मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अदुवाको उत्पादनले बजार नपाउदा कृषक चिन्तित

शनिबार, २६ मङ्सिर २०७२, १४ : १२
शनिबार, २६ मङ्सिर २०७२

उदयपुर उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रका गाविसका कृषकले यस वर्ष अदुवा उत्पादन राम्रो वृद्धि गरेको भए ता पनि यसको बिक्रीको लागि उचित बजारको व्यवस्थापनमा समस्या हुँदा यस क्षेत्रका अदुवा उत्पादक कृषक चिन्तित बनेका छन् ।

जिल्लाको पश्चिमी पहाडी गाविसहरु हर्देनी, मयङखु, लिम्पाटार, लेखानी, ओख्ले, रुपाटार, बर्रे तथा तावाश्री क्षेत्रमा यस पटक अदुवा उत्पादनमा ब्यापक वृद्धि भएतापनि लामो समय देखिको सीमा नाकाबन्द र तराईका बजार बन्दको कारण अदुवा निर्यात गर्न समस्या हुँदा कृषक चिन्तित भएका छन् ।

यस पटक यस क्षेत्रमा अदुवा उत्पादन अहिलेसम्मकै अति राम्रो भएपनि अदुवा बिक्रीको लागि बन्दको कारण अहिलेसम्म बजारको व्यवस्थापन हुन नसकेको कारण उत्पादित अदुवा त्यतिकै खेर जाने हो की भन्ने चिन्ताले सताएको हर्देनी गाविस–६ का कृषक नन्दकुमार दाहालको गुनासो रहेको छ ।

दाहाल भन्छन्, “अघिल्ला वर्षहरुमा मङ्सिर लाग्ना साथ तराईका सप्तरी तथा सिरहा र धनुषाबाट धेरै अदुवा खरिदकर्ता ब्यापारी गाउँमा आइसक्थे, यस पटक बन्दको कारण अहिलेसम्म पनि खरिदकर्ता आउन सकेका छैनन, अदुवा बिक्रीको लागि तयारी छ ।”

विगतका वर्षमा स्थानीय बजार कटारी क्षेत्रबाट समेत अदुवा खरिदकर्ता अदुवा खरिद गर्न आउने गरेको भएतापनि यसपटक स्थानीय ब्यापारीसमेत अदुवाको लागि खरिद गर्न तयारी नहुँदा आफुहरुको अदुवा बिक्रीमा समस्या हुन थालेको कुरा सिरीसे–७ का कमलप्रसाद पौडेल बताउँछन् ।

अहिले स्थानीय क्षेत्रमा उत्पादित नयाँ अदुवाको मूल्य प्रतिकिलो रु पचासदेखि साठीसम्म रहेको स्थानीय अदुवा उत्पादक कृषक बताउने गर्दछन् ।

यसक्षेत्रको तावाश्री, सिरीसे सोरुङछबीसे, बाहुनीटार, हर्देनी, मयङ्खु, रिस्कु, कटारी, भलायाडाँडालगायतका क्षेत्रमा व्यवसायिकरुपमा नै धेरै कृषकले अदुवा उत्पादन गर्दै आएका छन् ।

गाउँ–गाउँसम्म यातायातका साधन पुग्ने गरेको कारण यस क्षेत्रका अदुवा उत्पादक कृषकहरु अहिले अदुवा बिक्रीको लागि ठुला अदुवा खरिद ब्यापारीको पर्खाइमा रहेका छन् । अदुवा खरिद तथा बिक्रीको लागि स्थानीय क्षेत्रका बजार जिल्लाको सदरमुकाम गाईघाट तथा पश्चिमी क्षेत्रको मुख्य ब्यपारीक केन्द्रको रुपमा रहेको कटारी बजारमा खरिद हुने गरेको छ ।

कतिपय समयमा अदुवा ब्यापारी तथा खरिदकर्ता तराई क्षेत्रका जिल्ला सुनसरी, मोरङसम्मका अदुवा ब्यापारी यस क्षेत्रमा अदुवा खरिद गर्न घर–घर आइपुग्ने गरेको कुरा भलायाडाँडा–७ का एक कृषक रामबहादुर तामाङ बताउँछन् ।

यस पटक अहिलेसम्म स्थानीय बजारका अदुवा खरिदकर्तासमेत अदुवाको बिषयमा जानकारी लिनसमेत नआएपछि अदुवा बिक्रीमा ढिलाई र समस्या हुने चिन्ताले आफुहरुलाई सताएको कुरा तामाङको गुनासो रहेको छ ।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार वर्षमा उदयपुरको पश्चिमी तथा मध्यपहाडी क्षेत्रबाट झण्डै रु पाँच करोड बराबरको अदुवा बिक्री हुने गरेको तथ्याङ्क छ ।

जिल्लाका उत्पादित अदुवाहरु सप्तरी, सिरहा, मोरङ, सुनसरी र धनुषासम्म निर्यात हुने गरेको कुरा गाइघाटका एक अदुवा खरिदकर्ता दिनेश साह बताउँछन् ।

यसपटक अहिले बन्द हड्ताल तथा सीमानाका बन्दको कारण समय प्रतिकुल रहेको कारण झट्ट अदुवा खरिद गरेर बिक्री गर्ने अवस्था भने नभएको धारणा पनि साहको रहेको छ ।

यता स्थानीय कृषक भने अहिलेको अवस्थामा अदुवा बिक्रीमा समस्या हुने देखिएपछि अदुवा बिक्रीको लागि स्थानीय उद्योग बाणीज्य सङ्घ तथा स्थानीय निकायले सहयोग गरेर बजार व्यवस्थापन गरिदिनुपर्ने आवाज उठाउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप