छोरीको विवाह नहुने दिन
जनकपुरधाम–राम सीताको जोडीलाई आदर्श जोडी मानिए पनि विवाहपञ्चमीको दिन मिथिलावासीले आफ्ना छोरीहरुको विवाह गर्र्दैनन् ।
त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन जनक नन्दनी सीताको विवाह अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र रामसँग भएको थियो । त्यो दिन सोमबार र नक्षत्र भने श्रवण थियो । विवाह पञ्चमीको नामले प्रख्यात रहेको सो दिन यस वर्ष पुस १ गते बुधबार परेको छ । सो दिन छोरीको विवाह गर्दा जानकीले जस्तै दुःखकष्ट हुने जनविश्वास मिथिलावासीमा छ ।
राम र सीताको विवाह ब्रह्म विवाह हो । हिन्दूशास्त्रमा यो विवाहलाई आदर्श विवाह मानिन्छ । भनिन्छ, विवाह गर्दाको समयमा सीता रामभन्दा नौ वर्षले कान्छी थिइन् । प्रत्येक वर्ष मनाइने विवाह पञ्चमीले त्रेतायुगीन विवाहको झझल्को दिने गर्छ ।
विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दा जसरी सीतालाई १४ वर्षको वनवास, अग्निपरीक्षा, वनवासपछि फर्केर आयोध्या आए पनि फेरि वनमै जानुपर्ने तथा अन्त्यमा पृथ्वीको गर्भमा लुप्त हुनुपर्ने जस्ता दुःखकष्ट भयो, त्यस्तै दुःखकष्ट हुने जनविश्वासको कारण यो दिन मिथिलावासीले छोरीको विवाह गर्दैनन् । गर्भवती अवस्थामा समेत दुःखित सीतालाई मिथिलावासीले खोजखबर नलिएकाले सीताले विवाह पञ्चमीको दिन मिथिलामा जुन कन्याको विवाह हुन्छ, त्यसले म जस्तै दुःख पाउने छिन् भनी श्राप दिएकी विश्वास गरिने मैथिली भाषाका वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल बताउँछन् ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव भने कालान्तरमा आएर बिस्तारै यो जनविश्वास घट्दै गएको र कतिपय मानिसले विवाहपञ्चमीकै दिन शुभ मानेर आफ्ना कन्याको विवाह गराउन थालेको जानकारी दिन्छन् ।
मिथिलामा मान्यवरहरुले वरवधूलाई आशीर्वाद दिँदा रामसीताजस्तै एक भएर बस्नू भन्ने आशिष पनि दिने गर्छन् । यसैले यो दिन र यो महिनामा विवाह गर्नु पुण्य मानिन्छ । विवाहपञ्चमीको दिन जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णव सीताका पिता जनक९शिरध्वज० र राम मन्दिरका महन्थ रामगिरी रामका पिता दशरथको भूमिकामा विवाहमण्डपमा उपस्थित हुने र अयोध्याबाट आएका सन्तमहन्थ जन्तीका रुपमा उपस्थित हुने परम्परा रहेको छ ।
विवाहपञ्चमीको अर्को विशेषता भनेको बिनानिम्तो नेपाल–भारतलगायत अन्य मुलुकबाट श्रद्धालु भक्तजन आएर विवाहमा सामेल हुनु हो । मिथिलावासीले सीतालाई छोरीको संज्ञा दिएकाले मिथिलालगायत अन्य क्षेत्रबाट विवाहमा सामेल हुने सन्तमहन्थ जानकी मन्दिरका तर्फबाट तथा अयोध्याबाट आउने सन्तमहन्थ वरपक्ष अर्थात् रामका तर्फबाट विवाहमा सामेल हुने गर्छन् । यही मङ्सिर २५ देखि सुरु भएको राम र सीताको विवाह कार्यक्रम अन्तर्गत जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभ विवाह र रामकलेवाजस्ता विधि भव्यतापूर्वक पूरा गरिन्छ ।
यस अवसरमा मिथिलाका नारीहरुले विवाहमा गाइने परम्परागत मैथिली गीत सुमधुर स्वरमा गाएर सबैलाई मन्त्रमुग्ध पार्छन् । यसै अवसरमा नवमिथिला साँस्कृतिक समूहले तिलकोत्सव समारोहमा आएका श्रद्धालुलाई स्वागत नृत्य गरी स्वागत गरेका थिए । कलाकारहरुले मैथिली विवाह गीत प्रस्तुत गरी जन्तीलाई मनोरञ्जन गराएको कलाकार सन्दीप साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण