मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सिने-संवाद : राजेश हमालले कम्ब्याक गरेको फिल्म ‘बागमती’ को कथा

शुक्रबार, २४ पुस २०७२, १४ : ५०
शुक्रबार, २४ पुस २०७२

नेपाली सिनेमा क्षेत्रमा दिनेश दर्शनधारी नयाँ नाम हो । तर आजबाट यस क्षेत्रमा उनको जबर्जस्त ‘इन्ट्री’ भएको छ– अहिलेसम्म सबैभन्दा बढी लगानीमा बनेको भनिएको सिनेमा ‘वागमती’का निर्माताको रूपमा । राजेश हमालको ‘कमब्याक’ गराउने चर्चा भइरहेको सिनेमा आज ‘रिलिज’ भएको छ । कला अनुरागीसँगको कुराकानीमा ‘वागमती’ र यसमार्फत ‘ट्री इन्टरटेनमेन्ट’ ब्यानरअन्तर्गतको निर्माता समूहले नेपाली सिनेमामा गर्न खोजेको कामबारे दर्शनधारी यसरी प्रस्तुत भए :

सिनेमामा परिवर्तन : पहिलो मिसन नेपालमा अहिलेसम्म सिनेमा क्षेत्रलाई उद्योगको मान्यता दिइएको छैन । त्यसैले हामीले सिनेमा क्षेत्रमा आउनुअघि यसलाई उद्योगको रूपमा विकास गर्न सकिन्छ कि सकिँदैन भनेर अनुसन्धान गर्यौं । अनुसन्धानपछि हामी निष्कर्षमा पुग्यौं– विदेशी सिनेमाको दर्शकलाई नेपाली सिनेमामा फर्काउनुपर्छ । त्यसो गर्न राम्रा सिनेमा दिनु आवश्यक छ । त्यसले रोजगारी बढाउँछ । कलाकार र अन्य पक्षले श्रमको उचित मूल्य पाउँछन् । त्यसो भयो भने यो उद्योगको रूपमा विकास हुन्छ । बलिउडमा एउटै कलाकारले करोडौं कमाउँछन्, दक्षिण भारतमै पनि दुई÷तीन करोड पाउँछन् । तर यहाँ पैसा हालेर हिरो बन्ने अवस्था छ । त्यसैले व्यवसायिकतामा समस्या छ । यस्ता समस्या समाधान गर्दै नेपाली सिनेमा क्षेत्रलाई परिवर्तन गर्न हामी सिनेमा उद्योगमा सचेततापूर्वक आएका हौं । हरेक व्यवसायअघि अनुसन्धान आवश्यक छ । हामीले पनि अनुसन्धानमा छुट्टै लगानी गरेका छौं । त्यसैले हामी सफलतामा पनि ढुक्क छौं ।

२० करोडको लक्ष्य हामीले सिनेमा बनाउनुअघि निर्देशकले पनि अनुसन्धान गर्नुभयो । हामीले छुट्टै पनि गर्यौं । त्यसले नेपालमा राम्रो सिनेमा बनाउने हो भने २० करोडसम्म संकलन गर्न सक्छ भन्ने देखायो । हाम्रो अनुसन्धान केही समयमै पुष्टि पनि भयो । ‘कोहिनूर’ले झण्डै १५ करोड कूल संकलन गर्यो भन्ने सुनियो । ती दर्शकलाई नेपाली सिनेमाले निरन्तर आकर्षण गर्न सक्ने हो भने बजार त रहेछ भन्ने प्रमाणित भयो । पछिल्लो समयमा ‘कबड्डी कबड्डी’को संकलनले पनि त्यसलाई प्रमाणित गरेको छ । जुन निष्कर्ष हामीले एब बर्षअगाडि नै निकालेका थियौं । त्यही भएर हामीले ठूलो लगानी गर्न तयार भयौं । आजबाट रिलिज भएको ‘वागमती’मा हामीले प्रोमोसनबाहेक नै साँढे दुई करोड लगानी गरेका छौं । हाम्रो अर्को आधार भनेको हिन्दी सिनेमाको बजार हो । नेपालमा हिन्दी सिनेमाको बजार नेपालीको भन्दा धेरै ठूलो भएको कुरा त अध्ययन नै नगरी थाहा हुन्छ । त्यसैले हिन्दी सिनेमाका दर्शकलाई पनि नेपाली हेर्ने बनाउन सकियो भने २० करोडसम्म संकलन सजिलै गर्न सकिन्छ । अहिले नै बनिरहेका राम्रा सिनेमाले पनि चार÷पाँच करोड त उठाइ नै रहेका छन् । एक÷डेढ करोडमा राम्रै सिनेमा बनाउन सकिन्छ भन्ने पनि देखिँदैछ । त्यसैले हाम्रो अध्ययन दिनप्रतिदिन प्रमाणित भइरहेको छ ।

कम लगानी : मुख्य कमजोरी हाम्रो अनुसन्धानले के देखायो भने आर्थिक कुराले अरू क्षेत्रलाई जस्तै सिनेमालाई पनि प्रभावित पारिरहेको छ । नेपाली सिनेमाको मुख्य कमजोरी लगानी हो । किनभने हामी पहिले नै दर्शकले हेरिदिन्नन् कि भनेर डराउँछौं र कम लगानी हुन्छ । अहिले औसत ५० लाखको हाराहारीमा सिनेमा बनिरहेको छ । त्यसो हुँदा क्षमता हुँदाहुँदै पनि राम्रो काम हुँदैन । प्रविधिको गुणस्तर पनि कमजोर हुने नै भयो । त्यसैले लगानी नै सबैभन्दा ठूलो कुरा हो । कम लगानीमा जस्तो पायो त्यस्तै सिनेमा बनाउँदा दर्शकलाई तान्ने होइन, उल्टै विकर्षण गरिरहेको छ । र, नेपाली सिनेमा राम्रो हुँदैन भन्ने दृष्टिकोण बनिरहेको छ । त्यसलाई परिवर्तन गर्न पनि लगानी बढाउनु आवश्यक छ ।

साउथ इन्डियन सिकाइ सिनेमा क्षेत्रमा आउनुअघि त हामीले हलमा हेरेकामात्रै थियौं । यस क्षेत्रको कोही पनि चिन्दैनथ्यौं । तर इन्डियाबाट दुबइमा बसेका केहीसँग हाम्रो सम्बन्ध थियो । उनीहरूले साउथ इन्डियन सिनेमा बनाएका थिए र सफल भएका थिए । त्यही आधारमा मैले उनीहरूलाई प्रस्ताव राखें, ‘हाम्रो नेपालमा पनि तिमीहरूकै क्षेत्रजस्तो हो । हाम्रो पनि तीन करोड जनता, तिमीहरूको पनि तीन करोड नै । तिमीहरूकोमा जति हल छ, हाम्रो पनि त्यति नै छ । तिमीहरू सिनेमाले चाहिँ २०÷२५ करोड उठाउने, हाम्रोमा नउठ्ने भनेपछि हाम्रोमा केही कमजोरी छ । त्यो कमजोरी हटाउन हामीलाई मद्दत गर्नुपर्यो ।’ उनीहरू मद्दतका लागि तयार भए । त्यसै क्रममा निर्देशक सन्नी केरलासँग कुरा अघि बढ्यो । म आफैं पनि साउथ इन्डियन सिनेमा धेरै हेर्छु । यसको नेपालमा ठूलो मार्केट छ । बलिउडमा पनि साउथको प्रभाव देखेकै छौं । त्यहाँबाट मान्छे ल्याएर यहाँ काम देखाएपछि नेपालमा पनि सिक्न र सिकाउन सकिन्छ भन्ने पनि लागेको हो । सँधै उनीहरूलाई नै ल्याउन त सकिँदैन पनि । किनकि उनीहरू धेरै महँगा छन् ।

उम्दा प्रविधि, उम्दा प्राविधिक अहिलको प्रविधि परिवर्तन निकै गतिमा छ । हिजो र आजकै प्रविधिमा फरक पर्ने समय हो यो । बलिउडमै पनि बाहुबलीको प्रयोग भएको प्रविधिले धेरैलाई लोभ्यायो । ‘वागमती’मार्फत हामी पनि त्यो प्रविधिको प्रयोग गर्न सक्छौं भन्ने देखाएका छौं । त्यसको लागि हामीले उम्दा प्रविधि र उम्दा प्राविधिक प्रयोग गर्यौं । हामीले जुन स्तरको सिनेमा बनाउने योजना बनायौं, त्यसमा प्रविधिको सम्झौता गर्नै सकिँदैनथ्यो । निर्देशकले ‘रेड इपिक फोर’ क्यामेरा आवश्यक छ भन्नुभयो । हामीले त्यो क्यामेरा नेपालमा पाएनौं । साउथ इन्डियामा प्रतिदिन ४० हजार आइसीमा पाइने रहेछ भाडामा । त्यो धेरै महँगो भयो हामीलाई । तर पनि प्रयोग त गर्नु नै थियो । निर्देशकले केही छुटमा मिलाइदिनुभयो । त्यस्तै यहाँ उपलब्ध हुने ‘लाइट’ र ‘क्रेन’मा पनि निर्देशकको चित्त बुझेन । त्यो पनि उतैबाट ल्यायौं । त्यो प्रविधि प्रयोग गर्न उतैको प्राविधिक ल्याइयो । काम गर्दै जाँदा कति प्रविधि त नेपालमा पनि उपलब्ध रहेछ भन्ने थाहा भयो । अबचाहिँ नेपालकै पनि प्रयोग गर्न सकिन्छ कि !

नेपाललाई माया गर्ने सन्नी हामीले सन्नी केरलालाई निर्देशकका रूपमा लियौं । उहाँ नेपाललाई निकै माया गर्नुहुँदोरहेछ । त्यही भएर पनि हाम्रो प्रस्ताव सहजैमात्रै होइन, उत्साहपूर्वक स्वीकार्नुभयो । यहाँ आएर अनुसन्धानको क्रममा पारिवारिक हिसाबले बस्नुभयो । र, भन्नुभयो, ‘म नेपाली सिनेमा उद्योगको ट्रेन्ड नै परिवर्तन गरिदिन्छु । यो त मेरो पहिलो सिनेमा हो, त्यसैले मेरो परीक्षण पनि हो । नेपालले चाह्यो भने अझ राम्रा सिनेमा दिन्छु ।’ उहाँले वागमतीबारे भन्नुहुन्थ्यो, ‘हाम्रोमा पाँचदेखि दश करोडसम्मको सिनेमा बन्छ । मैले यति कम बजेटमा बनाएको छु । तर गुणस्तरमा सम्झौता गरेको छैन ।’ बजेट त हाम्रो लागि बढी भयो, उहाँहरूको हिसाबले कम । तर कामपछि हामी दुवै पक्ष सन्तुष्ट छौं । यसै क्रममा दक्षिण भारतीय सिनेमा विकास बोर्डका निर्देशक रमेश नायरले पनि हामीलाई सहयोग प्राप्त भयो । उहाँहरूले भविष्यमा पनि सहयोग जारी रहने बताउनुभएको छ । त्यसैले ‘वागमती’ साउथ इन्डियन सिनेमा उद्योग र नेपाली सिनेमा उद्योगबीच पुलको रूपमा पनि निर्माण भएको हो ।

कलाकारको अब्बल छनोट सिनेमा निर्माणको कुरा अघि बढिसकेपछि निर्देशकले कलाकार छनोटबारे जुन योजना गर्नुभयो, त्यसले हामीलाई निकै प्रभावित पार्यो । उहाँले तीनथरी कलाकार लिने योजना बताउनुभयो । पहिलो, स्टार भइसकेका कलाकारलाई रि–जेनेरेट गर्ने । दोस्रो, अहिले स्टारका रूपमा चम्किरहेका कलाकार लिने र तेस्रो, नयाँ कलाकार लिएर स्थापित गर्ने । त्यहीअनुसार पहिले स्टार भइसकेका राजेश हमाल र शिव श्रेष्ठलाई लिइयो, उहाँहरूलाई पुनस्र्थापित गर्ने भन्ने सोचका साथ । दोस्रोमा दयाहाङ राईलाई पनि लिने भनेका थियौं । हामीले कुरा पनि गरेका थियौं । उहाँ भूमिकामा ट्रक चलाउनुपर्ने थियो । तर छायाँकन गर्ने योजनाका साथ साउथ इन्डियाबाट ‘क्रू’ आइसकेपछि थाहा भयो, उहाँले ट्रक चलाउन जान्नुभएको रहेनछ । त्यसपछि हामीलाई तनाव भयो । हामीले अर्को कोही ‘डुप’ राखेर छायाँकन गरौं भन्ने प्रस्ताव गर्यौं । तर निर्देशकले मान्नुभएन । त्यसैले उहाँको ठाउँमा रविकर घिमिरेलाई लियौं । रविकरले पनि अब्बल क्षमता देखाएका छन् । यो फिल्मले उहाँलाई पनि स्टार बनाउनेछ भन्ने विस्वास छ हामीलाई । त्यस्तै श्रेया कार्कीलाई यसमा ‘इन्टरड्युस्’ गरिएको छ ।

राजेश हमालको ‘कमब्याक’ कलाकार देशका गहना हो । तर एक समयमा चर्चा कमाएका कलाकार केही समयमै छायाँमा पर्दा सबै नेपालीले चित्त दुखाउनुपर्ने हो । राजेश हमाल र शिव श्रेष्ठ पनि पछिल्लो समय छायाँमा पर्दै जानुभएको हो । उहाँहरूको सिनेमा त आइरहेको छ, तर जुन प्रभाव हुनुपर्ने हो, छैन । त्यसैले हामीले चुनौती मोलेर उहाँहरूलाई पुनस्र्थापित गर्न खोजेका हौं । हामी सफल भयौं भने नेपाली सिनेमा क्षेत्रकै लागि गर्वको कुरा हुन्छ । भारतमा सुपरस्टार चालिस नाघेका छन् । हामीले पनि त्यस्तै बनाउन किन सक्दैनौं र ? यो कार्यका लागि हामीले निर्देशक सन्नीको प्रशंसा गर्नैपर्छ । किनकि यो उहाँकै योजना थियो । उहाँहरू ‘रि–जेनेरेट’ राम्रो त कमाउनुहुन्छ नै, निर्मातालाई पनि कमाइ दिनुहुन्छ । त्यसको लागि पहिलेजस्तो जुन पायो, त्यही सिनेमाचाहिँ खेल्नुभएन । राम्रो सिनेमा खेल्नुपर्यो । राम्रो पैसा लिने तर राम्रोमात्रै खेल्ने गर्नुपर्यो । त्यसो भयो भने कलाकारको गरिमा त बढ्छ नै, सिनेमा क्षेत्रको मूल्य पनि बढ्दै जान्छ ।

यस्ता विभिन्न सोचलाई स्थापित गरेकै कारण ‘वागमती’लाई हामीले ‘टे«न्ड चेन्जर’ सिनेमा भनेका छौं । यसले कमाए पनि नकमाए पनि ‘ट्रेन्ड’चाहिँ परिवर्तन अवश्य गर्छ । कमाइमा पनि अहिलेसम्मको रेकर्ड तोड्छ भन्ने विश्वास छ । एकपटक हेर्नेले दर्शकले तीन पटकसम्म हेर्छ भन्ने विश्वास हाम्रो छ ।

नयाँ कथा, ‘सिक्वेल’ सोचमा भुवन कथाको हिसाबले पनि यो नयाँ छ । म दावी गर्न सक्छु, यस्तो कहानी भएको सिनेमा नेपालमा मात्रै होइन, बलिउडमा पनि बनेको छैन । ‘सस्पेन्स थ्रिलर’ सिनेमा धेरै बनेका छन् तर यसमा वागमती सभ्यता पनि जोडिएको छ । आफ्नो सभ्यता के हो भने विश्वलाई देखाउन पनि चाहेका छौं । त्यसैले यसको कथामा नयाँ ‘फ्लेवर’ छ । पछिल्लो समयमा बलिउडमा ‘बाहुबली’ले जस्तो छाप छोड्यो, ‘वागमती’ त्यस्तै छाप छोड्छ भन्ने विश्वास छ । सिनेमा सकिँदा दर्शकलाई लाग्छ, ‘ला सकिइसक्यो, मलाई हेर्नै पुगेको छैन ।’ त्यसैले हामीले वागमती–२ सोच पहिल्यै बनाइसकेका छौं । सानो भाग त सिनेमामा नै देखाएका छौं । अहिलेसम्म सार्वजनिक गरेका थिएनौं, तर आधा घन्टाको छायाँकन नै भइसकेको छ । एक महिनाभित्र ‘टे«लर’ पनि छोड्दैछौं । त्यसमा भुवन केसीलाई ‘रिजेनेरेट’को सोचमा छौं । अनमोल केसीलाई पनि ल्याउने सोच छ । उहाँहरूसँग कुरा भइरहेको छ । अर्जुनजंग शाहीले आउने वचन दिइसक्नुभएको छ ।

संवाद होइन, चरित्र प्रधान सिनेमाको कथा समसामयिक छ । वागमती सभ्यताको केही कथा छ र हामीले दैनन्दिन जीवनमा भोगिरहेका वास्तविकता उतारिएका छन् । कथामा कतै पनि ‘ल्याकिङ’ छैन । नेपाली सिनेमाको एउटा समस्या छ, त्यो हो एउटै दृश्य लामो न लामो हुन्छ । अन्तरवार्ता दिएजस्तो । तर यसमा त्यस्तो छैन । अर्को कुरा नेपाली सिनेमा संवादले नै चलाउन खोजिन्छ । ‘वागमती’ यस्तो सिनेमा हो, जसमा नेपाली फिल्ममा अहिलेसम्मकै कम संवाद प्रयोग गरिएको होला । निर्देशकले आफ्नो खुबी पूर्ण रूपमा देखाएका छन् । हामीले विदेशीलाई पनि यो सिनेमा देखायौं । उनीहरूले भाषा बुझेनन्, तर पनि रोए । ‘वागमती’ भाषा नै नबुझ्नेले पनि बुझ्ने सिनेमा हो । त्यसैले सफलतामा हामीलाई शंका छैन । तर हाम्रो विश्वास दर्शकसँग छ, आजबाट उहाँहरूसमक्ष आएका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप