मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेस आन्दोलनको तुक छैन, ‘टाठाबाठा’हरुले मधेशी जनतालाई गरिखान दिएनन्ः प्रधानमन्त्री

शुक्रबार, ०३ पुस २०७२, १६ : ३३
शुक्रबार, ०३ पुस २०७२

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कसैको लागि नभई नेपाली जनताले आफ्नो लागि संविधान निर्माण गरेको बताएका छन् । राष्ट्रियता र लोकतन्त्र बलियो बनाऔं, संविधानको प्रभावकारी कार्यन्वयन गरौं भन्ने मुल नाराका साथ नेकपा एमालेले आज कैलालीको अत्तरियामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । संविधान घोषणापश्चात मधेसमा भएको आन्दोलनको कुनै तुक नभएको भन्दै प्रधानमन्त्री ओलीले तराईमा बस्ने मधेशी, थारु, जनजातीहरुको लागि ४५ प्रतिशत आरक्षण संविधानले समेटेको बताए । आन्दोलनले मधेशमा बस्ने नेपाली जनताप्रति ठूलो बेइमानी भएको बताउँदै ओलीले त्यहाँका सामन्ती, ‘टाठाबाठा’हरुले मधेशमा बस्ने जनतालाई गरिखान नदिएको टिप्पणी गरे । ‘स्कुल बन्द गरेर त्यहाँका जनताका छोराछोरीको भविष्य बर्बाद गरेको छ ’, उनले भने , ‘आन्दोलन गर्ने नेताका छोराछोरी भने बिदेशमा पढ्न पठाएको छ । ’ प्रश्रब पीडामा छटपटिएका गर्भवती महिलालाई बोकेको एम्बुलेन्समा आगो लगाउने र आफू गाडीमा सयर हुने त्यस्तो आन्दोलन के हो भन्ने कुरा बुझ्न जनतालाई आग्रह गरे । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अनुचित भ्रम फिजाएर जातिय भेगिए नारा लगाई हिंसा फैलाउने व्यक्तितिर नलाग्न समेत जनतालाई सुझाए । उनले संविधानका कुनै विषयमा मत भिन्नता छ भने वार्ता र टेबुलको माध्ययमद्धारा हल गर्नुपर्ने यदि नभए यसलाई कार्यान्यनको दिशामा अघि बढाउनुपर्ने बताए । उनले संविधान जारी भइसकेपश्चात ५९६ जनाले अंगिकृत नागरिकता प्राप्त गरिसकेको स्पष्ट पारे । यस्तै आमसभामा उपप्रधान एवं रक्षामन्त्री भीम रावलले संविधानको कार्यान्वयनका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । कार्यक्रममा नेकपा एमालेका थारु तथा जनजाति नेताहरुले संविधान जारी पश्चात भएका आन्दोलनहरु जनविरोधी भएको बताएका छन् । नेकपा एमालेका नेता हनुमान चौधरीले संविधान पल्टाएर हेर्ने हो भने सबैभन्दा अधिकार आदिवासी जनजाती थारु, मधेशी, जनजाती, महिला दिएको बताए । अहिले भैरहेको आन्दोलनले उल्टै अधिकारलाई समाप्त गर्ने र अवसरलाई गुमाउने भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप