बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बालनाटक: मान्छे

मङ्गलबार, १२ पुस २०७९, ११ : ४७
मङ्गलबार, १२ पुस २०७९

स्थान:– कुनै सामुदायिक विद्यालय

समय:– अपराह्न तीन बजे

पात्रहरू:–

१, गुरुआमा (नैतिक शिक्षा शिक्षिका वर्ष ३०

२, प्रभात र सुभाष १० वर्षीय छात्रहरू

३, निहारिका र सुस्मिता १० वर्षीया छात्राहरू र केही विद्यार्थी

मञ्चमा गुरु आमा र कक्षा पाँचका १५।१६ जना छात्रहरू देखा पर्छन् । गुरु आमा बीचको कुर्सीमा र छात्रछात्राहरू वरिवरि बसेका हुन्छन् ।

गुरु आमा:– बाबु नानी हो ! आज के विषयमा पढ्ने भन त ।

प्रभात:– कुनै नाटकका बारेमा पढौँन गुरुमा !

गुरु आमा:– कुरा त ठीकै हो तर साथीहरूको विचार के छ कुन्नि ? (बाँकी विद्यार्थीहरूको विचार बुझ्न खोज्दै)

विद्यार्थीहरू:– हो गुरु आमा ! हामीलाई पनि नाटक नै मन पर्छ ।

गुरु आमा:– त्यसो हो भने भनन त कुन नाटक पढ्ने ?

सुभाष:– मान्छेको बारेमा पढौँ हुन्न ?

विद्यार्थीहरू:– हुन्छ, हुन्छ, यसै बारेमा पढौँ

गुरु आमा:– मान्छे कति किसिमका हुन्छन् थाहा छ ?

विद्यार्थीहरू: छैन गुरु आमा !

गुरु आमा:– त्यसो हो भने सुन मान्छे सात किसिमका हुन्छन् ।

निहारिका:– त्यो भनेको के हो गुरु आमा ! मान्छे एकै किसिमका हुन्छन् होइन र ?

गुरु आमा:– हुँदैनन् बाबु नानी हो ! हुँदैनन्

सुस्मिता:– होचो, अग्लो, कालो, गोरो, मोटो, दुब्लो हुन्छन् भन्न खोज्नु भएको हो ?’

गुरु आमा:– होइन ।

विद्यार्थीहरू– त्यसो भए के हो त गुरु आमा !

गुरु आमा:– यही कि सात किसिमका स्वभाव भएका हुन्छन् भनेको नि ।’

प्रभात:– यस्ता स्वभावमा केके पर्छन् त गुरु आमा ।

गुरु आमा:–  यिनमा एक थरी मानिस यस्ता हुन्छन्, जसले आफूलाई हानि हृुने भए पनि वास्ता नगरी अरूलाई लाभ हुने काम गर्छन् । यस्ता मानिस संसारकै सर्व श्रेष्ठ मानिसमा पर्छन् ।

सुभाष:– अनि दोस्रो किसिमका मानिस कस्ता हुन्छन् नि गुरु आमा ?

गुरु आमा:– जसले आफूलाई हानि नहुने गरी अरूलाई फाइदा हुने काम गर्छन् त्यस्ता मानिस दोस्रोमा पर्छन् । अर्थात् यस्ता मानिस दोस्रो दर्जाका हुन्छन् । 

निहारिका:– तेस्रो किसिमका मानिस नि गुरु आमा !

गुरु आमा:– जसले आफूलाई मात्र फाइदा हुने कुराको चिन्ता गरी अर्काको वास्ता गर्दैनन् त्यस्ता मानिस तेस्रो दर्जामा पर्छन् ।

सुस्मिता:– चौथो दर्जामा पर्ने मानिस कस्ता हुन्छन् नि गुरु आमा !

गुरु आमा:– जसले आफूलाई फाइदा हुने देखेपछि अर्कालाई नोक्सानी हुने देखेर पनि वास्तै नगरी काम गर्छन् यस्ता मानिस चौथो दर्जामा पर्छन् ।

निहारिका:– पाँचौँ दर्जाका मानिस कस्ता हुन्छन् नि गुरु आमा !

गुरु आमा:– जुन मानिस आफूलाई फाइदा हुने भएपछि अर्कालाई नोक्सानी हुने काम गर्न पनि पछि पर्दैनन् यस्ता मानिस पाँचौँ दर्जामा पर्छन् ।

सुभाष:– छैटौँ दर्जामा पर्ने मानिस नि ?

गुरु आमा:– जसले जानीबुझीकनै अरूलाई नोक्सानी हुने काम गर्ने गरेका छन् यस्ता मानिस छैटौँ दर्जामा पर्छन् ।

प्रभात:– अनि सातौँ दर्जामा पर्ने मानिस नि गुरु आमा !

शिक्षिका:– जसले आफूलाई हानि गरेर भए पनि अरूलाई हानि पु¥याउने काम गर्ने गरेका छन् वा हुन्छन् यस्ता मानिस सातौँ दर्जामा पर्छन् । यस्ता मानिस साह्रै निच स्वभावका मानिन्छन् । त्यसैले सदैव अरूको हित र समुन्नति सोच्नुपर्छ । जसले अर्काको हानिमा आफ्नो लाभ र अर्काको लाभमा आफ्नो हानि देख्छन् उनीहरू दुवै अभागी हुन् । जहाँ अर्काको लाभ हुन्छ त्यहाँ आफ्नो हानि हुने सम्भावना नै हुँदैन ।

विद्यार्थीहरू:– यस्तो कसरी हुन्छ र गुरु आमा !

गुरु आमा:– हुन्छ नि किन हुन्न ? अरूको हित गर्ने, हित चाहने मानिसलाई स्वभावैले अरूले पनि त हित गर्छन्, हिच चाहन्छन् नि ।

विद्यार्थीहरू सामुहिक स्वरमा:– गर्छन् भन्ने के ग्यारेन्टी छ र गुरु आमा !

गुरु आमा:– किन छैन ? संसार यस्तो बगैँचा हो जहाँ जे रोपिएको छ त्यही फल्छ । तिमीहरूले अरूलाई जे दिएका हुन्छौ त्यही फिर्ता गर्छन् होइन र ?’

विद्यार्थीहरू सामुहिक स्वरमा:– त्यो त हो ।

गुरु आमा:– संसार पनि त्यस्तै हो । तिमीहरूले अरूको उपकार गर्ने गरेका छौ भने अरूले पनि त्यस्तै गर्छन् । एउटा सामान्य फलफूलको बोटलाई त स्यहार सुसार ग¥यौ, समयमा मलजल गर्ने ग¥यौ भने मीठा फलफूल दिन्छन् भने मानिसले नगर्ने प्रश्नै आउन्न बुझ्यौ ?

विद्यार्थीहरू सामुहिक स्वरमा:– बुझ्यौँ गुरु आमा !

यत्तिकैमा समय सकिएकाले सबै घरतिर लाग्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप