मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अवलोकनमा आउने पर्यटकको सङ्ख्यामा कमी

मङ्गलबार, २९ मङ्सिर २०७२, १३ : ३३
मङ्गलबार, २९ मङ्सिर २०७२

भक्तपुर–गत वर्षको तुलनामा यसवर्ष भक्तपुर अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा ८० प्रतिशतले कमी आएको छ ।

भूकम्प र भारतको नाकाबन्दीका कारण चुलिएको इन्धन समस्याले जिल्लामा पर्यटक आगमनमा कमी आएको हो । यसवर्ष पहिलो चौमासिक (साउनदेखि कात्तिक महिना) मा गैरसार्क राष्ट्रका १८ हजार ८२९ जना तथा सार्क र चिनियाँ गरी कुल २३ हजार ३५५ पर्यटकले जिल्लाको विभिन्न सम्पदाको अवलोकन गरेका छन् । सोही अवधिमा गतवर्ष एक लाख ११ हजार २९३ पर्यटकको आगमन भएको थियो ।

सार्क र चिनियाँ पर्यटकको सङ्ख्या ४८ हजार ५४३ जना र गैरसार्क राष्ट्रका ६२ हजार ७५० पर्यटकले भ्रमण गरेको पर्यटन सूचना अधिकृत दामोदर सुवालले जानकारी दिए । पर्यटकको आगमन कम हुनुमा भूकम्प र नाकाबन्दी नै रहेको उनको भनाइ छ । नाकाबन्दीले पर्यटन उद्योगलाई नराम्ररी प्रभावित गरेको छ ।

नाकाबन्दीपछि होटेल र रेस्टुराँले खानाको उचित बन्दोबस्त गर्न नसक्दा र इन्धन अभावले यातायातका साधान प्रभावित हुँदा पर्यटकको आगमनमा कमी आएको हो । पर्यटकको आगमनमा वृद्धि ल्याउन भूकम्पले क्षति पु¥याएका भग्नावशेषको छिटो व्यवस्थापन, नगरका धरापको व्यवस्थापन र ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण तत्काल गर्नुपर्नेमा अधिकृत सुवालले जोड दिए । “सङ्कटको छिटो समाधान गर्न नसके पर्यटन उद्योग धराशायी हुन्छ” उनले भने ।

आन्तरिक आम्दानी प्रभावित

असोज र कात्तिक महिना नेपालको पर्यटन उद्योगको मुख्य याम हो । मुख्य याममा नै पर्यटकको सङ्ख्यामा ८० प्रतिशतले कमी आएपछि भक्तपुर नगरपालिकाको आन्तरिक आयसमेत प्रभावित भएको छ ।

नगरपालिकाले पर्यटन शुल्कबाट गत आवको पहिलो चौमासिकमा रु ११ करोड ८३ लाख ९६ हजार ५०० आम्दानी गरेको थियो भने यस वर्षको सोही अवधिमा रु तीन करोड पाँच लाख ६ हजार मात्र आम्दानी गरेको छ । गत वर्षको तुलनामा रु आठ करोड ७८ लाख ९० हजार कम आम्दानी भएको छ ।

नगरपालिकाले गत वर्ष पर्यटन सेवा शुल्कबाट मात्र रु २५ करोड ५३ लाख ४६ हजार आम्दानी गरेको थियो भने अन्य स्रोतबाट रु ६ करोड ९८ लाख ३३ हजार आन्तरिक आम्दानी गरेको थियो । गतवर्ष पुसमा सम्पन्न नगरको २७औं नगरपरिषद् बैठकले पर्यटन सेवा शुल्कबाट रु २९ करोड आम्दानी हुने अनुमान गरेकोमा भूकम्पपछि पर्यटक आगमन प्रभावित भएकाले गत साउनमा सम्पन्न २८औं नगरपरिषद्ले रु ११ करोडमात्र हुने अपेक्षा गरेको छ ।

पर्यटन व्यवसाय ठप्प

भक्तपुर घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएसँगै यहाँको पर्यटन व्यवसाय ठप्प छ । पर्यटक आगमन घटेपछि व्यापार शून्यमा झरेको व्यवसायी बताउँछन् । पसलको भाडासमेत तिर्न मुस्किल हुन थालेपछि व्यवसायीहरु विकल्पको खोजीमा लागेका पर्यटन व्यवसाय सद्भाव सङ्घका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठ बताउँछन् ।

“पर्यटन व्यवसायी बिहानबेलुका तरकारी बेच्नेलगायतका कममा लाग्न थालेका छन्” उनले भने । केही वर्षदेखि चिनियाँ पर्यटकको आगमनमा वृद्धि भएसँगै व्यापार फस्टाउने मौका पाएको तर भूकम्प र नाकाबन्दीले व्यवसाय नराम्ररी प्रभावित बनेको श्रेष्ठको भनाइ छ । परकम्प घटेसँगै विस्तारै पर्यटक आउन थालेका छन् । “उनीहरुले समवेदना स्वरुप सामान खरिद गर्ने गरेका छन्” उनले भने । भूइँचालोपछि आएका पर्यटकले सामान किनेर सहयोग गर्छु भन्दै सामान खरिद गरेका श्रेष्ठ बताउँछन् । नाकाबन्दीपछि दैनिक उपभोग्य वस्तुको अभावले गर्दा पर्यटन व्यवसायमा असर गरेको होटेल स्वीट होमकी सञ्चालिका लक्ष्मी अवाल बताउँछन् । “नाकाबन्दीले व्यापार ठप्प छ, मधेस आन्दोलन र कैलाली घटनापछि धेरै बुकिङ रद्द भएका छन्” उनले भने ।

दरबार स्क्वायरमा ‘क्यूरो’ पसल सञ्चालन गर्दै आएका घनश्याम कपालीले अहिले हप्ता दिनमा एउटा सामान पनि बिक्री गर्न गाहे हुनथालेको बताए । “ब्याजसमेत तिर्न मुस्किल हुन थालेकाले वैकल्पिक व्यवसायको खोजीमा छु” उनले भने ।

पर्यटन व्यवसायको पुनःजीवनका लागि नाकाबन्दी खुल्नुको विकल्प नभएको अध्यक्ष श्रेष्ठ बताउँछन् । नगरपापालिकाले चाँडो नगरक्षेत्रको सुरक्षित नक्साङ्कन गर्नुपर्ने, गाईडलाई उचित तालिम दिनुपर्ने, धराप तथा भग्नावशेष व्यवस्थापन गर्नुपर्ने र सम्पदास्थलमा बत्तीको व्यवस्था गर्नुपर्ने उनले माग गरे ।

सम्पदास्थलमा आवश्यक बत्तीको व्यवस्था नहुँदा बासबस्ने पर्यटक राति निस्कने अवस्था नभएको र यसबाट पर्यटकले असुरक्षित महसुस गर्ने गरेको श्रेष्ठको भनाइ छ । “पर्यटकको सङ्ख्यामा वृद्धि ल्याउन सुरक्षाको प्रत्याभूति हुनुपर्दछ, जुन अहिले भक्तपुरमा छैन” उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप