शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल रेडक्रसद्वारा ‘द चेञ्ज मेकर’ अभियान सुरु

शुक्रबार, २३ मङ्सिर २०७९, १६ : ४१
शुक्रबार, २३ मङ्सिर २०७९

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी (नेरेसा) आबद्ध युवा स्वयंसेवकले ‘द चेञ्ज मेकर’ नामक जलवायु परिवर्तन सम्बन्धी देशव्यापी अभियानको सुरूआत गरेका छन् । रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले सहजीकरण गरेको सो अभियानले देशभरका १३ देखि ३० वर्ष मुनिका युवालाई नेपालमा जलवायु परिवर्तनसम्बन्धी कार्यको लागि संलग्न गराउने ध्येय राखेको छ ।  

यसका लागि ती उमेर समूहका युवालाई जलवायु परिवर्तनमा आफ्ना नवीनतम् विचार र समाधानका उपाय भिडियोमार्पmत पेस गर्न आह्वान गरेको छ । कार्यक्रममा अभियानको नेतृत्व गरिरहेका युवा समूहका सदस्यले अभियानको हिस्सा बन्नका लागि उद्देश्य, आवेदन प्रक्रिया, अनुदान कार्यान्वयन र छनोट संयन्त्रका बारेमा युवाले नेरेसो केन्द्रीय कार्यालयमा हालै औपचारिक कार्यक्रम आयोजना गरी अभियानको थालनीसमेत गरेका छन् ।

कार्यक्रममा नेरेसोका युवा स्वयंसेवक बन्दना पोखरेल, गीता रावल, सुजन खतिवडा र प्रतिभा दवाडी लगायतले अभियानका बारेमा प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सहसचिव अर्जुनबहादुर श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्दै सबै पालिकामा नेपाल रेडक्रसका जुनियर युवा रेडक्रस सर्कललाई सहभागी गराएर जलवायु परिवर्तनको अभियान सञ्चालन गर्न सकिएमा अझ प्रभावकारी हुने बताए ।

उनले नेपाल रेडक्रसले सञ्चालन गरेको यस अभियानमा सहयोग र सहजीकरणका लागि मन्त्रालयको साथ रहने जानकारी दिए । नेरेसोका निर्देशक उमेशप्रसाद ढकालले जलवायु परिवर्तन वर्तमान र भावी पुस्ताका लागि सबैभन्दा महत्वपूर्ण मुद्दामध्ये एक भएको बताए । 

सोसाइटीका जुनियर तथा युवा विभागका निर्देशक मोना अर्यालले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न युवालाई नेतृत्व दिने, उनीहरूलाई संलग्न गराउने, उनीहरूका नवीनतम् विचारलाई सहयोग गर्ने र स्थानीयस्तरमा समाधानका लागि नवीनतम् सोच प्रवर्द्धन गर्ने नेपाल रेडक्रसको प्रयास रहेको जानकारी दिए ।

उनले भने– “जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटलाई सम्बोधन गर्न सामूहिक प्रयत्नको खाँचो पर्छ । यसका लागि युवाका नवीनतम् सोच आवश्यक पर्छ ।” कार्यक्रममा आइएफआरसीका नेपालका कार्यक्रम संयोजक हार्भे गजेउले नेपाल रेडक्रसको देशव्यापी युवा सञ्जाललाई समुदायस्तरमा र जलवायुसम्बन्धी समस्या सम्बोधन गर्ने परिवर्तनका संवाहकका रूपमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । 

सो कार्यक्रममा आइएफआरसी एशिया प्रान्तीय क्षेत्रका युवा प्रतिनिधि मारिको हिराइले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानमा नेपाली युवाको भूमिका महत्वपूर्ण रहने विचार व्यक्त गरे । नेरेसो आबद्ध स्वयंसेवक र अन्य युवालाई सो कार्यक्रममा आबद्ध हुन आवेदन दिन  आह्वानसमेत गरिएको छ । नेरेसो र आइएफआरसीले जलवायु परिवर्तनका प्रभावलाई कम गर्ने नवीन विचार आदानप्रदान गर्नका लागि परिवर्तनको वाहक बन्न आग्रहसमेत गरेको छ ।

निर्देशक अर्यालका अनुसार सो अभियानले प्रारम्भिक चरणमा १०० भिडियो छनोट गर्ने र सोही क्रममा अभियानलाई अगाडि बढाउँदै लैजाने योजना रहेको छ ।  आवेदनसम्बन्धी आवश्यक जानकारी नेरेसोको हटलाइन सेवा ११३० रे वेवसाइटबाट समेत प्राप्त गर्न सकिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप