बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ  :  मन्त्री राई

शनिबार, २३ पुस २०७९, १३ : ३४
शनिबार, २३ पुस २०७९

काठमाडौँ । विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन् । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताएका हुन् ।
“हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, उनले भने ।

मन्त्री राईले मुलुक धनी बनाउने जिम्मा सबैको भएकाले सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रहसमेत गरे । गरिब देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । आन्तरिक राजस्व कार्यालय न्यूरोडका प्रमुख शशि भट्टले व्यापार सङ्घले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताए । उनले बजारमा चोरीपैठारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई कडाइ गरेको बताए । कानुनी दायरामा रहेर व्यापार गर्न उनले व्यापारीलाई आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्रा अस्थिर सरकारका कारण नेपालको अर्थतन्त्रले गती लिन नसकेको बताए । “बैंकबाट चर्को ब्याज लिएर व्यापार गर्नसक्ने अवस्था छैन, यसमा सरकारले विशेष ध्यान दिनुपर्छ”, उनले भने। जबसम्म व्याजदर घट्दैन तबसम्म व्यापार गर्न नसक्ने उनको भनाइ छ । हस्तकला सङ्घ बागमती प्रदेशका अध्यक्ष होमनाथ उपाध्यायले भूकम्प, नाकाबन्दी र कोरोनाका कारण थला परेको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नयाँ सरकारले नयाँ कार्यक्रम अगाडि सार्नुपर्ने बताए ।

नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले ब्याज चर्को बनाउँदा व्यवसायी मर्कामा परेको बताए । सरकारले नेपाली साना व्यवसायीलाई सस्तो ब्याजदरमा पैसा उपलब्ध गराउन सकेमात्र काम गर्न सकिने उनको भनाइ छ । सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले राष्ट्रिय व्यापार सङ्घले व्यवसायीको हक, हितमा मात्र काम नगरी सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको बताए । व्यापार सङ्घले सिन्धुपाल्चोकको सामुदायिक विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई निःशुल्क पढाउँदै आएको उनले जानकारी दिए ।

उनले बैंक तथा वित्तीय संस्थाले एकतर्फी ब्याज बढाउँदा व्यवसायी मारमा परेको भन्दै यसलाई तत्काल घटाउन सरकारसँग माग गरे । बेलाबेलामा नाका बन्द हुँदा व्यवसायीले समस्या भोग्नुपरेको उनको भनाइ थियो । सङ्घका उपाध्यक्ष रामचन्द्र पराजुली, पूर्वध्यक्षहरु नयनबहादुर पण्डित क्षेत्री, रमेशचन्द्र वादे श्रेष्ठ, सल्लाहकार प्रज्वलमान शाक्य, कृष्ण पराजुलीलगायतले व्यवसायीमैत्री वातावरण निर्माणका लागि राज्यले विशेष कदम चाल्नुपर्ने बताएका थिए । विसं २०६१ मा स्थापना भएको सङ्घमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको सङ्घका महासचिव वैकुण्ठ दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप