सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिमीले पराई ठानेपछि..’लाई जब सबैले आफ्नो ठाने, बन्यो माइलस्टोन

‘हवाइ यात्रामा यो गीतको संगीत सिर्जियो’: सन्तोष श्रेष्ठ
आइतबार, १० पुस २०७९, १० : ०३
आइतबार, १० पुस २०७९

तिमीले पराई ठानेपछि, पराई हुन के भयो र
तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र
आखिर डाँडा काट्नु रैछ, त्यो मन अन्तै साट्नु रैछ​

लोकराज अधिकारीको शब्द, सन्तोष श्रेष्ठको संगीत अनि फिमेलमा  अञ्जु पन्त तथा  मेलमा  शिशिर योगीको स्वर रहेको गीत सदावहार चर्चामा छ । १४ वर्षअघि बजारमा आएको यो गीत प्रेमपीडाले भरिएको छ । आफूले माया गरेको ब्यक्तिले आफ्नो माया लत्याएर अन्त सम्बन्ध बनाएको वेदना गीतले समेटेको छ । यो गीतले प्रेममा धोका खाएकाहरुको प्रतिनिधित्व गर्छ ।

नेपाली गीतसंगीतको क्षेत्रमा वर्षेनी हजारौ गीत भित्रिन्छ । तर कालजयी कमै हुन्छन् । त्यही कालजयी गीत मध्येको एक गीत हो यो । विशेष गरी टिनयजर्स, माया प्रेममा रमाउनेहरुको रोजाइको गीत हो यो । मेल, फिमेल दुबै भर्सनमा रुचाइएको यो गीत मेल भन्दा फिमेल भर्सन बढी लोकप्रिय भएको सुनाउँछन् संगीतकार सन्तोष श्रेष्ठ ।

गीतको संगीत, एरेन्ज सबै एउटै हो । तर मेल भन्दा फिमेल बढी सुनियो’ संगीतकार श्रेष्ठले भने, ‘तत्कालीन समयको सिआरबिटी, आरबिटीदेखि अहिलेको युट्युवमा पनि फिमेल भर्सन नै अगाडि छ ।’ म्युजिक भिडियो पनि फिमेल भर्सनकै बनेकोले प्राथामिकता पाएको हुन सक्ने उनको अनुमान छ ।

संगीतकार श्रेष्ठको विचारसँग गीतकार लोकराज अधिकारी पनि सहमत छन् । उनी पनि मेल भर्सनको म्युजिक भिडियो नबनेकोले फिमेल भर्सन जसरी अगाडि आउन नसकेको स्वीकार्छन् । ‘शिशिर योगी दाईको स्वर नै जादुमय छ । त्यसैले मेल भर्सनमा राम्रो नभएको होइन, अधिकारीले भने, ‘दुबै भर्सन अलटाइम हिट हो । चर्चा मात्र घटीबढी जस्तो लाग्छ ।’

संगीतको भाषामा यो गीत करुवा ताल र एफ सार्क (हाइ) स्केलमा छ । यो स्केल पुरुष गायकका लागि उत्कृष्ट मनिएपनि महिलाको लागि भने होइन । ‘हाइस्केलमा पनि अञ्जुले मजैले गाउनुभयो । त्यसैले पनि गीत चमत्कारी बन्यो, श्रेष्ठले थपे ।

अनि जुर्‍यो प्लेनमै संगीत

गीत तब राम्रो बन्छ, जब त्यसमा संगीतले प्राण भर्छ । यसमा प्राण भर्ने काम सन्तोष श्रेष्ठले गरेका हुन् । श्रेष्ठले साथीबाट फ्याक्समार्फत् प्राप्त गरेको यो गीतमा गीत पाएको ४ वर्षपछि मात्र संगीत भरेका थिए ।

जतिबेला उनले यो गीत प्राप्त गरे, त्यो समय उनी लोकगीत संगीतमा रमाउँथे । उनको दैनिकी ठमेलको रेष्टुरेन्टमा लोकदोहोरी गाउँदै बित्थ्यो । आधुनिक संगीतको बजारमा पनि अहिले जस्तो थिएन । दरबारमार्ग, ठमेल, लाजिम्पाट सबै भिआइपी एरियामा लोकदोहोरीले प्राथामिकता पाउँथ्यो । त्यसैले, यो गीत तुरुन्तै प्राथामिकतामा परेन ।

उनलाई त्यसबेला गीत ठिकठिकै लाग्यो । शब्दले पनि त्यति मन छुन सकेन । त्यसैले ४ वर्ष गीत त्यतिकै राखे । एकदिन रेष्टुरेन्टमा गाउने सिलसिलामा उनले एक ब्यक्ति भेटे, जसले उनलाई बहराइन कार्यक्रमको अफर दिए ।

कुराकानी भएको एक सातामा उनी बहराइन उडे । त्यो उनको पहिलो हवाइयात्रा थियो । अलिअलि डर, अलिअलि उत्साहका साथ प्लेन यात्रामा उनले भ्यालबाट बाहिर नियाले । बाहिर हेर्दा बादलमाथि प्लेन उडेको, बादल फाटेको देखे । त्यो समय उनलाई लोकराजको गीतमा भएको शब्द डाँडा काटेको, बादल फाटेको याद आयो । गीतमा थिए, ‘बादल जस्तै फाट्नु रैछ, आखिर डाँडा काट्नु रैछ ।’ झ्यालबाट आफूले नेपालका डाँडाकाँडा काट्दै गरेको नियाल्दै प्लेनभित्र गीतको संगीत गरे ।

संगीत कुनै बजारमा बसेर बनाउँछु भनेर आउने कुरो होइन, त्यसका लागि सबैभन्दा ठुलो कुरो वातावरण रहेछ’ उनले भने, ‘मैले पनि यो गीतको धुन प्लेनमै बनाएँ ।’ कार्यक्रमबाट फर्किएपछि उनले गीतकार अधिकारीलाई बोलाए । प्लेनमा बनाएको संगीत सुनाए । गीत बनाउने बिषयमा दुबैबीच छलफल भयो । गीत राम्रो हुन्छ भन्ने दुबैले निश्कर्ष निकाले ।

प्लेनको यात्रामा यो गीतको संगीत निस्किएको हो । त्यो यात्रा नभएको भए यो गीत सिर्जना हुँदैन थियो होला, श्रेष्ठले थपे ।

गीतकार अधिकारीका अनुसार यो गीत उने यसअघि यादव योगी, कृष्ण रेउलेलाई पनि संगीत गर्न दिएका थिए । ‘योगी र रेउलेले गीत रेकर्ड गर्नुभएन, त्यही भएर सन्तोष सरलाई दिएको थिएँ, अधिकारीले भने, ‘आखिर सन्तोष सरको मीठो संगीत भरिनु लेखेको रहेछ ।’

लोकदोहोरीमा काम गर्दै गरेको उनलाई यो गीत त्यो समय फलामको चिउरा चपाए सरह थियो । ‘रिक्स मोलेर काम गरेको थिएँ । यसले मेरो पाइला आधुनिक संगीतमा मोडिदियो’ अधिकारीले सुनाए ।

प्रेमपीडा नै हो गीत

प्रथमतः गीत राम्रो हुन शब्द नै उत्कृष्ट चाहिन्छ । अनिमात्र त्यसलाई संगीत र स्वरले सिंगार्ने हो । यो गीतको शब्द धेरैले उत्कृष्ट मानेका छन् । जतिबेला अधिकारीले गीत लेखे, त्यो समय उनी उमेरले अल्लारे र लेखनको बचपन (सुरुवात)मा थिए । तर पनि शब्द निकै गहन छन् । अधिकारीले गीतका शब्द गजलको रुपमा २०६१/०६२ मा फुरेको बताए ।

२०५८ सालबाट दाङको रेडियो स्वर्गद्वारीमा कार्यक्रम संचालको रुपमा जोडिएका अधिकारीले २०६० मा नयाँ गजल कार्यक्रम ‘गीताञ्जली’ सुरु गरे । उक्त कार्यक्रममा उनी बाहिरबाट प्राप्त गजल बाचन गर्थे । त्यही सिलसिलामा कहिलेकाहीँ बोनस गजल भन्दै आफै लेखेर सुनाउँथे । त्यही क्रममा लेखिएको थियो, गजल ‘तिमीले पराई ठान्छौ भने, मलाई छोडी जान्छौ भने’ ।

रेडियोमा बाचन भएको उक्त गजल थुप्रैले रुचाए । धेरैले गजललाई गीत बनाउन सुझाए । ती मध्यका एक थिए, उनका साथीसमेत रहेका संगीतकार यादव योगी । त्यही भएर अधिकारीले योगीसँगै बसेर गजललाई केही परिमार्जित गर्दै नयाँ गीत बनाए, ‘तिमीले पराई ठानेपछि ...’ ।

गीतमा प्रेमपीडा अलिकति मेरो आफ्नै भोगाई हो, अलिकति देखेको बिषय लेखनमा समेटे, गीतकार अधिकारीले भने, ‘प्रेमपीडा भएको कारणले पनि गीत यति धेरै हिट भएको होला ।’

यसमा यस्तो प्रेमपीडामा छ, जसले सबैको मन छुन्छ, संगीतकार श्रेष्ठले पनि भने, ‘गीतकारले कसको पीडा उतार्नुभयो थाहा भएन, मानिसको सत्यतासँग भने नजिक भएको मलाई लाग्छ ।’

यस कारण अञ्जुको स्वर

शब्द र संगीतले मात्र गीत कहाँ पुरा हुन्छ र ? त्यसका लागि स्वरको जादु पनि चाहिन्छ । त्यसैले, गीतकार अधिकारी र उनी गायक गायिकाको खोजीमा लागे । गीतकार अधिकारीले अञ्जु पन्तको कुरो गरे । अञ्जु त्यो समय भर्खर गायनमा प्रवेश गरेकी थिइन् । उनको ‘आउँछु भनी निष्ठुरीले’ राम्रै सुनिन थालिएको थियो ।

गीतकार अधिकारी गाउन अञ्जुलाई दिनुपर्छ भन्थे । संगीतकार श्रेष्ठ भने संगीतको हिसावले डराएका थिए । किनभने कसैको गायनमा कुनै शब्द संगीत नसुहाउने पनि हुन्थ्यो । अर्काे कुरो उनलाई स्टुडियोमा बोलाएर गायक गायिकालाई भ्वाइस नमिलेर फर्काउन मन लाग्दैन थियो ।

आज भन्दा मानिसले अञ्जु जतिको गायिकालाई के अन्डरस्टिमेट गरेको भन्लान्, उनले भने, ‘तर त्यो समय अञ्जुको सुरुवातको समय थियो । त्यसैले कता कता कफ्युजनमा थिएँ म ।’

गायिकाको खोजीमै थिए दुबै । रेष्टुरेन्टमा लोकदोहोरी गायन पनि चल्दैथियो । रेष्टुरेन्ट जाने क्रममा बागबजारमा सगरमाथा डिजिटलका हीरा केसीसँग उनको लगातार भेट हुन थाल्यो । भेटमा केसीले उनलाई आधुनिक एल्बम बनाउन कर गर्न थाले । एल्बमका लागि धेरै पैसा लाग्ने भनेर उनी तर्किन खोजेका थिए । केसीको करको अगाडि उनको केही लागेन ।

यही क्रममा एकदिन यो गीतको धुन केसीलाई सुनाए । केसीले धुन सुन्ने बितिक्कै धेरै राम्रो हुन्छ रेकर्ड तत्कालै गरिहालौ भने । गीतको एरेन्ज हेमन्त शिशिरले तुरुन्तै गर्दिए । गीतकार अधिकारीमार्फत् गायिका अञ्जु पन्तलाई बोलाएर गीत रकेर्ड भयो ।

पहिले कसले गाउने भनेर संगीत तयार गरियो भने शब्द, संगीत खुम्चिन्छ । किनभने त्यो समय दायरामा रहेर काम गर्नुपर्छ, उनले भने, ‘गीतमा संगीत मज्जैले गरेर गाउन लगाएकोले उत्कृष्ट भयो ।’

अञ्जु अगाडि अन्जना गुरुङ हुन्छ कि भनेर हामीले सोचेका थियौ, गीतकार अधिकारीले भने, ‘अञ्जु भर्खर आएकी र म पत्रकारले भनेपछि केही पारिश्रमिक कम हुने हिसावले उनलाई रोजियो ।’ यो गीत आफ्नो, गायिका अञ्जु र संगीतकार श्रेष्ठको अहिलेसम्मकै सफल गीतमा पर्ने अधिकारीले सुनाए । भने, ‘यो गीत संगीत क्षेत्रकै माइलस्टोन भयो ।’ गीतले गीतकार अधिकारी, गायिका अञ्जु र एरेन्जर हेमन्त शिशिरको अलावा संगीतकार श्रेष्ठलाई समेत प्रसिद्ध बनाएको उनको बुझाइ छ ।

यो गीत अगाडि सन्तोष श्रेष्ठ संगीतकार भन्ने कसैलाई थाहा पनि थिएन, उनले खुसी साटे, ‘त्यसपछि मेरो पाइला आधुनिक संगीत तिर मोडियो ।’ गीतले एउटा इतिहास बनायो, त्यसपछि उनी, गीतकार अधिकारी अनि गायिका अन्जुलाई नाम, दाम र कामको खाँचो कहिल्यै भएन ।

गायिका अञ्जु पन्त अहिले अमेरिकामा रहेकाले गीतको बिषयमा उनको कुरा राख्न सम्भव भएन ।

अञ्जुको स्वरमा आएको करिव ७ दिनको अन्तरालमा मेलमा शिशिर योगीको स्वरमा गीत रेकर्ड भयो ।

एउटै गीत किन दुई भर्सनमा ? ‘अञ्जु नयाँ गायिका थिइन् । उनको स्वरमा गीत चलेन भने सेफ्टीका लागि शिशिर दाईको स्वरमा रेकर्ड गराएका थियौ, श्रेष्ठले भने, ‘पुरुष भर्सनमा गीत रेकर्ड हुनुको अर्काे कारण एल्बम पुरा गर्नु पनि हो ।’

त्यो समय अहिले जस्तो एक गीत निकाल्ने चलन थिएन । १० वा ८ गीतको एक एल्बम ल्याउनुपथ्र्याे । यो गीत उनले ‘साधना’ एल्बममा राखेका थिए । योसहित एल्बमका लागि ७ गीत तयार थिए । एक गीत यसैलाई पुरुष भर्सनमा रेकर्ड गर्ने गीतकारसँगको सल्लाहअनुसार त्यसो गरिएको थियो ।

अर्काे कारण कसैलाई मेल र कसैलाई फिमेल भर्सन मनपर्छ भनेर पनि थियो । एल्बममा गीतको संख्या पनि बढ्ने, मेल फिमेल दुबैको आनन्द पनि श्रोताले लिन सक्ने सोचले गीत बनेको उनले जानकारी दिए ।

गीतको मेल भर्सन गायक शिशिर योगीलाई गाउन लगाउन सजिलो थिएन । एक त उनी सिनियर गाएका थिए, त्यसमा माथि अर्काेले गाएको गीत दिनु गाउनु भन्दा रिसाउने, नगाउने सम्भावना बढी हुन्थ्यो । त्यसैले, ढाँटेर शिशिरलाई गाउन लगाइएको थियो ।

शिशिर योगी हाम्रो आदरणीय दाई हुनुहुन्छ । उहाँ दाङदेखुरीकै दाई भएकोले गीतकार लोकराज र मैले सल्लाह गरेर ढाँटेर अञ्जुले गाएको जानकारी नगराई गीत गाउन लगायौ, श्रेष्ठ अगाडि भन्दै थिए, ‘त्यतिबेला फेसबुकम अहिलेजस्तो सूचना नभएकोले थाहा पाउनु भएन । । पछि थाहा पाएपछि दुबै राम्रो भएछ भनेर भनेको सहज प्रतिक्रिया दिएको उनले सुनाए ।

गीतकार लोकराजले पनि श्रेष्ठको कुरामा सहमति जनाए । ‘थाहा पाएपछि दाई रिसाउनु हुन्छ होला भन्ने लागेको थियो । तर सहज रुपमा लिनुभयो’ अधिकारीले भने, ‘त्यो उहाँको महानता हो ।’

गायक शिशिर योगी पनि गीत दुबै भर्सनमा राम्रो भएको बताउँछन् । मैले गाएको यो गीत फिमेल भर्सनमा एउटै एल्बममा रहेछ । त्यो राम्रो हो, जसलाई जुन भर्सन मनपर्छ त्यो सुन्न पाए ।   

गीतको फिमेल भर्सनको भिडियो पनि बनेको थियो । जसमा निशा अधिकारी, कुमेस र ऋचाको अभिनय थियो । त्यो समय शिशिर योगीले फिमेलजस्तै मेल भर्सनमा पनि भिडियो बनाउन सुझाएका थिए । विभिन्न कारणले त्यो बेला भिडियो बन्न सकेन ।

एल्बमका अन्य गीतको भिडियो बनाउन बाँकी भएकोले त्यो गर्ने आँट न उनले गरे, न कम्पनीले । मेल भर्सन अलि ओझेल परेको त्यही कारण हो कि जस्तो लाग्छ अधिकारी र श्रेष्ठलाई।

तगडा मार्केटिङ

गीत लेख्नु, संगीत गर्नु र रेकर्ड गर्नु अर्काे पाटो हो । गीत सफलताका लागि मार्केटिङसमेत राम्रो हुनु जरुरी छ । त्यो राम्ररी बुझेका थिए उनले । त्यसका लागि उनले धेरै मिहिनेत गर्नुपरेन । गीत रेकर्डिङ भएको प्रिज्मा स्टुडियोमा त्यो समय संगीत ब्यवसायको राम्रो जमघट हुन्थ्यो । गीत मिक्सिङ गर्दै गर्दा गीत सबैको कानमा एक पटक पर्यो । सुन्ने सबैले गीत हिट हुन्छ भन्ने । तर श्रेष्ठलाई आफूले गरेको सामान्य लाग्थ्यो । त्यसैले यसलाई भिडियो बनाएरै बजारमा पठाउने कुरो गरे ।

त्यसका लागि सगरमाथा म्युजिकले लगानी गर्ने भयो । भिडियो निर्देशकको रुपमा प्रसन्न पौडेल भित्रिए । ‘निर्देशक प्रसन्नले पहिलो भेटमै गीत हिट हुन्छ भनेर भनेका थिए ।’

नभन्दै पौडेलले निशा अधिकारी, मुकेश र ऋचालाई अभिनय गराएर भिडियो उत्कृष्ट बनाइदिए । यो गीतको भिडियोसँगै उनको एल्बम ‘साधना’ तयार भयो । भिडियोको प्रोमो बनाएर टेलिभिजनमा प्रचार गरियो । गीत रेडियो, एफएममा दिइयो । पत्रपत्रिकामा पनि गीतको समाचार छाए ।

सबैतिर चर्चा भएपछि पहिलो चरणमै एल्बमको १३ हजार रिल चक्का र ७ हजार सिडी निस्कियो । त्यो समय ३ हजार अडियो बिक्न समेत मुस्किल हुन्थ्यो । त्यो समय डिजिटल युग भित्रिसकेकाले चक्का र सिडी कहाँ बिक्छ भन्ने लाग्थ्यो, उनले भने, ‘पहिले निकालेको नपुगेर पटक पटक निकाल्नु पर्यो ।’ एल्बमको कभरमा संगीतकर श्रेष्ठको फोन नम्बर पनि लेखिएको थियो । त्यो नम्बर हेरेर अमेरिका, अष्ट्रेलियालगायत देश विदेशका बिभिन्न ठाउँबाट संगीतको अफरको उनलाई ओइरो लाग्यो । कामको अफर मात्र होइन, मिडियामा पनि चारैतिर प्राथामिकतामा पर्न थाले । त्यही सिर्जनाको कारण अहिले पनि उनी चिनिदैछन् ।

जिन्दगीमा पहिलो पटक बनेको बलियो सिर्जनाबाट उत्रिन नसकिने रहेछ, संगीतकार श्रेष्ठ भन्छन्, ‘त्यो गीतको क्रेडिट अहिले पनि खाँदैछु । अहिले पनि धेरैले मलाई मात्र होइन, गायिका अञ्जु, गीतकार लोकराजलाई यही गीतले चिन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप