एमाओवादी केन्द्रीय समिति बैठकमा यसरी पोखे वीरमानले गुनासो
काठमाडौं– ‘हामी थारु सँगै उत्पीडनमा पर्यौं, म आफैं पनि पाँच पटक साहुँकोमा कमैयाँ बसेको मान्छे हुँ, हामीलाई राज्य सत्ताले हेप्यो, अहिले एमाओवादीले पनि त्यस्तै व्यवहार देखायो ।’ एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य वीरमान चौधरीले यसरी आफ्नो धारणा राख्दा हल एकाएक सुनसान बन्यो । उनले राज्य र पार्टीबाट हेपिएको महसुश भएको भन्दै भन्दै बैठकमा गुनासोको पोको फुकाएका थिए । उनले थारुहरु केन्द्रीय सत्ता, पहाडिया अहंकारवाद र मधेसी उत्पीडन गरि तीनतिरबाट पीडित भएको बताउँदै यसविरुद्व पार्टीले पनि पहल गर्न नसकेको बताए । पार्टीले वर्गिय मुक्तिको लागि पहल गर्ला भन्ने आफूहरुजस्ता उत्पीडित समुदायबाट आएको व्यक्तिमा आशा रहेको भएपनि अहिले पार्टीभित्र अराजकता मौलाउँदै गएको समेत बैठकमा बताएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । उनले प्रचण्डको दस्तावेजमा मूलभूत रुपमा समर्थन रहेको भएपनि कतिपय विषय अस्पष्ट रहेको भन्दै सुधारको खाँचो औंल्याएका थिए । आजको बैठकमा उनीसहित १५ केन्द्रीय सदस्यले प्रचण्डको प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । यसरी आफ्नो धारणा राख्नेहरुमा पेसल खतिवडा, महेश्वर गहतराज, लेखराज, तारामान स्वार, टंग आङवाङ्वे, दिलीप महर्जन, झक्कु सुवेदी, मुकेश लिम्बु, उमेश यादव, केशव ढुंगाना , तिलक शर्मा , भरत शाहलगायत रहेका थिए । उनीहरुले अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदन सहि भएपनि संगठन सुद्धिढिकरण लगायतका विषयमा ध्यान दिनुपर्ने, आन्तरिक राष्ट्रियताको कुरालाई दस्तावेजमा समेटिनुपर्ने, मधेसबारे पार्टीले स्पष्ट धारणा ल्याउनुपर्ने, नेतृत्व सच्चिएर अघि बढ्नुपर्नेलगायतमा जोड दिएको ति केन्द्रीय सदस्यको भनाई छ । बैठकमा धारणा राख्दै पेसल खतिवडाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुको नियन्त्रणको लागि बनेको सरकार सञ्चालन समन्वय समिति एक सदस्यीय जस्तो भएको भन्दै यसबारे पार्टीभित्र छलफल गरेर लागू नगरिएको आरोप लगाए । यस्तै लेखराज भट्टले पूर्वमा जातीय उत्पीडन र पश्चिममा क्षेत्रीय उत्पीडन कायम रहेको धारणा राखे भने उमेश यादवले पार्टी नेतृत्वले नेता कार्यकर्तामाथि नियन्त्रण नगरेको टिप्पणी गरे । उनले अध्यक्षको दस्ताबेज सहि भएको भन्दै मधेसबारे भने दस्ताबेजले स्पष्ट धारणा ल्याउनुपर्नेमा जोड दिए ।
केहि वर्षअघि मात्रै एमाले छाडेर एमाओवादीमा प्रवेश गरेका केशव ढुंगानाले आफूले राजनीतिक जीवनमा सीपी मैनालीदेखि माधव नेपाल र झलनाथ खनालसम्म्को दस्ताबेज हेरेको तर त्यो भन्दा प्रचण्डको दस्ताबेज कयौ गुणा उत्कृष्ण रहेको बताए । तर, यसको कार्यान्यवन कडाईका साथ हुनुपर्ने उनको जोड थियो । बैठक भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको एमाओवादीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण