मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

यी माग पूरा नभए सरकार छाड्ने राप्रपाको प्रधानमन्त्रीलाई चेतावनी

शुक्रबार, २५ मङ्सिर २०७२, १६ : ३५
शुक्रबार, २५ मङ्सिर २०७२

काठमाडौं – वर्तमान सरकार गठनका बेला निर्णायक शक्ति मानिएको राप्रपा नेपालले सरकारको काम–कारबाहीप्रति सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्न थालेको छ । राप्रपाले जुन आधार र उद्देश्यका लागि सरकार गठन भएको हो, त्यो दिशामा काम नभएको  र स्थिति कायमै रहे माघमा सरकार छाड्ने चेतावनी दिएको हो । रातोपाटीसँगको कुराकानीमा राप्रपा प्रमुख सचेतक दिलनाथ गिरीले केपी शर्मा ओली नेतृत्वको सरकार देशमा विद्यमान समस्याको समाधान गर्नमा केन्द्रित हुनुपर्ने माग गरेका छन् । ‘भूकम्पपछिको पुनर्निर्माण, भारतको अघोषित नाकाबन्दी, मधेसको समस्या लगायत विद्यमान समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउँदै अहिलेको सरकार गठन भएको हो,’ उनले रातोपाटीसँग भने, ‘देशको विद्यमान समस्या समाधान हुन्छ भने किन राप्रपा नेपालले सहयोग नगर्ने भनेर हामीले सरकारमा समर्थन गरेका हौं, तर समस्याको समाधान हुँदैन भने सरकारमा बसिरहनुको के नै औचित्य रह्यो र ?’ उनले ओली सरकार गठन भएको दुई महिना बित्दा समेत समस्या समाधानमा सिन्को समेत नभाँचेकाकाले पार्टीभित्र सरकारमा सहभागिताको विषयमा छलफल हुने बताए । ‘राप्रपा नेपाल पद ओगट्न मात्रै सरकारमा गएको होइन, अब पार्टीले यसबारे पुर्नविचार गर्छ, बैठक बस्छ, निर्णय लिन्छ,’ उनले भने, ‘अब माघसम्म हेर्छौं, त्योभन्दा बढी समय हामी पर्खन सक्दैनौं ।’ गणतन्त्र असफल भइरहेको र नेपाली जनताले अब धेरै दिन पर्खिन नसक्ने भन्दै राजतन्त्र फर्किने समेत दाबी गरे । ‘गणतन्त्र फेल भए राजसस्था आउँछ,’ उनले भने, ‘नेपालमा गणतन्त्र स्थापित गर्ने शक्ति असफल भए स्वाभाविकै रुपमा राजतन्त्र फर्कन्छ ।’ गिरीले बलियो प्रजातन्त्रका लागि सुशासन चाहिने र त्यसका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने भन्दै भ्रष्टाचारीमाथि कारबाही हुनुपर्नेमा जोड दिए । आफूहरु अलग–अलग भौगोलिक पहिचानमा नभएको र संघीयता मुलुकका लागि खराब भएको उनको भनाइ छ । अहिले दलहरुबीच चलेको राष्ट्रवादी र राष्ट्रघातीको आरोप–प्रत्यारोपलाई संकेत गर्दै उनले भने, ‘परिस्थिति आफूअनुकूल हुँदा राष्ट्रवादी र आफूविरुद्ध हुँदा राष्ट्रघात हुने सोच छाड्नुपर्छ ।’ उनले मधेसी दलको माग जनआन्दोलनपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गरिएको ८ बुँदे सम्झौतामा आधारित भएको भनिएपनि भित्रि रुपमा उनीहरुको माग देशलाई खण्डित गर्ने खालको भएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप