शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिकीमा ध्यान र साधनाः रसपूर्ण जीवन

सोमबार, ०४ पुस २०७९, १३ : ०७
सोमबार, ०४ पुस २०७९

भनिन्छ, जीवन आफैमा न त रसिलो हुन्छ न बिरसिलो ।  यदि जीवन मिठासले भरिएको रसपूर्ण छ भने कारण हामी आफै हौ । यदि तिक्तताले भरिएको विरसिलो छ जीवन भने पनि त्यो हाम्रो आफ्नै आर्जन हो । 

गौतम बुद्धको भनाई छ, “जे सोच्छौ तिमी त्यहीँ हुन्छौ” । सकारात्मक सोचले मान्छे उँभो गतिमा लैजान्छ भने नकारात्मक सोचले मान्छेलाई उँधो गतिमा लैजान्छ । 

सकारात्मक सोचको उत्कर्ष भनेको मान्छेले बडो आनन्दित भएर रसपूर्ण जीवन बाँच्दछ भने नकारात्मक सोचको पराकाष्ठा जीवन विरस लागेर आफैले जीवनको अन्त्य गर्छ । 

भौतिकवादको विकाससँगै जीवन विरस  लागेर आत्महत्या गर्नेको तथ्याङ्क उदेक लाग्दो छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार वार्षिक रुपमा हरेक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्छन् । १५ देखि २९ वर्ष समूहको मृत्युको चौथो ठुलो कारण आत्महत्या हो । 

जीवनमा समस्या र तनाव नहुने मान्छे हुँदैन । किनकि कसैको जीवन पनि अपेक्षा गरेको जस्तो शतप्रतिशत चलेको हुँदैन । त्यसै गरी कुनै पनि व्यक्तिलाई कसैलाई कहिले नपरेको समस्या विरलै पर्छ । शान्त भएर सोच्ने हो भने समाधान नभएको समस्या नै हुँदैन । 

अनि किन हरेक ४० सेकेण्डमा एक व्यक्तिले  जीवनमा आइपरेका समस्या र तनाव झेल्न नसकेर आफ्नै जीवन सिध्याउँछन् ? यति मात्र नभई प्रत्येक ४ जनामा १ जना जीवनको कुनै पनि अवस्थामा मानसिक रोगको शिकार हुन पुग्दछ  । यो तथ्याङ्क भौतिक विकास गरेर दैनिक जीवन सहज पारेको विज्ञानको सामु ठुलो चुनौती हो । 

हालैको एक प्रतिष्ठित पत्रकार सरोजराज अधिकारीको आत्महत्याको घटनाले धेरै नेपालीको मन झस्कायो । बाहिरबाट सफल जस्ता देखिएका सेलिब्रेटीले आत्महत्या गरेको यो पहिलो घटना भने होइन । यो बरियतामा यम बुद्ध, जेनी कुँवर, बलिउडका सुशान्त सिंह राजपूत र जिया खान जस्ता चर्चित सेलिब्रेटीहरु छन् । बाहिरबाट हेर्दा निकै कम उमेरमा सफलताको स्वाद चाखेका, समाजको निम्ति उदाहरण बन्न सक्ने  सम्भावना बोकेका व्यक्तिले किन आत्महत्या गर्छन् होला ? 

विज्ञानले गरेको विकासले मानिसको दैनिक जीवन पक्कै सहज पारेको छ । तर मानव मनलाई या भनौँ मानसिक अवस्था झन् अस्थिर पारेको छ । एकातिर हरेका काम छिटो छरितो बनाएको छ, जसले गर्दा हामीले परिश्रम र प्रतीक्षा गर्न बिर्सिसकेका छौ । हरेक उपलब्धि हामीलाई एक क्लिकमा चाहिन्छ । एक क्लिकमा मिलेन भने निराश हुन्छौ । नकारात्मक हुन्छौ । 

आत्मज्ञान बिनाको एकोहोरो भौतिक विकास भनेको ब्रेक नभएको गाडी गुडाएजस्तै हो । बाटोमा मोड आयो, उकालो ओरालो या अलिकति बिग्रेको बाटो आयो भने दुर्घटना हुन्छ  । 

जसरी गाडी गुडाउन गाडीमा ब्रेक, ब्रेकको ज्ञान र आवश्यक परेको बेलामा ब्रेक लगाउन सक्ने कला चाहिन्छ । त्यसरी नै जीवनमा प्रगति गर्न चाहने व्यक्तिले आवश्यक परेको बेलामा आफ्नो गतिमा ब्रेक लगाउन पनि जान्नुपर्छ । 

जीवनमा ब्रेक सत्यको ज्ञानबाट आउँछ । यस संसारमा कुनै पनि चिज शाश्वत छैन, यही हो चुरो सत्य  । यो कसैले नसुनेको, नदोहोराएको वाक्य भने होइन । सबैले सुनेको, दोहोराएको र हो जस्तो पनि लाग्ने, अरूलाई सल्लाह दिन काम लाग्ने तर समस्या परेका बेला आफूलाई काम नलाग्ने वास्तविकता हो यो  । 

यस संसारमा कुनै चिज पनि स्थिर छैन, समय परिस्थितिअनुसार बदलिरहन्छ । जान्यो भने हरेक समस्या समाधानको सूत्र हो यो । मान्छेले सुन्छ, दोहोराउँछ तर समस्या समाधान किन जान्दैन ?

मह गुलियो हुन्छ । यो सूचना हामीसँग भएर मात्र पुग्दैन । सुन्नेलाई गुलियो भनेको कस्तो हुन्छ, अनुभूति हुनु पर्दछ । अनुभूति शब्दबाट होइन, व्यवहारमा कार्यान्वयनबाट आउँछ । त्यसै गरी कुनै चिज शाश्वत छैन, सुनेर मात्र हुँदैन, होसपूर्ण अनुभूति हुनु पर्दछ ।  

होसपूर्ण जीवन यतिकै पाइँदैन । ध्यान र साधनाबाट आर्जन गर्नुपर्दछ । त्यसैले, ध्यान र साधना नभएको जीवनशैली ब्रेक नभएको गाडी हो,  जति बढी रफ्तार उति नै बढी दुर्घटनाको जोखिम ।   

ध्यान र साधनाबाट मात्र होश आउँछ । व्यवहारमा कार्यान्वयनबाट अनुभूति आउँछ । होश र अनुभूतिले  सत्यको ज्ञान यानि आत्म ज्ञान हुन्छ । आत्म ज्ञानले जीवनमा आइलाग्ने अनपेक्षित घटनाले ल्याउने तनाव तथा नकारात्मक विचारबाट मुक्ति दिलाउँछ । जहाँ जीवनमा तनाव र नकारात्मक विचार हुँदैन, जीवन रसपूर्ण हुन्छ । आनन्दित जीवन सुनेर, देखेर होइन, आर्जेर पाउने कुरा हो । 

धेरैजसो व्यक्तिहरू हामी रसपूर्ण जीवन जिउन चाहन्छौ तर ध्यानै गर्न सकिँदैन भन्छन् । हामी अहिले निकै अस्थिर र अस्वस्थ जीवन शैलीमा छौ, जुन स्थितिमा ध्यान गर्छु भनेर जबरजस्ती पलेटी कसेर मात्र उन्नयन हुँदैन । 

ध्यान लाग्न या भनौँ ध्यानमा जान कम्तीमा दुई आधारभूत कुराहरू पुरा गर्नु पर्दछ । ती हुन्, सन्तुलित भोजन र सन्तुलित शारीरिक परिश्रम । ध्यान गर्न चाहने व्यक्तिले सात्त्विक, रसिलो, कम प्रोसेस गरिएको र आवश्यक मात्रामा मात्र भोजन ग्रहण गर्नु पर्दछ । 

त्यसै गरी सिधै पलेटी कसेर बसी ध्यान गर्छु भनेर हुँदैन । ध्यानमा जानको लागि हाम्रो शरीरमा सबैतिर अक्सिजनको प्रवाह पर्याप्त मात्रामा पुगेको हुनुपर्दछ । यसको लागि सम्यक् मात्रामा शारीरिक कसरत गरेर ध्यानमा बस्नु पर्दछ । शारीरिक कसरत कम भयो भने जबरजस्तीको ध्यानले शक्ति सङ्ग्रह भई टाउको दुख्ने लगायतका समस्या देखिन सक्छ ।  

त्यसै गरी होसपूर्ण जीवनको लागि साधना पनि उत्तिकै महत्त्वपूर्ण छ । साधनामा मुख्यतः तीन कुराहरू पर्दछ, जसमा स्वीकार भाव राख्ने, आवश्यक कर्ममा मात्र सक्रिय हुने र जे छ त्यसप्रति अहोभाव राख्ने । 

जे भइरहेको छ वा भयो त्यसप्रति कुनै गुनासो मनमा नरहनु स्वीकार भाव हो । अर्को शब्दमा स्वीकार भाव भनेको यो हुनुपर्ने भएन या त्यो नहुनुपर्ने भयो भनी एक ठाउँमा अड्केर नबसी, जे भयो राम्रो भयो वा जे भयो राम्रोका लागि भयो भनी अगाडी बढ्नु हो । 

साँचो स्वीकार भावमा हामीलाई कसैले अन्याय गर्यो भन्ने लाग्यो तर त्यस व्यक्तिप्रति मनमा प्रतिशोध भाव आउँदैन । जीवनमा केही घटनाहरू अनुकूल हुन्छन्, केही घटनाहरू प्रतिकुल पनि हुन्छन् । अनुकूल घटनालाई धन्यवाद दिएर प्रतिकुल घटनाबाट शिक्षा लिएर अगाडि बढ्नु पर्दछ । 

याद रहोस्, हाम्रो जीवनमा अधिकांश तनाव गर्नुपर्ने काम नगरेर भन्दा पनि नगर्नुपर्ने काम गरेर हुन्छ । बोल्नुपर्ने कुरा नबोलेर भन्दा पनि नबोल्नु पर्ने कुरा बोलेर सिर्जना हुन्छ । 

तसर्थ, कुनै पनि कर्ममा सक्रिय हुनुअघि केही बोल्नु अघि यो आवश्यक छ कि छैन भनी आफैसँग प्रश्न गरी साँच्चै नै आवश्यक कर्ममा मात्र सक्रिय हुनुपर्दछ । अनावश्यक कृत्य एकातर्फ अनावश्यक तनावको सिर्जना गर्दछ भने अर्कोतर्फ आवश्यक कृत्यको लागि समय पुग्दैन । आवश्यक कृत्यमा मात्र सक्रिय रहनु पनि महत्त्वपूर्ण साधना हो । 

आजको दिनमा हामीसँग जे छ, त्यसप्रति अहोभाव राख्नुपर्दछ । हामी जन्मेको रित्तै हो, जे कमायौ यही कमायौ । जति गुमाउँदा पनि हामी नाफामै हुन्छौ । त्यसकारण हरेक क्षण कृतज्ञ हुने अभ्यास गर्नुपर्दछ । स्वीकार भाव राख्ने आवश्यक कर्ममा मात्र सक्रिय हुने र जे छ, त्यसप्रति अहोभाव राख्ने जस्ता साधनाले मानिसमा सकारात्मक दृष्टिको विकास गर्दछ । 

जीवन रसपूर्ण बनाई आनन्दित जीवन बाँच्ने कि बिरसिलो बनाई तनावपूर्ण जीवन बाँच्ने हाम्रो आफ्नै छनौटको कुरा हो । जीवन रसपूर्ण बनाउँछु भनेर मात्र पनि  हुँदैन । होसपूर्ण दैनिकी र सत्यको अनुभूति हुनु पर्दछ ।  होसपूर्ण जीवन र सत्यको अनुभूति ध्यान र साधनाबाट आउँछ । रसिलो जीवनका लागि निष्ठापूर्ण चेष्टा गर्ने हो भने अलिकति पनि समय नगुमाई आजैबाट दैनिकीमा ध्यान र साधना समावेश गर्नु श्रेयकर हुन्छ ।  

लेखिका ओशोधारा मैत्री संघकी आचार्य हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माँ आनन्द मन्जु
माँ आनन्द मन्जु
लेखकबाट थप