मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिमाथि अभद्र व्यवहारबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

बुधबार, ०८ पुस २०७२, १५ : २०
बुधबार, ०८ पुस २०७२

काठमाडौँ - व्यवस्थापिका–संसद्ले विवाह पञ्चमीका दिन जनकपुरको राम जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारका बारेमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गरेको छ ।

संसद्को आजको बैठकमा समय माग गरी सांसदले राष्ट्रपतिमाथि जनकपुरमा भएको दूव्र्यवहारले सम्पूर्ण नेपालीको अपमान भएको भनी आपत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले उक्त घटनाको बारेमा संसदको आगामी बैठकमा जानकारी गराउन निर्देशन दिएकी छिन् ।

उनले भनिन्, “जनकपुरमा राष्ट्रपतिमाथि भएको अभद्र व्यवहारप्रति आपत्ति जनाउँदै सांसदले प्रश्न उठाउनु भएकाले नेपाल सरकारलाई संसदको आगामी बैठकमा जानकारी गराउन निर्देशन गर्दछु ।”

बैठकको प्रारम्भमै समय माग गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले जनकपुरमा राष्ट्रपतिमाथि एक जात र समुदायले अपमानित गर्ने काम गरेको छ भनी आपत्ति प्रकट गरे ।

संसद् भनेको जनताको आवाज पु¥याउने थलो भएपनि नाकाबन्दी र कालोबजारीबाट नेपाल र नेपाली जनता मारमा पर्दासमेत संसदमा कुरा राख्न नपाएको भनी रोष प्रकट गर्दै उनले भने, “देशमा कालोबजारी भएको छ, भ्रष्टाचार मौलाएको छ, ३०० नेताको नाममा पेट्रोल पम्प सञ्चालनमा रहेकामा त्यसमा व्यापक कालोबजारी भएकाले छानबिनको आवश्यकता देखिएको छ ।”

नेकपा ९एमाले०का सांसद सुशीला नेपालले संविधानले कसैलाई पनि जाति र लिङ्गका आधारमा विभेद गरिने छैन भनिएपनि मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा महिला राष्ट्रपतिप्रति अपमान गर्ने काम गरेको भनि आपत्ति जनाइन् । उनले भनिन, “महिलालाई अपहेलना गर्ने, दुव्र्यवहार गर्ने कार्य भएको छ, यो घटनाबाट सबै नेपाली महिला र विश्वका महिलामाथि दुव्र्यवहार भएको छ ।”

जनकपुर घटनाको बारेमा संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखसमक्ष आग्रह गर्दै उनले घटनाको भत्र्सनाका साथ दोषिलाई कारबाहीको माग गरिन् ।

एकीकृत नेकपा (माओवादी)का सांसद सीता नेपालीले जनकपुरमा राष्ट्रपतिमाथि भएको दुव्र्यवहारले समग्र राष्ट्र र महिलामाथि अपमान भएको बताइन् । उनले भनिन्, “जनकपुर घटना खेदको विषय हो, यो विषयमा सबै दल एक हुनुपर्ने आवश्यकता छ, छानबिन समितिले छिटो छानबिन गरेर दोषिमाथि कारबाही गर्नुपर्छ ।”

राप्रपा नेपालकी कान्ता भट्टराईले जहाँ नारीको सम्मान हुन्छ त्यहाँ ३३ कोटी देवता खुसी हुन्छन् भन्ने धार्मिक मान्यता रहेपनि सीताको जन्मथलोमा महिला राष्ट्रपतिमाथि दुव्र्यवहार हुनु भनेको अत्यन्त दुःखको कुरा भनिन् । उनले भनिन्, “जनकपुर घटना सम्पूर्ण नारी माथिको अपमान हो, दोषिलाई न्यायिक कठघरामा उभ्याएर कडा कारबाही गरिनुपर्छ ।”

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सांसद गीता क्षेत्रीले जनकपुर घटनालाई मानवअधिकारको गम्भीर उल्लङ्घनको घटनाको सङ्ज्ञा दिएइन्। उनले भनिन्, “यस्तो निन्दनीय घटनामा संलग्नलाई कारबाहीका साथै शिक्षा दिएर नारीको अपमान गर्नु हुँदैन भन्ने पाठ पढाउन आवश्यक छ ।”

एमालेका सांसद राज्यलक्ष्मी श्रेष्ठले महिला जस्तै दुःख पर्दापनि धैर्य गरेर अघि बढ्ने धर्तीका रुपमा रहने महिला राष्ट्रपतिमाथि अपमान भएको विषयमा संसदबाट विशेष प्रस्ताव पारित हुनुपर्ने बताइन् ।

नेकपा ९माले०का सांसद कमला विश्वकर्माले राष्ट्रपति जस्तो गरिमामय पदमा रहेको व्यक्तिमाथि भएको दुव्र्यवहार हामी सम्पूर्ण नेपाली माथिको अपमान भएको बताइन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले भारतले लगाएको नाकाबन्दीलाई संसद्मा छलफलको विषय बनाउन नसकिएकोमा गुनासो गर्दै आफ्नो पार्टीले दर्ता गराएको यससम्बन्धी प्रस्तावमाथि छलफल गराउन माग गरिन् । उनले तराईमा महिलामाथिको विभेद, दाइजो र शिक्षासम्बन्धी समस्या नहटेसम्म जनकपुर घटना दोहोरिन सक्ने भएकाले यस्ता घटना फेरिपनि हुन नदिनका लागि शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याइन् ।

बैठक प्रारम्भ भएदेखिनै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले रोष्टम घेराउका साथ सदन चलुन्जेल लगातार नाराबाजी गरेका थिए । संसदको अर्को बैठक आगामी आइतबार अपराह्न १ बजे बस्नेछ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप