मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

संसद् अवरोध हटाउन सभामुखको पहलमा शीर्ष नेताको बैठक

सोमबार, २८ मङ्सिर २०७२, १३ : २३
सोमबार, २८ मङ्सिर २०७२

काठमाडौं - व्यवस्थापिका संसद्मा जारी अवरोध अन्त्य गर्नका लागि सभामुख ओनसरी घर्तीको पहलमा आज संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । यसअघि सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच भएको विभिन्न चरणको वार्ता निष्कर्षविहिन बन्दै आइरहेको थियो । आज अपरान्ह चार बजे बैठक बस्ने सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले रातोपाटीलाई जानकारी दिए । आन्दोलनरत मधेसी मोर्चाले एक महिनादेखि संसद् अवरुद्ध पार्दै आइरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसद् अवरुद्ध पारिरहेको छ । अवरोधका बीच पनि मोर्चाले मानवीय नाताले भूकम्पपछिको पुनर्निर्माण विधेयक संसद्मा पेस गर्न दिन सहमत भएको थियो । तर, नेपाली कांग्रेसले पुर्ननिर्माण विधेयकसँगै सुशील कोइराला नेतृत्वको सरकारको पालामा दार्ता भएको संविधान संशोधन विधेयक पनि एकैसाथ पेस गर्नुपर्ने अडान राख्दै आएपछि थप गतिरोध उत्पन्न भएको छ । पार्टीले संविधान संशोधन विधेयक पेस नभए पुनर्निर्माण विधेयक पेस हुन नदिने भन्दै संसद् अवरुद्ध पार्दै आइरहेको छ । यता, मधेसी मोर्चाका नेताहरुले पनि संविधान संशोधन विधेयक जस्ताको तस्तै कुनै हालतमा पेस गर्न नदिने र पेस गर्ने भए प्याकेजमा सहमति हुनुपर्ने माग राखेका छन् । आइतबार यही विषयमा सरकार, प्रमुख प्रतिपक्षी दल र मधेसी मोर्चाबीच छलफल भए पनि कांग्रेस र मोर्चाको आ आफ्नै अडानका कारण कुनै सहमति हुन सकेन । यता, भूकम्पपछिको पुनर्निर्माण विधेयक अड्काउन हुँदैन भन्ने माग नेपाली कांग्रेसभित्रबाटै उठ्न थालेको छ । यसअघि शुक्रबारको बैठक सूचना टाँसेर स्थगीत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप