बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पौराणिक कथा : पाप धुरीबाट कराउँछ

सोमबार, ०४ पुस २०७९, १० : १७
सोमबार, ०४ पुस २०७९

भागवतमा एउटा प्रसङ्ग आएको छ । पाण्डवहरूको स्वर्गारोहणपछि जब उनीहरूका नाति परीक्षित जनताको सुखदुःख बुझ्न निस्केका थिए एउटा खुट्टाले खुच्याउँदै हिँडिरहेको बूढो गोरुलाई देखे, जसको अन्य तीनवटा खुट्टा भाँचिएका थिए । राजा परीक्षितले गोरुको त्यस्तो बिजोग  हेर्न सकेनन् र दया देखाउँदै सोधे–

‘बाबु ! तिमीलाई के भयो ? कसले यस्तो अवस्थामा पु¥यायो ? निर्धक्क भन्न सक्छौ, जो भए पनि उसले उचित दण्ड पाउनेछ ।’

राजको कुरा सुनेर बूढो गोरुले भन्यो–

‘राजन् ! म धर्म हुँ । कलिको अत्याचारबाट बच्न गोरुको रूप धारण गरेर हिँडेको हुँ तर कसले मेरो तीनवटा खुट्टा भाँचिदियो त्यो भने भन्न सक्दिनँ । किनकि धर्मशास्त्रमा उल्लेख भए अनुसार जसले अर्काको चुक्ली लगाउँछ उसले चुक्ली लगाइएको मानिसले गरेको पाप भोग्नुपर्ने हुन्छ । त्यसैले यो कुरा चाहिँ तपाईँ आफैँले पत्ता लगाउनुपर्ने हुन्छ ।’

त्यसपछि परीक्षितलाई यस्तो काम गर्ने कलि ने हो भन्ने पत्ता लगाउन बेर लागेन र तत्कालै उसलाई बोलाएर दण्डित गरे ।

कसैको विरुद्ध कुरा लगाउनुलाई चुक्ली लगाउनु भनिन्छ भने कसैको अनुपस्थितिमा उसका विरुद्धमा कुरा गर्नुलाई कुरा काट्नु भनिन्छ । यी दुवै काम राम्रो होइन । कसैको बारेमा केही भन्नु छ भने उसकै अगाडि भन्नुपर्छ । कसैको गल्ती देखाउनु छ भने पनि उसैलाई बोलाएर भन्नुपर्छ । अन्यथा दोषको भागी हुनुपर्छ ।

धेरै पहिलेको कुरा हो एउटा गाउँमा एक जना दयालु सेठ बस्थे । गाउँमा कोही पनि भोको नरहुन् भन्ने चाहन्थे र प्रायः गरीव गुरुवालाई बोलाएर भोज खुवाउने गर्थे । सदा झैँ एक दिन त्यस्तै भोजको आयोजना गरिएको थियो । खाने मानिस धेरै भएकाले खाना बनाउने काम आँगनमा भइरहेको थियो । ठीक त्यही बेला त्यसैको माथि आकाशमा एउटा चील (गरुड) उँड्दैथ्यो, जसले चुचोमा विषालु सर्प चेपेको थियो । सर्प गरुडबाट फुत्कने प्रयास गथ्र्यो गरुड फुत्केला भनेर दह्रोसँग चेप्ने गथ्र्यो । फलत सर्पको मुखबाट विष निस्केछ र खानामाथि परेछ, जुन कुरा कसैलाई पनि पत्तै भएन ।

खाना तयार भयो सबैले एकैसाथ खाए तर भइदियो के भने खानासाथ विषको प्रभावले सबै एकएक गरी ढले । यस्तो भयानक दृष्य देखेर सेठजीलाई साह्रै नराम्रो लाग्यो । खाना बनाउने सज्जनलाई पनि त्यस्तै भयो तर पनि के गर्ने जे नहुनुपर्ने भइसकेको थियो । सेठले कारण पत्ता लगाउन भरसम्भव प्रयास गरे तर केही लागेन ।

त्यसपछि यमलोकमा ठूलै हलचल मच्चियो, त्यतिका मानिस मारेको पाप कसको खातामा लेख्ने भन्ने विषयलाई लिएर । सेठजीको खातामा लेखौँ भने उनले पाप गरेका थिएनन् । बरू गरीव गुरुवा तथा भोका मानिसलाई खुवाएर धर्म गरेका थिए । खाना पकाउने मानिसको खातामा लेखौँ भने उनले पनि पाप गरेका थिएनन् । उल्टै खाना पकाउने काम गरेर धर्म नै गरेका थिए । चीलको खातामा लेखौँ भने उसको पनि उद्देश्य अरूलाई हानि गर्नु नभई आफ्नो आहार जुटाउनु थियो । सर्पको खातामा लेखौँ भने त्यो पनि भएन । किनकि उसले पनि गरुडबाट बच्चे प्रयास गरेको थियो । आखिर प्राण रक्षाको प्रयास सबैले गरेकै हुन्छन् ।  

यमराजले निकै सोचे तैपनि निकास भेटेनन् । उता त्यत्तिकै छाडौँ भने त्यो पनि भएन किनकि जसले गरे पनि पाप भएको थियो । आखिर पाप भनेको पाप नै हो । कसैन कसैले नभोगी सुखै थिएन । पाप भनेको यस्तो कुरा हो जसलाई राफसाफ गर्न कसै न कसैले भोग्नैपर्छ । यत्तिकैमा एक दिन कुनै अपरिचित मानिस उनै सेठलाई खोज्दै आए । गाउँमा त आइपुगे तर घर पत्ता लगाउन सकेनन् र गाउँकै एक जना महिलासँग सोधे । अपरिचितको कुरा सुनेर महिलाले भनिन्–

‘यस गाउँमा नौलो जस्तो लाग्नु हुन्छ । त्यसैले सेठको करतुत बताउनु आफ्नो कर्तव्य ठान्छु । तपाईँले खोज्नु भएको सेठको घर त त्यही पल्लो हो तर होस गर्नुहोला उनी राम्रा मानिस होइनन् । भोका मानिसलाई खुवाएर दया देखाउने काम त गर्छन् तर खाना बिष मिलाएर तिनैको ज्यान लिन पनि पछि पर्दैनन् । उदाहरणका लागि हालैका घटनालाई लिन सकिन्छ, जसका कारण सयौँ निदोष मानिसको ज्यान गएको थियो । तपार्ईँलाई पनि त्यस्तै गर्न सक्छन् होस गर्नुहोला ।’

अव यमराजलाई पाप बोक्ने मानिस खोज्न बेर लागेन । उनले सो पापको भार उनकै खातामा लेखिदिए । यसरी अर्काको चुक्ली लगाउँदा विचरी महिलाले आफूले नगरेको पापको भागीदार बन्नुप¥यो ।

माथिका दुई प्रसङ्गमा केकति सत्यता छ थाहा छैन तर कसैको विरुद्ध कुरा काट्ने वा कुरा लगाउने मानिसको अवस्था भने जहाँ पनि यस्तै हुन्छ । मरेपछि यमराजले दण्ड देलान्, नदेलान् छुट्टै कुरा हो । धर्मशास्त्रमा लेखिएको कुरा हो दिन पनि सक्छन् तर यसै जन्ममा भने पक्कै सजायँ पाइन्छ । जसले गरे पनि र जसले भने पनि आखिर झुट भनेको झुट नै हो । एक दिन सबैले थाहा पाउँछन् र सके राज्य सरकारको तर्फबाट नभए पनि  समाजको तर्फबाट दण्डित हुनुपर्ने अवस्था पक्कै आउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप