चाल्नाखेल घटनापछाडि अवैध हतियार राख्नेदेखि सिलिन्डरको पिँध काट्नेसम्म
काठमाडौं– मंगलबार चाल्नाखेलस्थित एभरेस्ट ग्यास उद्योगमा उपभोक्ताले उद्योग तोडफोड गरे । केही प्रहरी घाइते भए । डिएसपी टीकाबहादुर केसीको पेस्तोल नै हराएर ३१ घन्टापछि बुधबार फेला पर्यो । डिएसपी केसीकै कमजोरीले पेस्तोल हराएको प्रहरीले निष्कर्ष निकालेर उनलाई कारबाही पनि सुरु गर्यो । प्रहरीकै पेस्तोल खोस्ने आपराधिक मानसिकता भएका व्यक्तिको खराब नियतबाहेक चाल्नाखेल घटना संकटका बेला सर्वसाधारण उपभोक्तालाई ठग्ने कालोबजारियाका कारण भएको स्रोत बताउँछ । स्रोतका अनुसार कालोबजारी गर्ने भने अरू कोही नभएर नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे भएको घटनाले देखाएको छ । ‘घिमिरेले कालोबजारी गर्ने र जनतालाई ग्यास नदिने गरेपछि आक्रोशित उपभोक्ता आक्रोशित बनेका हुन्,’ घटनाका एक प्रत्यक्षदर्शीले भने ।
घटनाको कारण
स्रोतका अनुसार उद्योग मालिक घिमिरेले उद्योगमा आइतबार ग्यास बुलेट ल्याएका थिए । त्यसपछि उद्योग (रिफिलिङ सेन्टर) सँगै रहेको डिपोबाट ग्यास लिन उपभोक्ता भेला भए । तर, घिमिरेले मंगलबार ग्यास लिन आउन भने । उनको आश्वासनपछि ग्यास लिन मंगलबार ९ बजेदेखि नै स्थानीयहरू लाइनमा बसेका थिए । तर, दिउँसो २ बजेसम्म पनि ग्यास व्यवस्थापक कोही पनि आएनन् । घन्टौँ लाइनमा बसेपछि पनि ग्यास बाँड्नुको साटो आज नबाँडिने भन्ने कुरा आएपछि आक्रोशित भीड तोडफोडमै उत्रियो । तोडफोड सुरु भएपछि प्रहरी घटना स्थलमा पुग्यो । अनि सुरु भयो, स्थानीय र प्रहरीबीचको झडप । कीर्तिपुर प्रहरी प्रमुख टीकाबहादुर केसी र हनुमान ढोका परिसरका डिएसपी रेवती ढकाललगायत घाइते भए ।
अवैध हतियार राख्नेदेखि सिलिन्डरको पिँध काट्नेसम्म
०७० माघ २० गते सोमबार अवैध हतियार राखेको अभियोगमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे पक्राउ परेका थिए । माघ ८ गते बेलायती रिभल्वरसहित उनका छोरा सुगम पक्राउ परेपछि अनुसन्धानको क्रममा प्रहरीले उक्त पेस्तोल शिव घिमिरेको भएको पत्ता लगाएपछि उनलाई पक्राउ गरेको थियो । पछि उनी छुटे । घिमिरे उनै व्यापारी हुन्, जसले सुनसरीको खनारमा रहेको सुगम ग्यास उद्योगमा सयौँ सिलिन्डरको पिँध काटेका थिए । अरू कम्पनीको सिलिन्डर चोरेर पिँध र घाँटी काटेको अवस्थामा अनुगमन समितिले फेला पारेको थियो । झन्डै २० हजार जोखिमयुक्त सिलिन्डर समेत टोलीले फेला पारेको थियो । यसरी अरु कम्पनीको सिलिन्डरको पिँध काटेर आफ्नो नामको बनाउँदा अरु कम्पनीका सिलिन्डर बजारमा रित्तिँदै जान्छ र एउटा कम्पनीको मात्र जताततै छ्यापछ्याप्ती देखिन्छ । उपभोक्ता पनि धेरै देखिने ग्यास सिलिन्डरमा मात्र आकर्षित हुन्छन् । घिमिरेले यही चोर शैली अपनाएर बजारमा आफ्नो कम्पनी सुगम ग्यासको मात्र लहर ल्याउने कुचेष्टा गरेका थिए । उनको यो कर्तूत गैरकानुनी त हो नै, सँगसँगै उपभोक्ताका लागि निकै खतरनाक पनि हो । जानकारका अनुसार यसरी पिँध काटेर टाँसिएको सिलिन्डर जुनसुकै बेला पड्कन सक्छ, यो ‘सिलिन्डर बम’जस्तै हुन्छ । यो हिसाबले घिमिरेले घरघरमा ‘ग्यास बम’ बाँडेको प्रस्ट हुन्छ । सिलिन्डरमा कुनै पनि प्राविधिक फेरबदल भएमा यो निकै खतरनाक हुन्छ ।
को हुन् घिमिरे ?
घिमिरे पेट्रोलियम व्यवसायीसँगै सञ्चार उद्यमी समेत हुन् । उनी मकवानपुरको भैँसेपाटीबाट ०५० सालमा इटहरी पुगेका हुन् । भैँसेपाटीमा रहँदा उनी पञ्चायतकालको प्रधानपञ्च समेत भएका थिए । पहिले उनले कमल थापासँग निकट रहेर काम गरेका थिए । स्रोतका अनुसार उनी इटहरीमा गएपछि राजनीति छाडेर व्यापारमा संलग्न रहे । पछि उनले नेपाली सेना पूर्वीपृतना हेडक्वार्टरमा रासन ठेक्काको काम पनि गरे । पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न निजी क्षेत्रलाई पनि संलग्न गराइने भनेपछि आयल निगमको प्रतिस्पर्धी संस्था बनाउन उनले सुनसरीको खनारमा नेपाः पेट्रोलियम ट्रेड लिंकको स्थापना गरेको स्रोत बताउँछ ।
राजनीतिक संलग्नता
नजिकबाट चिन्ने–जान्नेका अनुसार पञ्चायतकालमा घिमिरे कमल थापाका सहयोगी थिए । ०४६ सालको जनआन्दोलनपछि उनले एमाले नजिक भएर धेरै काम गरे । उच्च राजनीतिक तहमा राम्रै लिंक भएका कारण तमाम अपराध लुकाउन सफल रहेको स्रोत बताउँछ ।
घिमिरेको लगानी मिडियासम्म ग्यास र तेल व्यापार गर्ने उनी कालोबजारियाका नाइके हुन् । पटकपटक गुन्डागर्दी र कालोबजारी गर्दै आएका घिमिरेले आफ्नो कर्तूत ढाकछोप गर्न विभिन्न सञ्चारमाध्यममा समेत लगानी गरेका छन् । ‘पहिले उनको काठमाडौंको नेपाल एफएममा लगानी थियो,’ स्रोत भन्छ, ‘अहिले सुनसरी इटहरीमा रहेको मकालु टेलिभिजन र सप्तकोसी एफएम इटहरीमा उनको लगानी रहेको छ । उनको देशभर दुई दर्जनभन्दा बढी पेट्रोलपम्पमा लगानी छ । सुनसरीमा आफ्नै निजी पेट्रोलपम्प छन् ।’ घिमिरेको सुगम, एभरेस्ट, प्रिमालगायत ग्यास उद्योग छन् । उनीमाथि एउटा कम्पनीका लागि आएको बुलेट अर्को ठाउँमा पुर्याएर कालोबजारी गरेको समेत आरोप छ । सुनसरी खनारमा नेपाः पेट्रोलियम कम्पनी, सुनसरीमै कत्था उद्योग, इटहरीको मकालु टेलिभिजन र पोल्ट्री फर्म समेत उनले सञ्चालन गरेका छन् ।
उपभोक्ता मार्ने आन्दोलनदेखि निगम प्रमुख हटाउनेसम्म
आयल निगमका अघिल्ला कार्यकारी निर्देशक चण्डिका भट्टको पालामा गत वर्ष उपभोक्ताको हितका लागि भनेर दुई रंगका सिलिन्डर ल्याउने निर्णय भयो । ग्यास व्यवसायीले आइरहेको कोटा नपुगेको भन्दै बढाउन माग गरेका बेला निगमको यस्तो निर्णयपछि ग्यास उद्योगीहरू रिसाए र आन्दोलन सुरु गरे । घिमिरे नेतृत्वको आन्दोलनका बेला ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको फेला परेपछि भट्टले कालोबजारीको कसुरमा प्रशासनमा मुद्दा दायर गरेका थिए । ग्यासको कोटा बढाउनका लागि ग्यास उद्योगीले गरेको प्रस्ताव पनि उनले मानेनन् । उनीहरूले होटल सोल्टीमा बोलाएर कोटा बढाउन भन्दै अतिरिक्त पैसाको प्रस्ताव गर्दा भट्टले अहिले आइरहेको ग्यास नै पर्याप्त हुने भन्दै कोटा बढाउन अस्वीकार गरेको उतिबेलै समाचार आएका थिए । निगमका एक कर्मचारीका अनुसार स्वचालित मूल्य, ढुवानी भाडा समायोजन, ग्यासको कोटा वृद्धि नगर्ने अडान लिएपछि घिमिरे नेतृत्वमा भएको कालोबजारी र निगमका कर्मचारीको अभियानले भट्टलाई नै हटाइएको हो ।
नाकाबन्दीका बेला कालोबजारीमा घिमिरे अगाडि
देशमा भारतीय नाकाबन्दीका कारण ग्यास संकट हुँदा घिमिरे भने कालोबजारीमा संलग्न छन् । उनको एभरेस्टमै ग्यास नदिएर उपभोक्ता ठग्नेसहित विक्रेताकहाँ नपठाई नयाँ डिपोमा ग्यास पठाउने, नयाँ ग्यास बेच्न पठाउने लगायत कार्य भएको प्रहरीले फेला पारेको छ । नाकाबन्दीकै अवधिमा उनले पठाएको ग्यास लुकाएको अवस्थामा नयाँबानेश्वर बलभद्र मार्गस्थित राजु एन्ड दाजु ग्यास स्टोरको सञ्चालक राजकुमार भट्टलाई प्रहरीले एक थान एभरेस्ट कम्पनीको ग्यास भरिएको सिलिन्डर र २१ थान सुगम कम्पनीका आधा ग्यास भरिएको सिलिन्डर लुकाइराखेको अवस्थामा फेला पारेको हो । विक्रेतालाई ढुवानी भाडा नदिन र विक्रेतामार्फत ग्यास नदिएर कालोबजारी गर्नेमा घिमिरेका उद्योग अगाडि छन् । ‘ढुवानी भाडा दिन्नन् तर २० वटा आधा सिलिन्डर लिन धादिङ बोलाउँछन्,’ एक ग्यास विक्रेता भन्छन्, ‘नाफा नराखी उपभोक्तालाई दिउँ भने पनि भाडा नदिएपछि कसरी ल्याउने ?’ विक्रेतालाई ढुवानी भाडा नदिने, थोरै सिलिन्डर लिन टाढासम्म बोलाउने गर्दा विक्रेताहरू नजाने र त्यही मौका पारेर कालोबजारीमा ग्यास बेच्ने गरेको सरोकारवालाको दाबी छ । एक ग्यास व्यवसायीले भने, ‘२० वटा लिन धादिङ र नवलपरासी बोलाएपछि विक्रेता जान्नन्, अनि त्यही ग्यास कालोबजारी गर्छन् ।’ उद्योगीहरूले ग्यासको वितरण प्रणालीमा सहजीकरण गर्ने कन्ट्रोल रुममा समेत जानकारी नपठाएर हैरानी पारेको त्यहाँका कर्मचारी बताउँछन् । ‘भोलि ग्यास बाँड्ने भए अघिल्लो दिन नै यहाँ जानकारी पठाउनुपर्ने हो,’ कन्ट्रोल रुमका सुजित कुमार ओझाले भने, ‘तर पहिला ग्यास बाँडेको भन्छन् । अनि पछि मात्र हामीलाई जानकारी गराउँछन् ।’
यो पनि पढ्नुहोस् चाल्नाखेल घटनाः कालोबजारीको नतिजा, पेस्तोल हराउने डीएसपी काठमाडौं परिसरमा तानिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण