मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भारतमा नेपाली ड्राईभरको बिचल्ली (फोटोफिचर )

बिहीबार, ०२ पुस २०७२, १६ : ५९
बिहीबार, ०२ पुस २०७२

भैरहवा –“२ महिना भयो नुहाउन नपाएको, खाना खाने त कुरै छोड्नु, आफैले पकाएर खानै दिदैनन् जवरजस्ती महङ्गो र आधापेट खाना खानु परेको छ ।” भारतको नौतनवामा रोकिएर रहेका ट्रकका चालकहरुको सामुहिक गुनासो हो यो । नेपालमा सुरक्षाको कारण देखाउदै भारतले गरेको अवरोधको कारण अहिले सीमावर्ती क्षेत्रहरुमा नेपाली तथा भारतीय ट्रक चालकहरु सास्ती ब्यहोर्नु परिरहेको छ । भारतीय अवरोधका कारण भारततर्फ करिब २५ देखी ३० किलोमिटर सम्म मालवाहक ट्रक तथा ईन्धन बोकेका ट्यांकरहरुको लाईन लागेको छ । चल्ता पूर्जा तथा रकम दिन सक्नेहरुको मात्र मालसमान बेलहियाको भन्सार सम्म पुग्ने गरेको छ । चालकहरु चिसोमै रात बिताउन बाध्य छन् । आफूसंग रहेको नगद सकिएपछि ट्रकमा रहेका औजारहरुसमेत बेचेर खाना खानु परेको चालकहरुको गुनासो रहेको छ । बिरगञ्ज–रक्सौल नाकाबाट रिरुट भएर आएका ग्यास बोकेका बुलेट तथा ट्रक चालकहरु महिनौदेखी सीमापारी रोकिएर बसे पनि उनिहरुको उद्दारको लागी कुनै निकाय अगाडी आउन सकेको छैन । उल्टै चालकहरु भारतीय पक्षबाट ठगिनु परेको गुनासो छ । बेलहियाबाट ८ किलोमिटर टाढा नौतनवामा २ सयको हाराहारीमा ग्यास बोकेका बुलेटहरु छन । बिरगञ्जबाट रिरुट भएर आएका र मथुराबाट आएका केही बुलेट चालकहरु महिनौ देखी रोकिएर रहेका छन । “चालकहरु २ महिनादेखी नुहाउन समेत नपाएको गुनासो गर्छन् । पानी खान १ किलोमिटर पर जानुपर्छ, त्यहा पनि पानी खान दिदैनन् यहाका जनतामा मानवता भन्ने कही छैन । सबै पैसा कमाउनमै लागेका छन् ।” एचआर ५५ क्यू ५५७० नम्बरका बुलेट चालक चन्द्रशेखरले गुनासो गरे । “पार्किङ्ग गरे बापत दैनिक २ सय रुपैया माग्न आउछन्, खाना खाने पैसा त छैन पार्किङ्गको पैसा कहाँबाट दिने” उनले गुनासो गरे । खाना खान पैसा छैन, नेपाल आयल निगमले पार्किङ्गको पैसा पनि दिन्न, फर्किन पनि सकिन्न अनि के गरी बस्नु यहाँ भन्दै अर्का चालक आक्रोशित देखिन्थे । नेपालमा गएका बुलेटहरु पनि सम्बन्धित कम्पनीहरुले रकम दिएर लगेको उनीहरुले बताए । आफूहरुको साहुले रकम नदिएकै कारण महिनौ देखि बस्नु परेको चालकहरुको दावी रहेको छ । यता भारतीय प्रहरीले नै भारतीय चालकहरुलाई दुख दिने गरेको छ । पार्किङ्गमा रहेका ट्रकहरुसित रकम माग्न प्रहरीहरु प्राय आउने गरेको उनिहरुले दुखेसो गरे । भारतीयहरु भन्दा फरक समस्यामा छन् नेपाली मालबाहक ट्रकका चालकहरु । उनीहरुले पनि आफ्नै देशका ट्रान्सपोर्टका ठेकेदारहरुले फसाएको भन्दै आक्रोश पोखेका छन् । आजभोलीमै क्लियर हुन्छ भन्दै नेपालबाटै समान लिन पठाएका ठेकेदारहरु अहिले समस्या पर्दा फोन पनि नउठाएको प्राय चालकहरुको गुनासो छ । महिनौ देखि बस्दा पनि कोही समस्या समेत बुझ्न नआएको चालकहरुको भनाई छ । “भारतीय भुमिमा बस्दा यहा खाना पकाएर समेत खान दिदैनन् । ढाबामा महङ्गो मूल्य हालेर खान लगाउछन ।” ना४ख ४१२७ नम्बरका ट्रक चालक काजी मगरले भने । नौतनवा भन्दा पनि टाढा रहेको र प्रहरीलाई २ हजारका दरले रकम बुझाई बल्ल बल्ल आधार बाटोमा आएको काजीको भनाई छ । मंसिर ९ गते काठमाण्डौबाट समान लिन आएको र भारतमै फसेको उनले गुनासो सुनाए । ना५ख ८५१५ का अर्का चालक नारायण प्रसाद न्यौपानेले भने राती राती प्रहरीले स्कर्टिङ्ग गरेर पछाडीको गाडी लैजाने गरेका बताए । लामो समय देखी बस्दा चालकहरु ट्रकका औजारहरु जग, लिभर र मोबाईल सम्म बेचेर खान खानु परेको न्यौपानेले बताए । सीमाबाट ट्रक पास गराउन प्रहरीले अनियमितता गरेको आफ्नो पालो नपाए पछि नेपाल र भारतीय भन्सार एजेन्टहरुले भारतीय भन्सार कार्यालयको सहयोगमा करिब २ हजार ३ सय वटा मालबाहक ट्रकलाई टोकन बितरण गरेका छन् । टोकनकै आधारमा गाडी पास हुने आश्वसन पाए पनि त्यसो हुन नपाएको चालकहरुले गुनासो गरेका छन् । ना५ख ८५७५ नम्बरका चालक प्रयास घिमिरेले आफुले पाएको टोकन नम्बर १७९६ देदाउदै आफु महिनौंदेखि सीमामा गाडी पार्किङ्ग गरिएको ठाउबाट सर्दै नसरेको बताए । काठमाण्डौबाट खुद्रा समान लिएर भैरहवा आएको समय पडसरीमा रहेको ट्रान्सपोर्टरले आज लोड गर्ने र भोली पास गराउने आश्वनि दिए पछि आफु समान लिन भारतको नौतनवामा आएको उनले बताए । आएको महिनौ दिन भयो न ट्रान्सपोर्टरको पत्तो छ न खाने । सरकारले पनि यस्ता चालकहरुको उद्दारको लागी केही प्रयास नगरेको उनले गुनासो गरे । उप प्रधान तथा परराष्ट्र मन्त्री कमल थापा र मधेशी दलका शीर्ष नेताहरुको भारत भ्रमण पचि मुलुकको अन्य नाका सहज भए पनि बेलहिया भने सुचारु हुन सकेको छैन । नेपाल भारतको सीमा रुपन्देहीको बेलहियामा कुनै अवरोध नरहे पनि भारतले कोटा तोकी दैनिक १ सयको हाराहारीमा मालबाह ट्रक मात्र पठाईरहेको छ । यस्ता ट्रकमा पनि अधिकांशमा फलफुल, तरकारी लगायत कुहिने मालसमान मात्र हुने गरेको भैरहवा भन्सार कार्यालयको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप