मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

साउदी अरेबियाको निर्वाचन, मक्काको नगर परिषद महिला उम्मेदवार बिजयी

आइतबार, २७ मङ्सिर २०७२, १५ : १५
आइतबार, २७ मङ्सिर २०७२

रियाद–साउदी अरेबियामा शनिबार सम्पन्न भएको नगर परिषदको निर्वाचनअन्तर्गत मक्काको नगरपरिषद्मा महिला विजयी भएको छ । मुस्लिम समुदायका नागरिकहरुको सुप्रसिद्ध धामका रुपमा रहेको मक्का मदिना रहेको मद्रकाह नगर परिषद्मा महिला बिजयी भएको आइतबार बिहान जनाइएको छ ।

सो पवित्र नगर मानिएको मद्रकाहको परिषदमा सल्मा बिन्त हिजब अल ओतेइबी बिजयी भएको जनाइएको हो ।

प्रमुख निर्वाचन आयुक्त ओसामा अल बारलाई उद्धृतगर्दै आइतबार साउदी अरेबियाको समाचार समिति एसपिएले उनको विजयको जानकारी गराएको छ ।

साउदी अरेबिया राजतन्त्रात्मक मुलुक हो । यस देशमा महिलाका विषयमा निकै नै कडा प्रतिबन्धहरु लगाउने गरिएको छ । महिलालाई सवारी हाँक्न पनि प्रतिबन्ध लगाइएको छ ।

साउदी अरेबियामा शनिबार नगर परिषद्को निर्वाचन सम्पन्न भएको थियो । यस निर्वाचनको प्रमुख आकर्षणका रुपमा इतिहासमा नै साउदी अरेबियामा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका हुन् ।

साउदी जस्तो मुस्लिम राष्ट्रमा महिलालाई सवारी चलाउन, मतदान गर्न तथा अरु पनि कैयौँ कार्यमा प्रतिबन्ध लगाउँदै आइएको थियो ।

तर पनि यसअघि नै अरु अरब मुलुकहरुले भने मतदानका लागि महिलालाई अनुमति दिएका थिए । महिलालाई मतदानमा अनुमति दिने यो नै अन्तिम देश हो भनिएको छ ।

यो नगर परिषदको निर्वाचन हो । यो परिषदको निर्वाचन यसअघि सन् २००५ मा भएको थियो । सो निर्वाचन महिलाका लागि खुला थिएन । उनीहरुले मतदान गर्न तथा उम्मेदवार बन्न पनि पाएका थिएनन् ।

यस नगर परिषदको निर्वाचनमा कम्तीमा पनि ९०० जना महिला उम्मेदवार बनेका छन् । उनीहरुका विरुद्धमा करिब ६ हजार जना पुरुष उम्मेदवार रहेका बताइएको छ ।

स्थानीय विकास अधिकार रहेको सो परिषदको निर्वाचनमा २८४ जना उम्मेदवार उठेका छन् । यस परिषदले स्थानीय पूर्वाधारको विकासका साथै स्थानीय निकायको निर्माण गर्ने काम गर्छ ।

सरकारी अधिकारीहरुका अनुसार यस पटकको यस निर्वाचनमा महिला मतदाताहरुको सङ्ख्या दशमा एकजना वा त्यो भन्दा पनि कम रहेको बताएका छन् ।

महिलाका अधिकारप्रति पुरुष उदार नहुनुका साथै महिलाहरु पनि यो पहिलो पटकको निर्वाचनका लागि उत्साहित नहुनाले पनि यस पटक निर्वाचनमा मतदाता महिलाको सङ्ख्या कम हुन पुगेको बताइएको छ ।

महिलाले पुरुष मतदाताहरुसँग पुगेर मतमाग्न पनि नपाउने नियम बनाइएको थियो । उम्मेदवार बनेर पनि मतमाग्न नपाइने यस नियमको विरोध भने गरिएको थियो ।

तर पनि सरकारले पछि निर्वाचनका लागि बनाएको यस नियममा परिवर्तन गरेको थिएन । निर्वाचनका पुरुष कर्मचारीहरुका कारण असजिलो भएको पनि उनीहरुको भनाई छ ।

उम्मेदवारमध्येका अधिकांश महिला नगरपालिकाको प्रशासकीय कार्य सञ्चालनका लागि सक्षम रहेकोले उनीहरु पनि विजय हुने अनुमान गरिएको बताइएको छ ।

त्यो भन्दा पनि पहिलो पटक नै दिइएको यो महिलाको अधिकारलाई महिला अधिकारकर्मीका साथै सबैले राम्रो कामका रुपमा सराहना गरेका बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप