बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

नर्सिङ पढ्ने सरिता चेपाङलाई रु ८० हजार सहयोग

बिहीबार, २४ मङ्सिर २०७२, १४ : १४
बिहीबार, २४ मङ्सिर २०७२

चितवन–सीमान्तकृत चेपाङ समुदायबाट नर्सिङ अध्ययनरत सरिता चेपाङलाई अध्ययनका लागि हाल अस्ट्रेलियामा रहेका चितवनवासीले सहयोग गरेका छन् । नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत धादिङ जोगीमाराकी सरितालाई उनीहरुले रु ८० हजार सहयोग गरेका हुन् ।

भरतपुर अस्पताल नर्सिङ कार्यक्रममा पूर्ण छात्रवृत्तितर्फ अध्ययन गरिरहे पनि उहाँलाई छात्रावास, शैक्षिक सामग्री तथा प्रयोगात्मक सामग्री अभाव थियो ।

संरक्षण दिइरहेको संस्था ‘हामीले नगरे कसले गर्ने ?’ मार्फत अस्ट्रेलियाको चितवन समाज, भिक्टोरियाले सो रकम प्रदान गरेको हो । चितवन समाजका प्रतिनिधि काशीप्रसाद गुरुङ र हेमप्रसाद गुरुङले ‘हामीले नगरे कसले गर्ने’ संस्थाका कार्यबाहक अध्यक्ष विनोदबाबु रिजाल र नर्सिङ विद्यार्थी सरितालाई सो नगद हस्तान्तरण गरे । संस्थाका प्रतिनिधि काशीप्रसाद गुरुङले विपन्न विद्यार्थीले खर्चको अभावकै कारणले पढ्न नपाएको खबर सुनेपछि अस्ट्रेलिया बस्ने चितवनेहरुले सहयोग जुटाएको बताए । चितवन समाज भिक्टोरियाका अध्यक्ष सोमप्रसाद गुरुङको संयोजनमा संस्थाले नर्सिङ पहिलो वर्ष पढ्ने खर्च पठाएको र यो उपलब्धिमूलक देखिए अरु सहयोग पनि गर्ने बताए ।

सरिताको छात्रावास, शैक्षिक तथा प्रयोगात्मक सामग्रीका लागि मासिक करिब रु छ हजार खर्च हुने गरेको छ । सरिता चेपाङ समुदायबाट एसएलसी परीक्षामा छात्रातर्फ हालसम्मकै बढी अङ्क ल्याउने विद्यार्थी हुन् । उनले २०७१ सालको एसएलसीमा राष्ट्रिय प्राथमिक विद्यालय जोगीमारा–१, खोरभञ्ज्याङबाट ७४.१३ प्रतिशत अङ्क हासिल गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप