मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

मङ्गलबार, २९ मङ्सिर २०७२, १८ : १६
मङ्गलबार, २९ मङ्सिर २०७२

काठमाडौँ - साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली बङ्गलादेशको ढाकामा हुने मैत्रीपूर्ण खेल खेल्न आज त्यसतर्फ प्रस्थान गरेको छ । आगामी पुस २ गते हुने उक्त मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली उतैबाट साफ च्याम्पियनसिपका लागि भारतको केरला प्रस्थान गर्ने आज यहाँ आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिए । साफ च्याम्पियनसिप भने आगामी पुस ८ गतेदेखि सञ्चालन हुनेछ । नेपालले आफ्नो पहिलो खेल आगामी पुस ८ गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी दोस्रो खेल पुस १२ गते आयोजक भारतसँग खेल्नेछ । नेपाली टोलीलाई एन्फा अध्यक्ष श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै बिदाइ गरे । कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका कप्तानको जिम्मेवारी पाएका अनिल गुरुङले साफ च्याम्पियनसिपमा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक एजुम्सले प्रतियोगितामा राम्रो नतिजा ल्याउने बताए । नेपालले सन् १९९३ मा तेस्रो स्थान हासिल गरेयता अहिलेसम्म फाइनल चरणसम्म पनि पुग्न सकेको छैन । प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, माल्दिभ्स, भुटान श्रीलङ्का र बङ्गलादेश सहभागी छन् । समूह ‘ए’ मा परेको नेपाल शीर्ष दुईभित्र पर्नसके सेमिफाइनलको यात्रा तय गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप