शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरभाडा दिएर कर्मचारी फकाउने तयारीमा लुम्बिनी प्रदेश सरकार

मङ्गलबार, २७ मङ्सिर २०७९, १८ : ०५
मङ्गलबार, २७ मङ्सिर २०७९

 लुम्बिनी प्रदेश सरकारले आफ्ना कर्मचारीलाई घरभाडा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । प्रदेशको अस्थायी मुकाम बुटवलबाट स्थायी मुकाम दाङ सार्दा आन्दोनल समेत गर्न तयार भएका कर्मचारीलाई खुसी पार्न उनीहरुलाई घर भाडा उपलब्ध गराउने तयारी गरिएको हो ।

प्रदेश सरकारले प्रोत्साहन भत्ताको नाममा घरभाडा उपलब्ध गराउने योजना बनाएको छ । सरकारले कर्मचारीको सुविधाका लागि घरबहाल बापत थप रकम उपलब्ध गराउने तयारी गरेको हो । मन्त्रालयहरु दाङ सरेपछि कतिपय कर्मचारीहरु बिदा बस्ने र तत्काल काममा नफर्कने संकेत पाएपछि उनीहरुलाई खुसी पार्न पनि प्रदेश सरकारले यस्तो योजना बनाएको बुझिएको छ ।

भाडा बापत सचिव तथा उपसचिवका लागि प्रतिव्यक्ति ९ हजार, शाखा अधिकृतका लागि प्रतिव्यक्ति ७ हजार, सहायक अधिकृतका लागि प्रतिव्यक्ति ६ हजार, कार्यालय सहयोगी तथा सवारीचालकका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रूपैयाँका दरले थप सुविधा दिने तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका बैठक तथा प्रशासन महाशाखा सचिव नरेन्द्रकुमार रानाले नयाँ स्थान र राजधानीमा जाने कर्मचारीको सुविधाका लागि घर बहालबापत थप प्रोत्साहन रकम दिने विषयमा मन्त्रालयमा छलफल भएर प्रक्रिया अघि बढेको बताए ।

प्रदेशको अस्थायी मुकाम बुटवल हुँदा कर्मचारीलाई यो सुविधा थिएन । कर्मचारीको व्यवस्थापनलाई सहज बनाउन यस्तो तयारी गरिएको रानाले बताए । अव स्थायी राजधानी देउखुरीमै मन्त्रिपरिषदको पहिलो बैठक बस्ने र उक्त बैठकले कर्मचारीको घरभाडा सम्बन्धी निर्णय पनि गर्ने उनले जानकारी दिए ।

प्रदेश सरकारका कार्यालय सहयोगी र सवारीचालक समेत गरी गरी १२८ जना कार्यरत छन् ।

नेपाल निजामती कर्मचारी संगठनका प्रदेश संयोजक खगराज उपाध्यायले बुटवल मुकाममा रहेका कर्मचारीसँग सरकारले कुनै औपचारिक सल्लाह र समन्वय नगरेको उल्लेख गरे । सरकारले कर्मचारीलाई घरभाडा समेत दिने तयारी गरेपछि सरकारको आर्थिक भार बढ्ने भन्दै यसको आलोचना पनि हुन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप