बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ठेला व्यापारीमाथि काठमाडौं महानगरको ज्यादतीविरुद्ध बाबुराम भट्टराईदेखि शृङ्खला खतिवडासम्म

शनिबार, २४ मङ्सिर २०७९, १३ : ०४
शनिबार, २४ मङ्सिर २०७९

चलचित्र ‘बलिदान’ को गीत ‘गरिबको चमेली बोल्दिने कोही छैन’ को दुई लाइन आफ्नो र्‍यापभित्र घुसाएर राजनीतिक पद्धति र नेताहरुलाई गाली गरेको म्युजिक भिडियो बनाएका र्‍यापर बालेन अहिले काठमाडौं महानगरपालिकाका मेयर छन् । जतिबेला उनी मेयरको उम्मेदवार भएर प्रतिस्पर्धामा थिए त्यसबेला सामाजिक सञ्जालमा उनको यो र्‍याप अत्यधिक शेयर गरिएको थियो । विद्यमान व्यवस्था, खराब नीति फेर्ने र गरिबको लागि पनि बोल्ने ‘लिडर’ को तिर्खामा रहेका काठमाडौंबासीले एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई बिस्तापित गर्दैै महानगरको सिंहासनमा बालेन्द्र शाहलाई उकालेका थिए । 
तर निर्वाचित भएको ७ महिनामा मेयर बालेन्द्र पटक पटक विवादित भएका छन् । खासगरी शहरमा रहेका न्यून आय भएका, सहरिया गरिब प्रति उनी तीब्र रुपमा अनुदार बन्दै गएका छन् । 

साँझपख काठमाडौंका सडक किनारमा व्यापार गर्नेहरुमाथि लौरो कसेर  बिस्थापित गराएका बालेनले अहिले न्यून आय भएर सडकमा तरकारी, फलफूल बेच्नेहरुको टाउकोमाथि लौरो बर्साउन थालेका छन् । सडकमा ठेलामा तरकारी फलफूल बेचेर गुजारा गर्ने महिला, जेष्ठ नागरिकलाई समेत नगरप्रहरीले खेदी–खेदी लखेटेको, उनीहरुको सामान र ठेला  जफत गरेको र पीडितहरुले बिलौना गरेको भिडियोहरु सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । सो भिडियो हेरेपछि अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले महानगरले चाहिने भन्दा बढी ज्यादती गरेको भनेर आफ्नो टिप्पणी प्रकट गरेका छन् । 

यही विषयलाई लिएर पछिल्लो केहीदिन यता सामाजिक सञ्जाल ट्विटर लगायतमा बालेन्द्र शाहको आलोचना भइरहेको छ । काठमाडौं महानगर अन्तर्गतका सडक किनारा, शहरका खुला स्थान वा ठेलागाढामा तरकारी, फलफूल, चटपटे लगायतका थोरै लगानीको व्यापार गरेर दैनिक रोजीरोटीको गुजारा गर्नेहरुमाथि धरपकट, सामान जफत लगायतका घटनामा बृद्धि हुन थालेपछि राजनीतिक दलका नेता तथा नागरिक स्तरबाट महानगरपालिकाको कार्यशैलीमाथि तीखो टिप्पणी गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले चेतावनी दिँदै सडक व्यापारीलाई हटाउन लाठी र बन्दुक समाधानको तरिका नभएको भन्दै त्यसका लागि योजनाबद्ध व्यवस्थापन र उचित पुनःस्थापना गर्नुपर्ने अन्यथा बिष्फोट बताएका छन् । 

ट्विटरमा भट्टराईले भनेका छन्–‘शहरी र क्षेत्रीय विकास योजनाको विद्यार्थीको नाताले भन्छु–शहरीकरण, अनौपचारिक श्रम र अर्थतन्त्र, धनी र गरिबको विभेदीकरण संक्रमणकालीन समाज र अर्थतन्त्रको संरचनात्मक समस्या हो । यसको दिगो समाधान लाठी र बन्दुक हैन योजनाबद्ध व्यवस्थापन र उचित पुनःस्थापना हो । नत्र विष्फोट हुन्छ । चेतना भया ।’

भट्टराईको सो भनाइलाई समर्थन गर्दै पूर्व मिस नेपाल शृङ्खला खतिवडा यस्तो ज्यादतीले समाधान नहुने भन्दै अनौपचारिक क्षेत्रबिना शहर चल्न नसक्ने बताएकी छिन् । उनले ठेलाको व्यापार भन्दा शहरको सुन्दरता प्यारो भएको हो ? भोली त्यही ठेला नआउँदा तरकारी के किन्छौँ ? भन्दै खतिवडाले प्रश्न गरेकी छिन् । 

उनले भनेकी छिन्–‘के हामीलाई शहरको “सुन्दरता” त्यति धेरै प्यारो भयो कि ठेलाको ब्यापार पनि देख्न सकेनौ ? भोली त्यै ठेला नआउँदा तरकारी कहाँ किन्छौ ? अनौपचारिक छेत्रबिना अहिले नै शहर चल्न सक्दैन । कि त ठाउँ दिनु पर्यो, यस्तो ज्यजतीले केही समाधान हुँदैन है ।’

यस्तै गत प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ कि उम्मेदवार रहेकी रञ्जु दर्शनाले पनि व्यङ्ग्य गर्दै भनेकी छिन्–‘काठमाडौंमा कुनै समय सबैले सपना देख्न पाउँथे अब काठमाडौंमा सुकिला–मुकिला मात्रै प्रवेश भनेर यो पालिकाको सिमामा टाँसीदिनुस ।’

यस्तै प्राध्यापक एवं लेखक संजीव उप्रेतीले प्रश्न गरेका छन्–‘के गरीबको बाँच्ने अधिकार छैन यस शहरमा ? गरिबको सफाया गरेर शहरलाई सुन्दर बनाउने ? त्यो सुन्दरता कसका लागी हो ? मानवीय समवेदना मरेको शहर कसरी सुन्दर हुन्छ ? सुन्दरताको बुझाइ कस्तो हो ?’

सामाजिक सञ्जालमा यसरी महानगरको गतिविधिप्रति तीब्र असन्तुष्टि प्रकट भइरहेका बेला नगर प्रमुख शाहले भने यसबारे कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप