बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कडा मेहनतले मास्टर्समा टीयू टप गर्दै तीन वटा पदक दिलायो

शुक्रबार, २३ मङ्सिर २०७९, २१ : ५४
शुक्रबार, २३ मङ्सिर २०७९

 टीकाराम भण्डारी अर्थात् ‘विजयको प्रतीक’ । उनले आफ्नो फेसबुक बायोमा राखेको शब्द हो, ‘टिका एण्ड राम = दी सिम्बोल अफ भिक्ट्री’ । बायोमा मात्र नभएर उनको जीवनका लागि पनि उनी भिक्ट्रीको प्रतीकको रूपमा उभिएका छन् ।

दाङ तुलसीपुरका टीकाराम भण्डारीले स्नातकोत्तर तहमा त्रिभुवन विश्वविद्यालयमा नेपाल टप गरेका छन् । भौतिकशास्त्र (फिजिक्स) विषयमा स्नातकोत्तर गरेका उनले फोर जीपीए ल्याएका छन् । त्यो पनि ‘सीजीपीए’ । चार वटै सेमिस्टरमा फोर जीपीए ल्याएर उनले सीजीपीए पाएका हुन् ।

उनै भण्डारीलाई त्रिविले तीन वटा पदकले सम्मान गरेको छ । त्रिविले उनलाई चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक प्रदान गरेको हो ।

दाङबाट बुबा पर्शुराम भण्डारी र आमा अम्मा भण्डारीसहित पुल्चोकस्थित दीक्षान्त समारोहमा भेटिएका टीकाराम हर्षित मुद्रामा थिए । घाँटीमा तीन वटा मेडल, हातमा चार वटा प्रमाणपत्र बोकेर गाउँन लगाएका टीकारामले भने, ‘मेहनतको फल राम्रै पाइयो ।’

यो वर्ष चान्सलर पदक पाउने व्यक्ति नै टीकाराम हुन् । उनी भौतिकशास्त्रतर्फ मात्र नभई सम्पूर्ण मास्टर्स परीक्षामा प्रथम श्रेणीमा पास भएका थिए । उनले पहिलो, दोस्रो, तेस्रो र चौथो सेमिस्टरमा समेत चार जीपीए नै ल्याएपछि चान्सलर पदकका लागि दाबेदार मानिए ।

विश्वविद्यालयको लापरवाहीका कारण यसअघि सकुन महर्जनको नाममा थियो । तर, उनले आफ्नो दाबी प्रस्तुत गरेपछि त्रिविले उनलाई पदक दिएको हो ।  ‘पहिलो, दोस्रो र तेस्रो सेमिस्टरमा चार जीपीए नै ल्याएँ । लास्ट सेमिस्टरमा पनि चार नै आएपछि अब मैले थेसिस राम्ररी गरेर समयमै बुझायो भने चान्सलर मेडलको दाबी हुन्छ भन्ने थियो,’ उनले भने, ‘त्यही आधारमा थेसिस पनि समयमै बुझाएँ । त्यही आधारमा चान्सलर पदकका लागि मेरो दाबी भयो ।’

कोरोना महामारीका कारण पासआउट हुन ढिलाई भएको थियो । टीयु टपर भएका उनले सबै कुरा प्राथमिकतामा राखेर अगाडि बढ्न सकियो भने सफल भइने बताए । ‘सबै कुरामा प्राथमिकता दिनुपर्छ । प्राथमिकता भयो भने जे चिजमा पनि सफल भइन्छ । आफूले जे काम गर्न लागिरहेको छ, त्यो कुरामा प्राथमिकताका साथ लगनशील भएर गयो भने सफल भइन्छ । प्राथमिकतामा राखेर आफूले त्यही अनुसार मेहनत गर्छु ।’ उनले रातोपाटीसँग भने ।  

उनको यो सफलता चौबिसै घण्टा किताब मात्रै पढेर भएको भने होइन । किताबका साथ साथै अन्य क्रियाकलापमा समेत ध्यान दिने गरेका थिए उनले । ​ पढाईमा सफलता पाउनको लागि नियमित पढ्नुपर्ने उनको भनाइ छ । ‘पढाई भनेर जति बेला पनि पढ्ने भन्ने कुरा हुँदैन । अन्य क्रियाकलापमा पनि सामेल हुनुपर्छ । म नियमित चाहिँ पढ्थेँ । कुनै दिन पढ्ने, कुनै दिन नपढ्ने भन्ने हुँदैनथियो,’ उनले भने ।  

नयाँ जेनेरेशनका विद्यार्थीहरूलाई पढ्न कुनै विषय सजिलो र अप्ठ्यारो नहुने उनको भनाइ छ । ‘नयाँ जेनेरेशनका विद्यार्थीहरूलाई जुनसुकै विषय पढिरहेका भाइबहिनीहरूलाई सजिलो कुनै विषय पनि हुँदैन । अप्ठ्यारो पनि हुँदैन । अप्ठ्यारो यो कारणले हुँदैन कि नपढ्दा जुनसुकै विषय अप्ठ्यारो हुन्छ । पढ्यो भने जुनसुकै विषय सजिलो हुन्छ,’ उनले भने ।

पढाईलाई प्राथमिकतामा राखेर त्यही अनुसार समयको व्यवस्थापन गरेर पढ्नुपर्ने उनको भनाइ छ । परीक्षामा समेत लेखन शैलीमा ध्यान दिन सकियो भने राम्रै नम्बर ल्याउन सकिने उनले बताए ।

‘पढ्न चाहिँ सबैले पढ्छन् । परीक्षाको बेला पनि कसैले नेक्लिजेन्स गर्दैनन् । के हुन्छ भने कहिलेकाहीँ आफ्नो लेखनशैलीमा एकरूपता आएन भने परीक्षामा नम्बर कम आउने हुन्छ,’ उनले भने ।

उनी एसएलसी पनि स्कूल टप हुन् । त्यस्तै आईएस्सी पनि टप नै गरेका थिए । ब्याचलरमा पनि त्रिचन्द्र कलेज टप गरेका थिए । उनको अबको लक्ष्य भनेको पीएचडी गर्ने नै हो । त्यो पनि फिजिक्समा । त्यसका लागि उनी बाहिर जाने सोचमा छन् ।

‘अब अगाडिको यात्रा भनेको फिजिक्समा पीएचडी नै गर्ने हो । पीएचडी त राम्रो ठाउँबाट गर्ने हो । जति आफू एक्सपोज भयो, त्यति नै आफूलाई राम्रो बनाउन सकिन्छ, उनले भने, ‘क्वालिटी र एक्सपोजरको हिसाबले पीएचडी बाहिरबाट गर्नुपर्छ भन्ने सोच छ । पीएचडी गरेर फर्किन्छु ।’

घरको कान्छो छोराले तीन वटा पदक पाएपछि आमाबुबा दुवै जना खुसीले गदगद भए । उनका बुबा पर्शुरामले जुनसूकै काममा एकाग्र भएर लाग्नुपर्ने बताए । उनले भने, ‘हामी खेतीको काम गर्छौँ भने त्यो खेतीको काममा मात्रै ध्यान दिनुपर्छ । त्यस्तै पढ्नेले पढ्नमा मात्र ध्यान दिन सक्यो भने राम्रै हुन्छ । मैले अझै सोचेर, बुझेर मात्र अगाडि बढ् कान्छा भन्दै आएको छु ।’

धेरै दुःख गरेर यहाँसम्म आईपुगेको भन्दै छोराको प्रगतिले आफूलाई निकै खुसी मिलिरहेको उनले बताए । आमा पनि आफ्नो छोरा भोलि गएर ठूलो मान्छे बन्छ भन्ने पहिलादेखि नै लागेको बताउँछिन् ।

‘छोराले केही गर्छ भन्ने हामीलाई लागेको थियो, त्यही अनुसार राम्रै गर्दै आएको छ । हामी खुसी छौं,’ उनले भनिन्, ‘आगामी दिनमा हामीलाई खुसी नै देओस् भन्ने चाहना हो ।’

२८ उत्कृष्ट विद्यार्थीलाई दीक्षान्त पदक

त्रिविले विभिन्न तहमा लिइएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २८ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरेको छ । त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भएका विद्यार्थीहरूले विभिन्न पदक पाएका हुन् । 

टीकारामका प्रमाणपत्रहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप