मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

दावाको दादागिरीः जेलबाट निस्कनासाथ ठेकेदार तर्साउन थाले

सोमबार, ०६ पुस २०७२, ११ : २४
सोमबार, ०६ पुस २०७२

काठमाडौं – गणेश लामाका विश्वासपात्र मानिएका दावा लामा भनिने जितेन्द्र तामाङ जेलबाट छुटेको मुस्किलले एक साता मात्र भएको छ । लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका लामाले छुट्नासाथ उच्च घरानियाँ व्यापारी र ठेकेदारहरूलाई तर्साउन थालेको पाइएको छ । ‘छुटेको दुई दिनमै मेरो एकजना निर्माण व्यवसायी साथीलाई फोन गरेर मुद्दा लड्दा धेरै खर्च भयो, तपाईंले सहयोग गर्नुपर्यो भनेको रहेछ,’ काभ्रेमा सडक निर्माणकार्यमा संलग्न एक निर्माण व्यवसायीले भने, ‘दावा जेलमा हुँदा सहज थियो, अब धेरै गाह्रो हुन्छ ।’

काभ्रेको सल्ले–२ स्थायी घर भएका लामा ०७१ भदौ पहिलो साता जोरपाटीबाट खैरो हिरोइनसहित समातिएका थिए । करिब १५ महिना जेलमा बिताएका लामालाई जिल्ला अदालत काठमाडौंको १४ नम्बर इजलासका न्यायाधीश डिल्ली रत्न श्रेष्ठले सफाइ दिएका थिए । दावाको पक्षमा एक वरिष्ठ प्रहरी अधिकारीका भाइले समेत बहस गरेका थिए ।

यस्तो थियो दावाको विगत ! ०६० को दशकमा दावा लामा ठमेलको रोयल किचनमा काम गर्थे । त्यतिबेला रोयल किचन काजी शेर्पाको स्वामित्वमा थियो ।

दावा रोयल किचनको बाउन्सर हुँदा ठमेलमा मनाङे र चक्रे मिलनको झगडा सुरु भइसकेको थियो । उनी मनाङे समूहतिर लागे, जहाँ दीपक मनाङे दायाँ–बायाँ थिए, गणेश लामा र विष्णु लामा । काभ्रेलीको नाताले दावाको संगत गणेश र विष्णुसँग बाक्लियो ।

दीपक मनाङेको निर्देशनअनुसार ठमेलतिर पैसा उठाउने दावाले पछि मनाङेलाई छाडिदिए । काजीलाई गोली हानेको केसमा मनाङे जेल परेपछि गणेश लामाले काभ्रेलीहरूको छुट्टै समूह बनाए । दावा त्यही समूहमा लागे र गणेश लामाको मुख्य सहयोगीको भूमिकामा रहे । काभ्रेली समूहमा हरेर ठमेल, दरबारमार्ग, मैतीदेवीलगायत स्थानमा हप्ता असुली कार्यमा संलग्न लामा पैसा नदिनेलाई खुकुरी हान्न माहिर थिए । ०६२/६३ मा तातोपानी नाका हुँदै रक्तचन्दन ओसापसार गर्ने समूहको बिगबिगी थियो । ठीक त्यही समयमा काभ्रेको दोलालघाटनजिकै पदम थापा लगायत तीनजना रक्तचन्दन कारोबारी गाडीमै जलेको अवस्थामा भेटिएका थिए । यसमा दावा समेत संलग्न रहेको हुन सक्ने उच्च प्रहरी अधिकृतको भनाइ छ । यो प्रकरणमा दावा संलग्न रहेको आशंकामा प्रहरीले लामो समय अनुसन्धान गरेको थियो । त्यतिबेला अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृत भन्छन्, ‘पदम थापाहरूको साथमा करिब ४० करोड पैसा रहेको र त्यो पैसा दावाको समूहले लुटेको आशंकामा हामीले लामो अनुसन्धान गर्यौँ, तर खास प्रमाण भेटिएन ।’ सोही घटनापछि दावाको आर्थिक हैसियत अचानक अकासिएको थियो । हाल राजधानीमा दावाको पाँचवटा घर रहेको उनी निकट स्रोतको भनाइ छ ।

०७० मा ललितपुरका व्यवसायी राजन श्रेष्ठलाई खुकुरी हानेका लामाले सोही वर्ष टेकुका सुनील अग्रवालको अपहरण गरी करिब ५५ लाखको चेक लगेका थिए । यसरी गम्भीर अपराधमा संलग्न भए पनि दावाको फाइल सरकारी वकिल कार्यालय काठमाडौंले कमजोर बनाएको एक कानुन व्यवसायीले बताए । काठमाडौं उपत्यकाको गुन्डागर्दीमा कहलिएका दावा जेलमा बस्दा खुमबहादुर खड्का बसेको कोठामा बसेका थिए ।

प्रहरीलाई थपियो चुनौती दिनेश अधिकारी र कुमार घैँटेको इन्काउन्टरसँगै काठमाडौंमा गुन्डागर्दी गर्नेहरूको भागाभाग भएको थियो । धेरै गुन्डा समूहका सदस्यहरू बिदेसिए पनि दावाले सफाइ पाएसँगै उपत्यकामा उनले पुनः चलखेल गर्ने सक्ने एक प्रहरी अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार यसरी मुद्दा जितेर निस्केकामध्ये केही गुन्डाले पेसा परिवर्तन गर्ने गरेको भए पनि केही भने नयाँ योजनाका साथ पुनः गुन्डागर्दीमै फर्कने गरेका छन् । एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘जेलबाट निस्केपछि पनि केही गुन्डाहरू कार्यशैली परिवर्तन गरेर पुनः पुरानै पेसामा फर्केको पाइन्छ ।’ करिब १५ महिना जेल बन्दा दावाले पनि नयाँ नेक्सस बनाएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । यदि दावाले पुरानै पेसा अँगालेमा उपत्यकाको प्रहरीका लागि एउटा अर्को चुनौती थपिनेछ । अबका दिनमा दावाले अपहरण वा लागुऔषधको योजना बनाएको मात्र थाहा पाएमा कारबाहीको दायरामा ल्याउने बताउँछन्, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल । भन्छन्, ‘अब उनले त्यस्तो नसोचे पनि हुन्छ, किनकि त्यस्ता योजना कार्यान्वयन गर्न नपाउँदै हामी कारबाहीको दायरामा ल्याउँछौँ ।’ राजधानीमा कहलिएको गुन्डा भएकाले दावामाथि उपत्यकाको प्रहरीले निगरानी सुरु गरिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी रेवती ढकालले बताए ।

जेलबाट निस्कनासाथ भोज मिलन चक्रे पाँच वर्ष जेल बसेका थिए । रमेश बाहुन १५ वर्षे कैद भुक्तान गर्दै छन् । अन्य गुन्डाहरूको तुलनामा छोटो समयमै सफाइ पाएका दावाले जेलबाट छुट्नासाथ बौद्धको एक होटलमा भोज गरेको बताइएको छ । स्रोतका अनुसार सो भोजमा काभ्रेली समूहका अधिकांश सदस्यहरू सहभागी थिए । दावाको भोजमा कांग्रेसका एक सभासद् समेत सहभागी भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप