मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका प्रमुख वन्तसहित दुई डिएसपी र इन्सपेक्टरलाई निलम्बन गर्न अख्तियारको सिफारिस

बिहीबार, ०२ पुस २०७२, १५ : ४७
बिहीबार, ०२ पुस २०७२

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका प्रमुख (आईजीपी) कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी बलको विभिन्न सामग्री खरिदपछि ढुवानी गर्ने कार्यमा ठेक्का प्रक्रिया अगाडि बढाउँदा झुट्ठा बिल भर्पाई बनाई राज्य कोषको दुरुपयोग गरेको पाइएको दलिलसहित तत्काल निलम्बन गर्न आयोगले आज सरकारलाई सिफारिस गरेको हो ।

आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा विभिन्न समयमा मुलुकभर रहेका सशस्त्र प्रहरीको विभिन्न युनिटमा सामान ढुवानी गर्दा महानिरीक्षक वन्तको प्रत्यक्ष संलग्नता देखिएको आयोगले जनाएको छ ।

ढुवानी कार्यमा अनियमित तवरले संलग्न भएको भन्दै प्रहरी नायब उपरीक्षकद्वय सुमनजङ्ग थापा, रामकृष्ण महर्जन र प्रहरी निरीक्षक बिनबहादुर थापालाई पनि तत्काल निलम्बन गर्न आयोगले सम्बन्धित सरोकारवाला निकायलाई सिफारिस गरेको छ ।

महानिरीक्षक वन्तलाई पदमा बहाल रहन दिँदा आफू विरुद्धको प्रमाण लोप गर्न सक्ने तथा अनुसन्धान कार्यलाई प्रभावित पार्न सक्ने देखिएकाले तत्काल निलम्बन गर्न निर्देशन दिएको अख्तियारको  भनाइ छ ।

अख्तियारले अनुसन्धान कार्य प्रभावित हुने भएकाले आयोगको ऐन, २०४८ को दफा १९ को खण्ड तीनबमोजिम आजैको मितिदेखि लागू हुनेगरी निलम्बन गर्न र अन्य अधिकारीलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमार्फत निलम्बन गर्न सिफारिस गरिएको हो  । सामान ढुवानी प्रक्रियामा अनियमितता भएको भन्दै आयोगमा परेको उजुरीमाथि अनुसन्धान गरिँदा महानिरीक्षक वन्त र अन्य अधिकारीको संलग्नता देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप