जसपामा संसदीय दलको नेता चयन गर्न समिति गठन
शनिबार, ०९ पुस २०७९, १४ : ३२

जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेका छन् । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको छ, त्यसैका लागि विधानतः यो समिति गठन गरेको हो ।
उनले भने, ‘सम्भवतः सहमतिमा नै नेता चयन हुनेछ तर विधानअनुसार प्रक्रिया पुरा गर्नका लागि यो समिति गठन गरिएको हो ।’ जसपा नेपालसँग सातजना प्रत्यक्ष र पाँचजना समानुपातिक गरी १२ जना सांसद रहेका छन् । संसदीय दलका नेताका लागि अशोक राई, राज किशोर यादव, रामसहाय यादव, नवलकिशोर साह आकाङ्क्षी रहेका छन् । उनीहरूको बीचमा सहमति जुटाउने प्रयास हुनेछ । नभए लोकतान्त्रिक प्रक्रियाबाट टुङ्गो लगाइएको स्रोतले जनाएको छ ।