मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

लामो समयदेखि जारी आन्दोलन खुकुलो भएपछि जनजीवन सामान्य बन्दै

आइतबार, २७ मङ्सिर २०७२, १२ : ४०
आइतबार, २७ मङ्सिर २०७२

सिरहा– लामो समयदेखि जारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हड्ताल बिस्तारै खुकुलो हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ ।

लहान, मिर्चैया, गोलबजारलगायत बजार आजदेखि पूर्ण रुपमा खुलेको छ । शैक्षिक संस्था बिहानको समयमा सञ्चालनमा आउन दिने भनी मोर्चाले निर्णय गरेपछि बिस्तारै बजार पनि खुलेको हो ।

बजार खुलेपछि बिस्तारै जनजीवन सामान्य बनेको गोलबजारका व्यापारी महेश साह बताउँछन् । मधेसी मोर्चाको हड्तालका कारण साढे तीन महिनादेखि पूर्ण रुपमा ठप्प रहेका सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्था समेत सञ्चालनमा आएका छन् ।

लहानमा दुई दिन अगाडि खाना पकाउने ग्यास र शनिबार पेट्रोल समेत वितरण गरिएपछि धेरै राहत भएको सर्वसाधारणको भनाइ छ । बजार खुलेपछि बिस्तारै सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । जाडो बढेसँगै कपडा पसलमा बाक्लो कपडाको बिक्री ह्वात्तै बढेको छ । सिरहाका मूल नाका माडर र ठाडी हुँदै भारतीय बजारको सामान आयात हुने क्रम बिस्तारै बढ्दै गएको छ । सवारी साधन भने नचल्दा व्यापारिक प्रयोजनका लागि सामान ल्याउन भने अप्ठ्यारो भइरहेको व्यापारी बताउँछन् ।

दिनमा सवारी साधन नचलेपछि राति ढुवानी गर्नुपर्दा बजारमा दैनिक उपभोग्य वस्तु भने महँगोमा खरिद गर्न उपभोक्ता बाध्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप