मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सडकबाट : साना व्यवसायीका गुनासो— लोडसेडिङले टिक्नै गाह्रो भो

शुक्रबार, २४ पुस २०७२, १४ : २८
शुक्रबार, २४ पुस २०७२

नविन्द्र शाही, प्लान माई ट्रिप ट्राभल एजेन्सी, कोपुण्डोल हाम्रो सबै काम अनलाइनबाटै हुन्छ । प्लेन र बसको टिकेटिङ गर्र्छौं । ट्राभलसम्बन्धी सबै काम गर्नुपर्ने हुन्छ । नेटबिना कामै हुँदैन । नेट कनेक्ट गर्न बत्ती चाहियो नै । बत्ती नै आउँदैन, खै के काम गर्नु ? चारवटा कम्प्युटर छन् । इन्भर्टरले धेरैबेर धान्दैनन् । आधा काम रद्द गर्नुपर्ने हुन्छ । जाडो मौसम हाम्रो काम फस्टाउने समय हो, अरु समयमा खासै काम हुँदैन । गर्मीमा मानिसहरु त्यति घुम्न मन पराउँदैनन् । हरेक वर्ष काम चल्ने समयमै लोडसेडिङ बढ्छ । विश्वका विकसित मुलुकहरु ट्राभल एजेन्सीबाटै कति प्रगति गरिरहेका छन् । हाम्रो नेपालमा अनेकौँ अवसर हुँदाहुँदै पनि ट्राभल एजेन्सीमा केही भविष्य नै देख्दिनँ म । काम गर्नैपर्यो । गर्न मिल्ने काम घरमै बत्ती आएको मौका छोपेर आधारातमा उठेर गर्छु ।

हामीले काम गरेर कमाउन पाएका छैनौँ । तर कर समयमै बुझाउनुपर्छ । कमाइ छैन, करको मात्र भार लगाएर सरकारले साधारण गरिखाने जनतामाथि अन्याय गरेकोजस्तो मलाई लाग्छ । आखिर कहिलेसम्म चल्छ यसरी ? जनता पसिना बगाउन तयार छन्, सरकार सधैँ सुस्त छ । सरकारले पेसा, व्यवसाय गरेर खाने सहज वातावरण बनाइदिए हामीलाई धेरै नै राहत हुन्थ्यो ।

उषा थापा, वास्तुकला परामर्श नेपाल, ज्वागल हाम्रो अफिसले इन्जिनियरिङ सम्बन्धी काम गर्छ । खासगरी इन्टेरियर डिजाइन, आर्किटेक्चर र भवन पुलको नक्सा बनाउने काम गर्छ । जमाना टेक्नोलोजीको छ । टेक्नोलोजी र विद्युत्सँगै जोडिएर आउने कुरा भइहाले । हाम्रो अफिसमा सयमा ९९ प्रतिशत काम विद्युत्बिना सम्भव नै छैन । बत्ती नहँुदा त हात बाँधेर बसे पनि हुन्छ । प्रायः काम अनलाइनबाट गर्नुपर्ने हुन्छ । हरेक क्लाइन्टसँग अनलाइन डिलिङ गर्नुपर्ने काम हो हाम्रो । अत्यावश्यक कागजात फोटोकपी र प्रिन्ट गरिरहनुपर्छ, नत्र काम आधा नै अड्किन्छ । अहिले १३ घन्टा लोडसेडिङ छ । हाम्रो काममा त धेरै नै असर परेको छ । १६ वटा कम्प्युटर चलाउनुपर्ने हुन्छ । सबै कम्प्युटरलाई धान्ने जेनेरेटर छैन । धानिहाले पनि लामो समयसम्म टिक्दैन । एक गिलास पानी तताउनुपर्यो भने सबै ब्याकअप बन्द गर्नुपर्छ, नत्र पड्किन्छ । कामै ठप्प हुन्छ । यसले काममा पनि ढिलाइ भएकै छ । हप्तैपिच्छे लोडसेडिङ बढेको बढ्यै छ । काम सुस्ताउँदै छ ।

‘जुन जोगी आए पनि कानै चिरेको’ भनेझैँ हाम्रो सरकारको चाला छ । सत्ता हात नलागेसम्म गुलिया कुराले जनतालाई लोभ्याउँछन् । स्वार्थ पूरा भएपछि सबै बिर्सने रहेछन् । नयाँ संविधान बन्यो, नयाँ सरकार आयो, हामीलाई हर्ष न विस्मात । हाम्रा समस्या ज्यँुका त्युँ छन् । सेवा–सुविधा केही छैन, करको भार मात्र थेग्नुपरेको छ । सरकारले छिटोभन्दा छिटो लोडसेडिङ घटाउन पहल गर्नुपर्छ ।

शेरबहादुर राई, चाम्लिङ नेट साइबर, जाउलाखेल साइबर खोलेको १० वर्ष भो । सुरुमा साइबर खुब चल्थे । प्रतिस्पर्धा पनि कम थियो । उतिखेर कहिलेकाहीँ मात्र लोडसेडिङ हुन्थ्यो । खासै फरक पर्ने थिएन । आजभोलि त लोडसेडिङ कतिखेर भन्दा पनि बत्ती कतिखेर आउँछ भन्दै कुर्नुपर्ने अवस्था छ । बिजुलीबिना मेरो कामै हुँदैन । १४ वटा कम्प्युटर छन् । जेनेरेटरले धान्न सक्दैन, केही घन्टा मात्रै हो । फेरि बत्ती नआएर जेनेरेटर आधा मात्र चार्ज हुन्छ, आधा चार्ज भएको जेनेरेटर चलाउँदा चाँडै बिग्रन्छ । इन्भर्टर पनि कति किन्नु ? कामै ठप्पजस्तै भएको छ । परिवार पाल्नै मुस्किल हुन लाग्यो । लोडसेडिङ नहुँदा दैनिक पाँच हजारसम्म कमाइ हुन्थ्यो, लोडसेडिङ बढेको बढ्यै छ । दिनमा पाँच सय पनि कमाइ हुँदैन । घरभाडा महँगो छ । टिक्न सकिएलाजस्तो छैन । साइबर चल्ने समय भनेकै बिहान र साँझ हो, त्यतिखेर त झन् बत्ती नै हुँदैन । काम नै चौपट हुन लाग्यो ।

हामी जनताले अति नै दुःख पाइरहेका छौँ, सरकारले चासो देखाउँदैन । सुविधा केही छैन । होइन सरकारलाई फोकटको कर तिर्ने ठेक्का लिएका छौँ र हामीले ? कि त कर सिस्टम हटाउनुपर्यो कि कर तिरे करको अर्थ हुनेगरी हामीलाई सेवा–सुविधा दिनुपर्योे । कान थुनेर बसेको सरकारबाट आशा त केही छैन । यस्तै अवस्था रहिरह्यो भने गाउँ फर्केर हलो जोत्नु पर्ला ।

सडकबाट : गृहिणीको पीडा– न दाउरा पाइन्छ, न बत्ती आउँछ, बिजोग छ 

सडकबाट : ट्याक्सीचालकको सरकारलाई प्रश्न – यसरी कतिदिन बाँच्न सकिन्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप