मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राजेन्द्र महतोको चेतावनी : ‘मधेस आन्दोलनको माग सम्बोधन नभए मुलुक ठूलो दुर्घटनामा फस्ने’

सोमबार, २८ मङ्सिर २०७२, १३ : ०१
सोमबार, २८ मङ्सिर २०७२

विरगंज– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एंव सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको माग सम्बोधन गर्न राज्यले अझै पनि बेवास्ता गरे मुलुक नै ठूलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

वीरगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए मुलुक नै ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका हुन् । उनले भने, ‘यदि मधेस आन्दोलन असफल भयो भने देशमा अशान्ति, विखण्डन र जातीय द्वन्द्व भड्किने खतरा छ ।’ अध्यक्ष महत्तोले भने, ‘शान्तिपूर्ण आन्दोलनबाट मधेसीको मागलाई सम्बोधन नभए हिंसा र अलगावा चाहनेहरुले मौका पाउछँन्, त्यही मौका उनीहरुले कुरेर बसेका छन् ।’

शान्तिपूर्ण आन्दोलनको मुल्य मान्यतालाई कायम राख्न पनि मधेस आन्दोलन सफल बन्नैपर्ने उनको तर्क छ । मधेश आन्दोलन असफल भए त्यसको सबै दोषी ठूला तीन दल र सरकार नै हुने उनको भनाइ छ ।

मधेसी मोर्चाका शीर्ष नेताहरुको पछिल्लो भ्रमण निकै उपलब्धिमुलक रहेको भन्दै उनले भने, ‘ मधेस आन्दोलनका बारेमा भारतमा जुन गलत भ्रम फैलाइएको छ त्यो चिर्न सफल भएका छौँ, अन्तर्राष्ट्रिय जगतलाई पनि मधेस आन्दोलनको मुद्दाबारे क्लियर पार्न सफल भयौं ।

उनले मधेसको सबै माग पुरा नभएसम्म आन्दोलन नरोकिने प्रष्ट पारे । संविधान जारी भएको तीन महिना पुगेका दिन पुस तीन गते मधेसी आन्दोलनले अन्तिम धक्का दिने तयारी भइरहेको उनले बताए । पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले तराईमा जारी मधेस आन्दोलनलाई थप सशक्त बनाउन आउँदो पुष २ गतेदेखि आन्दोलनलाई अझ कडा पार्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप