शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा सडक दुर्घटनाको अवस्था चिन्ताजनक, ५ महिनामा ५७ जनाको मृत्यु

बुधबार, ०६ पुस २०७९, १५ : ०३
बुधबार, ०६ पुस २०७९

पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डमा रोकीराखेको मालवाहक ट्रकमा ठोक्किएर आइतबार साँझ २ जनाको घटनास्थलमै मृत्यु भयो भने एक जना गम्भीर घाइते भए । रोकीराखेको ट्रकमा प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएपछि त्यसमा सवार रौतहट गुजरा नगरपालिका ३, सिम्रीकाका २६ वर्षीय भुवन पहरी र २७ वर्षीय रीतबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार पनि सोही सडकखण्डमा निजगढ नगरपालिका १, सिंगोलका स्थानीय समाजसेवी तथा एमाले नेता ४८ वर्षीय भोलाप्रसाद तिमिल्सिनाको मृत्यु भयो । पूर्वतर्फ जाँदै गरेको ना६ख २२६१ नम्बरको मालवाहक ट्रकमा विपरित दिशाबाट आउँदै गरेको ना३४प ८३३१ नम्बरको मोटरसाईकल ठोक्किँदा टाउकोमा गम्भीर चोट लागेका तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यी दुई दुर्घटना उदाहरणमात्रै हुन् । पछिल्लो समय बारामा दुर्घटना र त्यसबाट हुने मृत्युदर बढ्दो छ ।

गत असोज २० गते दसैँको टीका लगाउन चितवन खैरहनीबाट अम्लेखगञ्जस्थित मामाघरमा आमासँगै आएका सफल आचार्यको पथलैया–अम्लेखगञ्ज सडक खण्डको ३ नम्बर पुलमा भएको दुर्घटनामा मृत्यु भयो । सो दुर्घटनामा सफलकी आमा अम्बिका आचार्यसँगै १४ जनाले घटनास्थलमा र ४ जनाको उपचारको क्रममा मृत्यु भयो । अम्लेखगञ्ज–पथलैया र पथलैयादेखि निजगढ सडक खण्डमा यस्ता दुर्घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको ५ महिनामा बारा जिल्लामा मात्रै ५७ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका अनुसार चालु आर्थिक वर्ष यता मंसिरसम्ममा बारामा ३२ जना पुरुष, १८ जना महिला, ३ बालक र ४ बालिकाको सवारी दुर्घटनामा मृत्यु भएको हो । पछिल्लो ५ महिनामा सडक दुर्घटनाकै कारण मधेस प्रदेशका ८ जिल्लामा २४० जनाले ज्यान गुमाएका छन् । अम्लेखगञ्जदेखि निजगढसम्मको करिब ४० किलोमिटर सडकखण्ड पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

बिग्रिएको कालोपत्रे र २ लेनको साँघुरो सडक खण्डमा २४ सै घन्टा पेट्रोलियम पदार्थ, ग्याँस बोकेका ट्ंयाकर र ठुला मालवाहक सवारी साधनको अत्यधिक चाप हुने गर्दछ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले राति जंगल क्षेत्रमा सडक बत्ती पनि नहुने र राजमार्गमा सवारी साधन रोकेर राख्दा दुर्घटनाको जोखिम अत्याधिक रहेको बताएका छन् ।

यसअघि २०७५ माघ १२ गते पथलैया–निजगढ सडक खण्डमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएर सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको घटनास्थलमै र बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको उपचारको क्रममा मृत्यु भएको थियो । यो बिचमा सयौं सर्वसाधारणले यो सडक खण्डमा दुर्घटनाका क्रममा ज्यान गुमाइसकेका छन् ।

जंगल क्षेत्रमा सडकबत्ती नहुँदा रातको समयमा तीब्र गतिका कारण र कतिपय चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । राजमार्ग ट्राफिक कार्यालयले दुर्घटनालाई न्युनीकरण गर्न पछिल्लो समय सार्वजनिक सवारी साधनका चालकमा मापसे चेकजाँच गर्ने, ठाँउठाँउमा ‘गति सीमित’ उल्लेख गरिएका सचेतनामुलक बोर्डहरु राख्ने काम गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सूर्य खड्काले सडक डिभिजन कार्यालयले बाटो नबनाउँदा असाध्यै समस्या भएको बताए । ‘निकुञ्ज क्षेत्रभित्र सडक बत्ती राख्ने विषयमा अहिले त्यस्तो कार्यक्रम हामीसँग छैन तर अगामी दिनमा यो विषयमा सरोकारवाला निकायसँग छलफल गर्न सकिन्छ तर तत्कालका लागि सडक कार्यलयले बिग्रेका ठाउँहरुमा मर्मतसम्भार गरिदिनु पर्छ,’ खड्काले भने ।

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले हेटौंडा–पथलैया सडकखण्डको २ र ३ नं पुल क्षेत्रमा मर्मत सम्भारको काम भइरहेको र बाँकी क्षेत्रमा बिग्रिएको कालोपत्रे कटानको काम गरिने बताएका छन् । उनले भने, ‘अहिले केही भागमा मर्मत सम्भारको काम भइरहेको छ भने अम्लेखगञ्ज क्षेत्रमा ठेक्काको सूचना सार्वजनिक गरेर सम्झौताको काम बाँकी छ, पर्सा निकुञ्ज क्षेत्रमा बिग्रिएको कालोपत्रे काट्ने काम बेला बेला गरे पनि प्रभावकारी नभएर अलि समस्या सिर्जना गरिरहेको छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप