मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सबै गाविसमा दुई वर्षभित्र सडक सञ्जाल पुग्छ :उपप्रधानमन्त्री कमल थापा

शुक्रबार, २४ पुस २०७२, ०८ : ३४
शुक्रबार, २४ पुस २०७२

हेटौँडा - उपप्रधान तथा परराष्ट्र, सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले मुलुकमा बढ्दो राजनीतिक द्वन्द्वलाई अन्त्य गर्दै जनतालाई आर्थिक समृद्धितर्फ आत्मनिर्भर तुल्याउन वर्तमान सरकारको ध्यान त्यस तर्फ केन्द्रित भइसकेको बताएका छन् ।

उनले हेटौँडा उपमहानगरपालिकाको २१औँ नगरपरिषद् भेलाकोे आज हेटौँडामा उद्घाटन गर्दे आगामी दुई वर्षभित्र सबै गाविसलाई सडक सञ्जालमा जोड्न सरकारले कार्य थालनी गरिसकेको जानकारी दिए ।

उपप्रधानमन्त्री थापाले सरकारले स्थानीय निकायको निर्वाचन आगामी असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ प्रमुख दललगायत अन्य दलसँग परामर्श गरिरहेको उल्लेख गरे ।

उनले आगामी वर्षदेखि स्थानीय बासिन्दालाई आआफ्नो सोलार ऊर्जा जडान गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने बताए ।

सो कार्यक्रममा सभासद्द्वय अनन्त पौडेल र इन्द्रबहादुर बानियाँले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा स्थानीय विकासको कार्यक्रम जनताको चाहनाअनुसार निर्माण हुन नसकेको हुँदा नगरपरिषद्ले समानुपातिक बजेट विनियोजित गरिनुका साथै सडक ढल खानेपानी र वातावरण सुधारको योजनालाई उच्च प्राथमिकता दिनु पर्ने बताए ।

सो अवसरमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलले आव २०७३÷२०७४ का लागि कुल रु ५१ करोड १२ लाख ५० हजारको बजेट प्रस्तुत गरेका थिए ।

उक्त बजेटमा चालु खर्च रु आठ करोड ८० लाख, पुँजीगत खर्च रु ३४ करोड ५७ लाख रहेको र बजेटमा संस्थागत क्षमता अभिवृद्धि, सार्वजनिक, निजी सहभागितामा जोड र पूर्वाधार विकासमा प्राथमिकता दिने नीति लिइएको छ ।

यसैगरी उपप्रधानमन्त्री एवम् राप्रपा नेपालका अध्यक्ष थापाले राप्रपा नेपालका नेता र कार्यकर्ताले पार्टीको नीति र सिद्धान्तमा विचलित नभई मुलुकको राष्ट्रियता र प्रजातन्त्र सुदृढीकरणका लागि एकताबद्ध भई जनताको घरदैलोमा पुग्न आग्रह गरे ।

उनले राप्रपा नेपाल मकवानपुरद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकार जनताको आर्थिक समृद्धिलगायत प्रजातन्त्र र राष्ट्रियतालाई सबल पार्ने कार्यमा एकजुट भएकाले आगामी दुई वर्षसम्म वर्तमान सरकार टिकिरहने दाबी गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप