मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जानकी मन्दिरमा कुकुर छिराएकाले गंगाजल छर्किएको होः यादव

सोमबार, ०६ पुस २०७२, १४ : ३७
सोमबार, ०६ पुस २०७२

काठमाडौं- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जारी राजनीतिक संकटको समाधान ‘प्याकेज’मै गर्नु पर्ने बताएका छन् । सोमबार पार्टीनिकट संघीय प्रेस युनियनसँगको भेटघाटका क्रममा अध्यक्ष यादवले सत्तापक्ष र प्रमुख दल नेपाली कांग्रेससँग प्याकेजमै राजनीतिक सहमति गरी समाधान निकाल्न छलफल गरिरहेको बताएका हुन् । मधेसी मोर्चाका एक प्रमुख घटकका अध्यक्ष यादवले संसद बैठक आगामी शुक्रबारसम्म स्थगन गरिएको भए तापनि मधेस समस्याको समाधान सरकारको ‘मुड’मा भर पर्ने बताए । उनले यसबीचमा कांग्रेस सभापति सुशील कोइरालाबाहेक अन्यसँग छलफल नभएको समेत जनाए । उनले संसद्बाट संविधान संशोधन विधेयक पारित भए तापनि अमूर्त रहेको आरोप लगाए । ‘संशोधन विधेयक अमूर्त छ,’ उनले युनियनका टोलीलाई जानकारी गराउँदै प्रतिप्रश्न गरे, ‘कसका लागि ल्याइएको हो ? कसले फाईदा पाउने हो ? यसमा स्पष्ट छैन ।’ अध्यक्ष यादवले संविधान परिमार्जन गरेर काम लाग्नयोग्य भए त्यसलाई मान्न सकिने संकेतसमेत दिए । ‘समावेशिता अधिकारबाट वञ्चित र सीमान्तकृतको लागि हो,’ उनले भने, ‘ठोस रुपमा सीमान्तकृत, उत्पीडित समुदायको अधिकार सुनिश्चित हुन्छ भने मान्न सकिन्छ ।’ यद्यपि, उनले सीमांकनको विषयलाई तीन महिनापछि धकेलेर जान नसकिने बताए । सरकार र प्रमुख दलहरुलाई विश्वास गर्ने आधार नभएकाले पनि सबै विषयमा प्याकेजमै सहमति गर्नुपर्ने जोड उनले दिए । उनले संविधान केही व्यक्तिको महत्वकांक्षा र अहंका आधारमा जारी भएकाले सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, शिल्पी (दलित) समुदायलगायतको पूर्णअधिकार सुनिश्चित हुन नसकेको जिकिरसमेत गरेका छन् । यसैगरी, युनियनका अध्यक्ष गोविन्द छन्त्यालको नेतृत्वमा पुगेको टोलीलाई वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राईले अधिकारको जारी आन्दोलनबारे केही मिडियाले गलत सूचना दिइरहेकोमा चिन्ता व्यक्त गरे । यसैबीच, अध्यक्ष यादवले जानकी मन्दिरमा विधवा राष्ट्रपति प्रवेश गर्नाले अशुद्ध भएको भनाईलाई खण्डन गरेका छन् । उनले मन्दिरमा विधवा राष्ट्रपति विद्या भण्डारी प्रवेश गर्नाले भन्दा पनि मन्दिरभित्र कुकुर छिराएर जथाभावी सुगाएको र ¥याल चुहिएकाले मन्दिर शुद्ध गर्न गंगाजल छर्किनु स्वभाविक भएको बताएका हुन् । साथै, उनले छालाको बुटसहित सेना र प्रहरी कुकुरसहित छिर्नुलाई साँस्कृतिक अतिक्रमणको संज्ञा दिएका छन् । ‘कुनैपनि मठमन्दिरमा जुत्ता लगाएर कुकुर प्रवेश गर्न पाइँदैन,’ उनले भने, ‘तर, बुटसहित सेनाले कुकुरलाई मन्दिरभित्र लगेको छ । यसैले गर्दा गंगाजल छर्किइएको हो ।’ उनले कुनैपनि विधवा महिलालाई पूजापाठ गर्नबाट मन्दिरमा आजसम्म वञ्चित गरिएको उदाहरण नभएकाले विधुवा भएकै कारण गंगाजल छर्किएको विषयलाई उछाल्नु वाईयात भएको टिप्पणीसमेत गरे । ‘विधुवा भएकैले गंगाजल छर्किएको भन्नु वाईयात कुरा हो,’ उनले भने, ‘मन्दिरमा पूजा गर्न विधुवालाई पनि कसैले रोक्न मिल्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप