शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्गीय अधिकारीको स्मरणमा दुई आर्थिक पुरस्कार स्थापना

शनिबार, २४ मङ्सिर २०७९, १२ : २९
शनिबार, २४ मङ्सिर २०७९

नेकपा एमालेका नेता तथा पहिलो कम्युनिष्ट अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मरणमा रु ५० हजार राशिको दुई वटा आर्थिक पुरस्कार स्थापना गरिएको छ । 

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सहकार्यमा आर्थिक समाचार लेखनमा सञ्चारकर्मीहरुको सम्मानका लागि पुरस्कारको स्थापना गरिएको हो । आर्थिक तथा सहकारीका क्षेत्रमा क्रियाशील आर्थिक पत्रकारको वृत्तिविकास, क्षमता विकास र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउन ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो ।  
    
पुरस्कारले खोजमूलक आर्थिक पत्रकारितालाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, गाउँगाउँमा सहकारीजस्ता कार्यक्रम ल्याइएको थियो ।

फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि अधिकारीले पु¥याएको योगदानको स्मरणमा पुरस्कार स्थापना गरिएको जानकारी दिइन् । उनले पुरस्कारलाई साथ दिन पाउँदा सहकारी क्षेत्रमा अधिकारीले गर्न चाहेका तर अधुरै रहेका कामले सार्थकता पाउने विश्वास व्यक्त गरिन् । महासचिव लिमा स्वर्गीय अधिकारीकी पुत्री हुन् ।

नाफिजका अध्यक्ष मोदनाथ ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारको छाता संस्था भएको बताउँदै खोजमुलक पत्रकारिता प्रवद्र्धन गर्न पुरस्कारले ठूलो भूमिका खेल्ने तथा समाचारको गुणस्तर र पत्रकारको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कारको महत्व रहेको बताए । फाउण्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्ने सहमति भएको जनाइएको छ ।

यो वर्षको ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ यही मङ्सिर २८ गते नाफिजको छैठौँ महासभामा प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप