बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नीतिकथा :  सफलताका सूत्र

शुक्रबार, २३ मङ्सिर २०७९, १० : १९
शुक्रबार, २३ मङ्सिर २०७९

                               रातोपाटी संवाददाता

हरेक काम भनेकै बेलामा सम्पन्न होस्, आफूले गरेको कामको सबैले मन पराऊन्, प्रशंसा गरून्, जस दिऊन् भन्ने चाहना सबैमा हुन्छ तर व्यवहार त्यस्तो हुँदैन । कतिपय काम गर्दागर्दै विफल हुन पनि सक्छन्, कतिपय काम सम्पन्न भए पनि भनेकै बेलामा नहुन सक्छन् । अझ कतिपय काम यस्ता हुन पनि सक्छन्, जसमा जसको सट्टा अपजस मिल्न सक्छ । यस्तो अवस्थामा हामी कि निराश हुन्छौँ कि दिक्क हुन्छौँ कि कामै छाडेर हिँडने गर्छौँ तर यस्तो गर्नु बुद्धिमानी भने होइन ।

सबै काममा सफलता मिल्छ, मिल्दैन, सबैले मन पराउँछन् पराउँदैनन् र जस दिन्छन् कि दिँदैनन् भन्ने कुरा आफ्नो हातमा हुँदैन । आफ्नो हातमा हुन्छ त केवल थालेको काममा निरन्तर लागिरहनु मात्र । त्यसैले काम सुरू गर्नुभन्दा अघि भलिभाँती सोच्नु र थालेपछि निरन्तर लागिरहनुमा नै बुद्धिमानी हुन्छ । तल यस्तै एउटा कथा प्रस्तुत छ, जसलाई पढेपछि भाइबहिनीहरू आफैँ प्रष्ट हुनेछौ ।

धेरै पहिलेको कुरा हो एउटा कुनै आश्रममा एकजना सज्जन थिए, आश्रमको देखभाल गर्न बसेका । उनी वास्तवमै सज्जन थिए, दिलोज्यानले आश्रमको देखभाल गर्थे तर जस भने कहिल्यै पाउँदैनथे । कोही केही भन्थे कोही केही । यसरी हरेक काममा अपजस मिलेपछि आश्रम नै छाडेर हिँड्ने निधो गरे तर भइदियो के भने त्यसै दिनको रात एउटा अद्भूत सपना देखे ।

सपनामा उनी हातमा हतौडा र छिनो लिएर एउटा पत्थर फोर्ने प्रयास गर्दै थिए । तथापि विडम्बना जति नै प्रयास गर्दा पनि पत्थरमा सानो दागसम्म लाग्दैनथ्यो । घन्टौँ छिनो र हम्मर चलाउँदा पनि कुनै असर नपरेपछि उनले सोचे– ‘पत्थर निकै कडा रहेछ । सायद यो मेरो वशभन्दा बाहिरको हुनुपर्छ । त्यसैले अब पनि यसैमा लाग्नु भनेको समय बरवाद गर्नुबाहेक केही हुने छैन ।’

यस्तैयस्तै सोच्दै जब छिनो र हम्मर फालेर उठ्न लागेका थिए कतैबाट एक जना अपरिचित मानिस बोलेको सुने । यताउता हेरे कुनै अपरिचित सज्जन आफैँतिर आउँदै रहेछन् । जब उनी आश्चर्यमान्दै त्यतै हेर्दै थिए अपरिचितले नजिकै आएर भने–

‘एऽ पखपख कता हिँड्न लाग्यौ ?’

अपरिचिनको कुरा सुनेर उनले झिनो स्वरमा भने–

‘महाशय ! को हुनुहुन्छ चिन्न सकिनँ । जो भए पनि नमस्कार छ । जहाँसम्म मेरो कुरा छ मालिकले यस पत्थरलाई फोर्ने जिम्मा दिएका थिए तर घन्टौँ प्रयास गर्दा पनि नतीजा ननिस्केन । त्यसैले यो काम मेरो वशमा छैन जस्तो लाग्यो र फर्कन फर्कन खोजेको हुँ ।’

‘मालिकले तिमीलाई यही आदेश दिइएका थिए हो ?’

‘हो हजुर !’

‘त्यसो भए बीचैमा छाडेर हिँड्ने आदेश कसले दियो ?’

‘आदेश त कसैले पनि दिएको छैन तर...।’

‘तर ? के तर ?’

‘भनिहालेँ नि यो काम मेरो वशमा छैन जस्तो लाग्यो भनेर ।’

‘कसरी भन्न सक्छौ कि आफ्नो वशमा छैन भनेर ?’

‘प्रष्टै छ नि !

‘के प्रष्ट छ ?’

‘यही कि यतिका प्रयास गर्दा पनि सानो दागसम्म लागेको छैन ।’

‘भन्नासाथ भएन भनेर जिम्मेवारीबाट पछि हट्न पाइन्छ र ?’

‘त्यो त हो तर....।’

‘फेरि उही तर ? के हो यो तर भनेको ?’

‘यही कि घन्टौँ प्रयास गर्दा पनि केही भएको छैन भने अब के नै होला र ।’

‘त्यो सोच्ने काम तिम्रो हो ?’

‘कसको त हजुर ! काममा खट्ने मै हुँ ।’

‘होइन, भ्रममा छौ ।’

‘बुझिनँ हजुर ! मार्गदर्शन पाऊँ ।’

सज्जनको बालपन देखेर अपरिचितले सम्झाउँदै भने–

‘यस्तो सोच्ने काम तिम्रो होइन, कामको जिम्मा दिने मालिकको हो । उनलाई तिम्रो शक्ति पनि थाहा छ र पत्थरको मजबूती पनि । त्यसैले यसको  जिम्मा तिमीलाई दिएका हुन् । प्रतिफलको वास्ता नगरी काममा लागिरहनृुमा नै तिम्रो भलाइ छ । उठ ! जाग ! निराशा छाडेर छिनो र हम्मर समाऊ । कुनै पनि काम तत्काल पूरा भएन भन्दैमा केही पनि असर परेको छैन भन्ने हुँदैन । असरको सुरुवात पहिलो चोटबाटै भइसकेको छ । अब बाँकी छ त केवल अन्तिम चोटको । के थाहा कुन चाहिँ चोट अन्तिम हुनेछ ।’

अपरिचितको कुरा सुनेर सज्जनको आँखा खुल्यो । उनले कसेर अर्को चोट के दिएका थिए पत्थर फुटेर चकनाचूर भयो । यत्तिकैका उनको निद्रा टुट्यो । अब उनलाई मार्गदर्शन मिलिसको थियो । त्यसैले पुनः आश्रमकै काममा ध्यान दिन लागे । नभन्दै एक दिन आश्रमवासी सबैले उनको कामको प्रशंसा गर्न लागे ।

यो एउटा दृष्टान्त हो । वास्तवमा जहाँ पनि यही नियमले काम गरेको हुन्छ । बनाउन बेर लाग्छ । भत्काउन लाग्दैन । भत्काउन एकै रातमा सकिन्छ तर बनाउन सयौँ रात लाग्न सक्छ । यसका लागि धैर्य पनि चाहिन्छ, संयम पनि चाहिन्छ । निरन्तर लागी रहे जस्तोसुकै काम पनि सम्पन्न गर्न सकिन्छ । भनाइ नै छ नि निरन्तर हिँििडरहे गन्तव्य जति टाडा भए पनि एक दिन पुगिन्छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप