बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेवार सुन्दरीहरुले सिके यःमरि कला

शुक्रबार, २३ मङ्सिर २०७९, १४ : १५
शुक्रबार, २३ मङ्सिर २०७९

नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेवाः नेपाल, मिस लिटील नेवाः र किड क्वीनका विजेता, उपविजेता र सहभागीका साथमा यस वर्ष हुने मिस लिटील नेवाः का प्रतियोगीहरुले बिहीबार यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका छन् ।

राजधानीको डिल्लीबजारस्थित नेप्लीज फेसन होमको कार्यालयमा रहेको प्रशिक्षण कक्षमा जम्मा भएका नेवार सुन्दरीहरुले बिहीबार दिनभर चामलको पिठो मुछेर रोटी बनाई चाकु र खुवा राखेर यःमरि बनाएका थिए । उनीहरुले प्रशिक्षण हलमा नै बफ्याएर यःमरि पकाई एक अर्काका साथमा अतिथिहरुलाई चखाएका थिए ।

बिचबिचमा आयोजक समूह र अभिभावकले पनि उनीहरुलाई यःमरि बनाउन सिकाएका थिए । भिन्न भिन्न समूहले बनाएको यःमरिको आकार पनि फरक फरक बनेको देखिन्थ्यो ।
आयोजक हेमा मानन्धरले यःमरि पुन्हि नेवारी चाड पर्वमध्येको महत्वपूर्ण पर्व भएकाले हरेक वर्ष यःमरि पुन्हिका अवसरमा नेवार सुन्दरीहरुलाई यःमरि बनाउन सिकाएर र एक अर्कालाई खुवाएर यो दिवस मनाउने गरेको बताइन् । उनले यःमरि संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न आफूहरूले यो कार्यक्रमलाई निरन्तरता दिएको बताइन् । 

कार्यक्रमका सहभागीहरुले आफूहरूले सिकेको यःमरि बनाउने कला र विधि आगामी दिनमा घरमा पनि पछ्याउने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप