ज्ञानगुनका कुरा : समस्याबाट भाग्ने होइन सामना गर्ने प्रयास गर्नुपर्छ
१, भाग्यमा छ भनेर हात बाँधेर बस्ने र भगवान्ले दिन्छन् भन्ने आशमा बाँच्ने काम अल्छीले मात्र गर्छ । पौरखी मानिस त्यसरी बस्दैन¸बस्नुहुँदैन । किनकि भाग्य भनेको आफैँ हुने नभई आफैँले बनाउने हो । भगवान्ले दिने भनेको पनि त्यस्तै वातावरण बनाइदिने मात्र हो । भगवान्ले दिएकै छन् नि, हात, गोडा, नाक, कान, आँखा, मन र तिनलाई प्रयोग गर्ने स्थान । योभन्दा बढी के दिने ? स्वामी रामकृष्ण परमहंस
२, शत्रु खोज्न बाहिर जानुपर्दैन । सबैभन्दा ठूलो शत्रु आफैँसँग छ, आफैँभित्र छ, जसलाई काम, क्रोध र लोभ भनिन्छ । बाहिर जति पनि शत्रु छन् वा हुन्छन् बनाउने तिनैले हुन्, तिनैले बनाएका हुन् । अतः शत्रु नाशको चाहना गर्ने हो भने पहिले त्यसैबाट बच्ने प्रयास गर्नुपर्छ । महात्मा गान्धी
३, तलाउको पानी बाहिरबाट जति नै सफा देखिए पनि सानो ढुङ्गा हान्नसाथ धमिलो देखिन्छ । मन पनि त्यस्तै हो । बाहिरबाट हेर्दा जति नै सफा देखिए पनि सानो ठेस लाग्नासाथ त्यसभित्रको फोहोर रिसको रूपमा बाहिर देखिन थाल्छ । त्यसैले सफा गर्ने हो भने पहिले मनकै सफाइतिर ध्यान दिनु बुद्धिमानी हुन्छ । आचार्य विनोवा भावे
४, कामनाको अन्त्य कहिल्यै हुँदैन । एउटा जान भ्याएको हुन्न अर्को आइसक्छ । जब कामनामा चोट लाग्छ तब रिस उठ्छ । अतः रिसबाट बच्न खोज्ने हो भने पहिले कामनामै अङ्कुश लगाउनुपर्ने हुन्छ । आद्यशङ्कराचार्य
५, कामनाको नतीजा दुई किसिमको हुन्छ । कि पूरा हुन्छ कि हुँदैन । पूरा भए लोभ बढ्छ नभए क्रोध । यी दुवै दुःखका कारण हुन् । त्यसैले कर्म गर्दा फलाशक्ति नराखेर गर्नु उत्तम हुन्छ । कर्म पूरा भए फल प्राप्त हुन स्वतः कर लाग्छ । एकनाथजी महाराज
६, भाषण र प्रवचन सुनेका भरमा न आत्मिक उन्नति हुन्छ न आत्मकल्याण नै । उन्नति र प्रगतिका लागि पौरख गर्नुपर्ने हुन्छ, हात गोडा चलाउनुपर्ने हुन्छ । बलवीर्य र पराक्रम बिना संसारमा केही पनि उपलब्धि हुने वाला छैन । कठोपनिषद्
७, समस्याबाट भाग्ने होइन जुध्ने प्रयास गर्नुपर्छ । समस्याबाट जबतक भागिन्छ तबतक उसले खेदी नै रहन्छ । जब सामाना गर्न थालिन्छ तब समस्यालाई नै भाग्न कर लाग्छ । स्वामी विवेकानन्द
८, गङ्गामा स्नान गर्दैमा धर्म हुने भए माछा र भ्याकुता जति धार्मिक कोही हुने थिएनन् । जलको स्नानले शरीरको मयल पखाले पनि मनको मयल पखाल्न सक्दैन । त्यसैले मयल नै पखाल्ने हो भने तनको होइन मनको पखाल्ने प्रयास गर्नुपर्छ । गरुडपुराण शारोद्धधार
९, भोको मानिसलाई ज्ञान र शास्त्रको अर्थ छैन । त्यस्ता मानिसको कल्याण गर्ने हो भने ज्ञान, शिक्षा र प्रवचन दिनतिरभन्दा खाना दिनतिर ध्यान दिनुपर्छ । गौतम बुद्ध
१०, भगवान्बाट दया चाहने हो भने पहिले बालक, वृद्ध, असहाय, रोगी र अशक्तको हितमा ध्यान पर्छ । भगवान्ले दया गरुन् भन्ने आशा चाहिँ राख्ने आफूले गर्नुपर्ने काममा भने ध्यान नदिनु भनेको अन्याय हो । नीतिवाक्य