मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘आध्यात्मिक साहित्यमा हाम्रो ध्यानै पुगेको छैन’

शनिबार, २४ मङ्सिर २०७९, १२ : १०
शनिबार, २४ मङ्सिर २०७९

मूल घर काठमाडौंको जितपुरफेदी पाँचमाने रहेका साहित्यकार हरिभक्त सिग्देल हाल बूढानीलकण्ठ मण्डिखाटारमा बस्छन् । हालसम्म उनका चवालीस वटा कृति प्रकाशित छन् । यी प्रकाशित कृतिमध्ये एक तिहाइ त आध्यात्मिक पुस्तक छन् । आध्यात्मिक पुस्तकलाई पनि उनी साहित्य नै भन्न रुचाउँछन् । उनको विचारमा आध्यात्मिक साहित्यमा हाम्रो ध्यानै पुगेको छैन ।

उनका पिता खड्गध्वज सिग्देलले रामायण, महाभारतका श्लोकहरू वाचन गर्ने तथा गाउँमा हरेक दिन हुने भजनकीर्तनले उनमा आध्यात्मिकतातर्फ रस बस्यो । संस्कृतका श्लोकहरू सबै गुरुहरूले उच्चारण गर्छन् तर नेपालीमा बुझाउँदैनन्, त्यसलाई बुझाउने काम गर्नु भनेर आमाले भनेको वचनबाट प्रभावित भई साहित्य लेखन तथा अनुवादतर्फ लागेको उनी बताउँछन् । 

नेपाल बहुजाति, बहुभाषी र बहुधार्मिक देश भएकाले आआफ्नो भाषा र धर्मको संरक्षण र संवद्र्ध गरौँ भन्ने विचारका बोकेका हरिभक्त सिग्देलसँग साहित्यमा केन्द्रीत रही शिखर मोहनले गरेको साहित्यिक वार्ता :

–चवालीस वटा कृति प्रकाशित गरिसक्नु भएछ । तपाईंको विचारमा साहित्य के हो ? 

संसारलाई सुन्दर बनाउने तत्त्व हो साहित्य । त्यसमा नदेखिएका, लुकेर बसेका तत्त्वहरूलाई थपेर अझ सुन्दर बनाउने काम साहित्यले गर्छ । जसरी ब्युटी पार्लरले सामान्य नारीलाई सुन्दर बनाउँछ, त्यसरी नै लेखनलाई सुन्दर रूपमा प्रस्तुत गर्ने जुन कला हो, त्यो नै साहित्य हो । 

–सरकारी सेवामा चाहिँ कहिले, कसरी प्रवेश गर्नु भयो ? 

सुरुमा नुवाकोटको ओखरपौवा प्राथमिक विद्यालयमा प्रधानाध्यापकबाट सरकारी सेवा प्रारम्भ गरें । त्यहाँ ४४ रुपियाँ तलब थियो, त्रैमासिक रूपमा तलब लिन भनेर विदुर पुग्नु पथ्र्यो । हिँडेर जाँदा ७÷८ घण्टा लाग्थ्यो । 

केही समय पढाएँ । त्यसपछि लोकसेवा खुल्यो । खरदार र बैदार दुइटैमा परीक्षा दिएँ । बैदारको रिजल्ट भइहाल्यो । स्वास्थ्य मन्त्रालयअन्तर्गत कान्ति बाल अस्पतालमा मेरो पदस्थापन भयो । त्यहाँ छ महिना जति काम गरें । 

स्वास्थ्य मन्त्रालयसँगै जोडिएको प्रहरी तालिम केन्द्र थियो । नेपालमा पुलिस र सेनालाई मात्र जुडो, कराँते प्रशिक्षण हुन्थ्यो त्यतिबेला । इजरायलीहरूले मात्र जुडो सिकाउँथे । त्यहाँ ब्यान्डमा कवाज खेलेर, बन्दुक बोकेर तालिम हुन्थ्यो । त्यो ब्यान्ड र कवाजले मलाई आकर्षित गर्यो । अनि कान्तिबाट राजीनामा गरेर प्रहरीमा गएँ ।  नेपाल प्रहरीमा २९ वर्ष ६ महिना सेवा गरेर अवकाश पाएँ । 

–यति लामो समय प्रहरी सेवामा समर्पित व्यक्तित्व साहित्यतर्फ लाग्ने प्रेरणा कसबाट पाउनुभयो ?

साहित्यमा पहिलेदेखि रुचि थियो । ग्रामसेवा प्रौढ हाइस्कुल, धर्मस्थलीमा अध्ययन गर्दा आध्यात्मिक कविता खुबै पढियो । २०२४ सालमा स्कुलको वार्षिकोत्सवमा भएको कविता प्रतियोगितामा ‘किसान’ भन्ने कविता लेखेर सान्त्वना पुरस्कार पाएपछि मलाई लेख्नुपर्छ भन्ने प्रेरणा दियो । 

उता गीता, चण्डी जस्ता पुस्तकहरूको सधैँ पाठ हुन्थ्यो घरमा । त्यसले मलाई आध्यात्मिक पुस्तकहरू अध्ययन गर्नुका साथै लेखनमा रुचि बस्यो । लेख्ने काम चाहिँ मेरो २३, २४ सालदेखि नै भयो तर छपाउने काम चाहिँ ४३, ४४ सालदेखि मात्रै भयो ।  

तपाईंको पहिलो प्रकाशित रचना कुन हो ?

स्रोता सुइनी भन्ने एउटा क्रान्तिकारी पत्रिका थियो, त्यसमा मैले एउटा कविता छपाएको थिएँ, ३१, ३२ सालतिर । छापिएको त्यो मेरो पहिलो कविता हो ।  कृतिगत रूपमा छापिएको पहिलो कृति चाहिँ शान्ति क्षेत्र नेपाल हो । 

रङ्गै रङ्गको जिन्दगानी, म अमर छु कविता सङ्ग्रहलगायत मैले ४४ वटा पुस्तक प्रकाशित गरिसकेँ । एउटा गद्यकविता सङ्ग्रह प्रकाशनको लागि तयारी अवस्थामा छ । पछिल्लो समय छन्दमा कविता लेख्न पनि गजब लाग्दैछ ।

–तपाईंको आफ्नै उल्लेखनीय कृति कुन कुन हुन् जस्तो लाग्छ ? 

लेखकलाई आफ्ना सबै कृति उल्लेखनीय लाग्छ । मैले गीताको नेपालीमा अनुवाददेखि चण्डीलाई पनि सरलीकृत गरेको छु । एक मात्र भगवान् पुस्तकमा बुद्धिजम, हिन्दुजम, क्रिस्चियानिटीलगायत चारै धर्ममा जे जसरी भगवान्का बारेमा चित्रण गरियो, त्यसमा भगवान एक मात्र छन् भन्ने देखाएको छु । 

वेदमा पनि भनिएको छ– ईश्वर एक मात्र छन्, विद्वान्हरूले आआफ्नो हिसाबले परिभाषित गर्छन् । अहिले सबै राजनीतिक दलहरूले देश र जनताको हित र रक्षा गर्छौं भन्छन् नि, सिद्धान्त फरक फरक भए पनि । 

तर कसले कति जनतालाई कति ढाँट्छ र कसलाई ढाँट्दैन भन्ने मात्र कुरा हो । मान्छेका स्वार्थी भावनाले मात्रै मेरो बाटो मात्र सही छ, अरुका गलत भन्ने लागेको हो । सत्य त एउटै हुन्छ । एक मात्र भन्ने पुस्तक यही अवधारणामा आधारित छ । 

–तपाईंको धेरै कृति आध्यात्मिक क्षेत्रका विषयमा रहेछन् । यसतर्फ कसरी लाग्नुभयो ?

गुरुले घरमा आएर चण्डी, रुद्री खरर भन्नु हुन्थ्यो । अरू संस्कृतका श्लोकहरू पनि त्यत्तिकै उच्चारण हुन्थे तर त्यसको अर्थ केही बुझिँदैन थियो । अनि आमाले यी सबैलाई  सरल भाषामा बनाऊ भन्नुहुन्थ्यो मलाई । त्यही सन्दर्भमा मैले सबैलाई सरलीकरण गरेर नेपालीमा उल्था गरेँ । २५, ३० वटा कृति त मेरा आध्यात्मिक नै छन् । 

गीताकै अनुवाद ४, ५ वटा छन् । विश्व ब्रह्माण्डपति श्री पशुपतिनाथ, पशुपति दर्शन, दक्षिणकालीको सेरोफेरोमा दक्षिणकाली जाने किन, कसले स्थापना गर्यो, कसरी दर्शन गर्ने ? पूजा पद्धति के हो ? ककसले केके गरे त्यो दक्षिणकालीमा ? लगायत सबैको सविस्तार वर्णन छ । गुह्येश्वरी, पशुपति क्षेत्रसमेत समेटेर वैदिक, धार्मिक र किंवदन्ती सबै कुरा समेटेर पुस्तकहरू मैले तयार गरेको छु । 

अर्को कुरा हामी घाटमा गयौँ भने लासहरू जलाइरहेका हुन्छन् । अन्तिम गन्तव्य भनेको मृत्यु हो । यसै सन्दर्भमा म अमर छु भन्ने कविता सङ्ग्रह पनि छ । 

म अहिले आध्यात्म महाकाव्य लेख्दै पनि छु । गीता ज्ञान हो, उपनिषद् ज्ञान हो, वेद ज्ञान हो, पुराणहरू ज्ञान हुन् । त्यसमा मुख्य रूपमा यही कुरा मात्र आउँछ । वास्तविक जीवन के हो, मृत्यु के हो र प्राप्ति के हो ? त्यसको खोजी हो । हामी मृत्युदेखि डराएर भाग्छौँ । मृत्यु भनेको कपडा फ्यालेजस्तै हो । कपडा फाटेपछि फालिन्छ नि त, शरीर पनि त्यस्तै हो ।  हामीले यो शरीरलाई पनि त्यसै गरी सोच्नुपर्यो भन्ने थिम छ ।

–तपाईंलाई मनपर्ने कृति कुन कुन हुन् ? 

एउटा असल सर्जकले अरुका कृति धेरै अध्ययन गर्नुपर्छ । अरुका विचार, भावना र कल्पनाको अध्ययनबाट धेरै कुरा सर्जकले सिक्छ । हाम्रा अग्रज साहित्यकारहरूका धेरै कृतिहरू अध्ययन गरेको छु, मन पर्छन् । लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, पारिजात, भूपि शेरचन जस्ता विशिष्ट सर्जकका सबै कृति मनपर्छ । 

पछिल्लो समयका सर्जक कलानिधिको आफैँ भएँ सुन्दर भन्ने कविता सङ्ग्रह, युवराज मैनालीको भ्रष्टाचारको भाङ राम्रा छन् । दामोदर पुडासैनीको भर्खरै आएको कृति डोल्पो ओ डोल्पो पनि पढ्दैछु, यो पनि निकै राम्रो छ । 

सर्जकले आफ्नो विषयमा छलछाम नगरी प्रस्ट पारेर लेखिएका कृतिहरू धेरै मनपर्छन् । वास्तविक कुरा नलुकाई सिँगारपटार गरेर सुन्दर बनाएर प्रस्तुत गरिएका कृति राम्रो लाग्छन् । यथार्थलाई जनसमक्ष प्रस्तुत गरेका पुस्तक मलाई मनपर्छन् । 

–आध्यामिक साहित्यलाई चाहिँ अरु साहित्यजस्तो ठानिदैन, किन यस्तो भएको हो ? 

यसो हुनुको कारण चाहिँ सनातनी वैदिक धर्मलाई र अरु धर्मका मानिसहरूले आफ्नै मात्र धर्म ठीक भन्ने गरे । अहिले पनि विश्वमा ९० प्रतिशतभन्दा बढी देशहरूमा क्रिस्चियनहरूले बाइबलको पुस्तक छोएर शपथ खान्छन्, ईस्लामहरूले कुरान छोएर शपथ खान्छन् । कुनै ठाउँमा म जनताको नाममा शपथ खान्छु भन्दैनन् तर नेपाल मात्र त्यस्तो देश हो जहाँ जनताका नाममा शपथ खाइन्छ । 

नेपाल विश्वमा एक मात्र हिन्दू राष्ट्र थियो । मैले हिन्दूलाई उत्कृष्ट धर्म भन्न खोजेको होइन । तर आफ्नोपनलाई छोडेर अर्काको पनमा गयो भन्ने हो । मार्क्स, लेनिनहरूलाई पूजा गर्छन् तर कम्युनिस्टको विरोध गरेको होइन फेरि, अरु देशका नेताका राम्रा कुरा लिनुपर्छ । 

तपाईं अध्यात्मतिर नगई मृत्युको औषधि छैन । बाइबल या कुरान नै अध्ययन गर्नुस्, त्यहाँ पनि मृत्युको औषधिबारे लेखिएको छ । बुद्धिजमले त झन् कुनै छलछाम नै गरेको छैन । सनातन धर्म एउटा यस्तो हो, जसले मुक्तिको बाटो देखाउँछ । तँ अमर छस् भन्ने चाहिँ सनातन धर्म मात्र हो । आध्यात्मिक साहित्यमा हाम्रो ध्यानै पुगेको छैन । त्यसैले, यसलाई साहित्यजस्तो ठानिदैन ।

साहित्य क्षेत्रका नवप्रवेशीहरूलाई के भन्न चाहनुहुन्छ ?

साहित्यमा लाग्नुभन्दा पहिला दृढ सङ्कल्प गर्नुपर्छ । साहित्यको जुन सौन्दर्य हो, त्यो सौन्दर्यलाई नधमिल्याइकन जीवनभर म अगाडि बढ्छु भनेर लाग्नु होस् । अरु कुनै पनि साहित्यलाई अपहेलना नगरी आफ्नो साहित्यिक विषयलाई अगाडि बढाउन सुझाव दिन्छु । आफूलाई मनैदेखि चाहेको विधामा कलम चलाउनुहोस्, निर्धक्क सिर्जनामा लाग्नुहोस् । निरन्तर लागेपछि अवश्य सफल भइन्छ भन्न चाहन्छु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप