शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना– उपराष्ट्रपति पुन

शनिबार, २४ मङ्सिर २०७९, १५ : ३७
शनिबार, २४ मङ्सिर २०७९

उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । विश्वपर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आयोजित सातौं पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पर्वतीय पर्यटनका धेरै सम्भावनालाई अझै पनि अपेक्षित उपयोग गर्न नसकिएको बताए ।

नेपाल प्राकृतिकरुपमा सम्पन्न भएको बताउँदै उनले यस्ता सम्पन्नतालाई पर्यटकीयरुपमा उपयोग गर्दै समृद्धि हासिल गर्न सकिनेमा जोड दिए । प्रकृति र संस्कृतिसँगै विभिन्न जातजाति भाषाभाषीका विविधता हाम्रो सम्पत्ति भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले तिनको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए ।

विश्वका आठ हजारभन्दा बढी उचाइका १४ वटा हिमचुचुरामध्ये सगरमाथासहित आठ वटा नेपालमै पर्छन । उनले पर्वतीय पर्यटनका माध्यमबाट यहाँको पर्यटनमा विशिष्ट योगदान हुनसक्ने धारणा राखे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रकृति र संस्कृतिका विविधता रहेको नेपाल हिमाल पहाड र तराई गरी भौगोलिक संरचनामा विभक्त भएको बताए ।

जैविक विविधता पनि यहाँको अर्को महत्वपूर्ण पक्ष भएको बताउँदै उनले यसको संरक्षण र उपयोगमा जोड दिए । पदयात्रासँगै साहसिक पर्यटकका विभिन्न गतिविधिका माध्यमबाट पर्यटकीय विकास सम्भव भएको बताउँदै मन्त्री श्रेष्ठले साधनस्रोतलाई उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए ।

गण्डकी प्रदेशका पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेलले पछिल्ला समयमा जलवायु परिवर्तनको असर हिमाली एवं पर्वतीय क्षेत्रमा पर्न थालेको बताए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निवानार्बु शेर्पाले पर्वतीय पर्यटनको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा पर्वतारोहणका क्षेत्रमा विशिष्ठ योगदान गर्ने विभिन्न व्यक्तित्वलाई उपराष्ट्रपति पुनले कदरपत्र, मेडल र दोसल्लासहित सम्मान गर्नुभएको थियो ।  उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालयले पर्यटनको दिगो विकासका लागि ७३ बुँदे कार्ययोजना अघि सारेको जानकारी दिए ।

विश्वपर्यटन दिवसका अवसरमा आयोजित महोत्सव मङ्सिर २४ र २५ गते दुई दिनसम्म सञ्चालन हुने र पर्वतीय महत्वमा विभिन्न ३० वटा कक्ष रहेको नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष एवं अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप