्षमा मोहाल बनाउन सिंह आन्तरिक रुपमा सक्रिय रहेको पाइन्छ । सिंह निकट एक केन्द्रीय सदस्यका अनुसार संसदीय दलको नेताको रेसबाट उनी ‘ब्याक’ भइसकेका छन् ।

सिंहले २०७४ को चुनावमा देउवासँग संसदीय दलमा प्रतिस्पर्धा गरेका थिए । तर अहिले उनी पनि देउवाको पक्षमा उभिएपछि संसदीय दलका संस्थापन पक्षको पल्ला भारी देखिएको छ । रामचन्द्र पौडेल र शेखर कोइरालालाई पनि आफ्नो पक्षमा उभ्याउने देउवाको प्रयास जारी छ ।

शेखर कोइरालासँग देउवा पक्षका नेताहरुको बाक्लो भेटघाट भइरहेको छ । प्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद लगायतका नेताले भेटघाट गरेका थिए । कोइराला आफै संसदीय दलको नेतामा चुनाव नलडेको अवस्थामा देउवालाई सघाउने महतको विश्वास छ ।

‘उहाँले गगनजी आफूखुसी अगाडि बढेको जस्तो कुरा गर्नुभयो । उहाँ आफै संसदीय दलको नेता लड्नु भएन भने सभापतिजीलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनी भन्छन् ।

पौडेलले अहिले संसदीय दलको नेताका लागि प्रयास गरे पनि चुनाव हुने अवस्थामा देउवालाई नै साथ दिने महत बताउँछन् । पौडेलले पनि पार्टीभित्र देउवासँगको सम्बन्ध विश्वासिलो भएको बताएका थिए ।

देउवासँग धेरै कुरामा आफ्नो सहमति र सहयात्रा भएको उनको भनाइ छ । तर महामन्त्रीद्वय थापा र शर्मा भने चुनावले रुपान्तरणको सन्देश दिएको भन्दै देउवालाई विस्तापित गर्ने अडानमा छन् ।

संसदीय दलको अंकगणित भने देउवाको पक्षमा देखिन्छ । कांग्रेसमा प्रत्यक्ष निर्वाचित ५७ र समानुपातिक ३२ गरी ८९ सांसदमध्ये करिब ६० जना देउवा समर्थक छन् ।

गणितीय हिसाबले संसदीय दलमा देउवा ‘कम्फर्ट जोन’ देखिन्छन् । तर महामन्त्री थापाप्रतिको जनसमर्थनले सांसदहरुलाई बहकाउन सक्ने भय देउवा पक्षमा देखिन्छ । चुनावताका देखि महामन्त्री थापाले आक्रामक तयारी थालेकाले संस्थानप पक्षले उनलाई कमजोर आँकेको छैन ।

त्यसैले देउवाको सचिवालयले आफू पक्षीय सांसदलाई दायाँ–बायाँ हुन नदिने रणनीति बनाएको छ । स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई बालुवाटार बोलाएर बधाइ दिने तथा उनीहरुको मनोभाव बुझ्ने काम भइरहेको छ ।

समानुपातिक सांसद बन्ने सम्भावना भएका उम्मेदवारको पनि विश्वास लिने काम भइरहेको बालुवाटार स्रोतले रातोपाटीलाई बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप