नयाँदिल्ली । गाडीहरुको कुम्भ मेला 'दिल्ली अटो एक्स्पो २०२३' सुरु भएको छ । दक्षिण एसियाकै प्रसिद्ध मानिएको दिल्ली अटो एक्सपो भारतको उत्तरप्रदेश ग्रेटर नोयडामा जनवरी १३ देखि १८ सम्म चल्ने छ ।
यद्यपि, मिडियाकर्मीहरुका लागि भने जनवरी ११ देखिनै एक्सपो खुल्ला गरिएको छ । एक्सपोमा सहभागी विभिन्न अटोमोबाइल्स ब्रान्ड तथा उत्पादनको प्रचारप्रसारका लागि मिडियालाई भने अगाडिनै अवलोकनको व्यवस्था गरिएको एक्सपो आयोजकले जनाएको छ ।
उत्तरप्रदेश स्थित इन्डिया एक्स्पो मार्टमा जनवरी १३ देखि १८ सम्म कुल ६ दिन चल्ने एक्सपोमा विभिन्न ब्रान्डका उत्पादन तथा नयाँ गाडीको कन्सेप्ट सार्वजनिक गरिएका छन् ।
खासगरी यसपटकको दिल्ली एक्सपो, २०२३ विशेष इलेक्ट्रिक प्रोडक्टसँगसँगै अटो ब्रान्डहरुको आकर्षण कन्सेप्ट सार्वजनिक गर्ने योजना देखिन्छ । एक्स्पोमा लोकप्रिय ब्रान्ड, तिनका उत्पादन, दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीहरुको वेजोड प्रदर्शन गरिएका छन् ।
कुनकुन ब्रान्ड सहभागी छन् ?
एक्स्पोमा मारुती सुजुकी, हुन्डाई मोटार्स, किया, टोयटा, किर्लोस्कर, टाटा मोटर्स, एमजी, एसएमएल सुजुकी लगायतका ब्रान्डको दरिलो उपस्थिती रहेको छ भने केही नयाँ ब्रान्डहरुले समेत एक्सपोमा उपस्थित जनाएका छन् । तर, यसपटक एक्सपोमा महिन्द्रा एन्ड महिन्द्रा गाडीको सहभागिता भने छैन।
मारुती सुजुकीले कन्सेप्ट इलेक्ट्रिक एसयुभी ईभीएक्ससंगै नयाँ कन्सेप्टमा ग्रान्ड भिटरा, ब्रेजा नयाँ भर्जन सार्वजनिक भएको छ। प्रसिद्ध ब्रान्ड हुन्डाईले एक्सपोकै अवसरमा बहुप्रतिक्षित आयोनिक सिक्स सार्वजनिक गरेको छ भने टाटा मोटर्सले टाटा पञ्च इभी, अभिना कन्सेप्ट कार सार्वजनिक गरेको छ ।
यस्तै कियाको ईभी ६ प्रोडक्सन, ईभी ९ कन्सेप्ट कार प्रदर्शनिमा राखिएको छ। टोयटाको विद्युतीय गाडी विजेटफोरएक्स, लेजेन्डर, इनोभा हाईक्रस, एमजीको एक्टोर, मार्भल आर समेत प्रदर्शनीमा उतारिएका छन् ।
दिल्ली अटो एक्सपोको यस वर्षको मुख्य आकर्षणको केन्द्र लक्जरियर्स ब्रान्ड लेक्ससको आरएक्स बनेको छ । फ्लाई डुअर, स्पोस्टी र लग्जरी कन्सेप्टमा तयार भएको गाडीले मेलाको प्रायस् सबै जसोको ध्यान तानिरहेको छ ।
प्रत्येक वर्ष आयोजना हुदैआएको दिल्ली अटो एक्सपो यसपटक भने दुई वर्षपछि आयोजना भएको हो । कोभिड-१९ को माहामारीको कारण सन् २०२१ र २०२२ मा हुन सकेन । तर, यस वर्ष भने निकै धुमधामले अटो एक्सपो मनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।
एक्सपोको अबलोकन भ्रमणका लागि भारतको अन्य प्रदेशसँगै नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स लगायत विभिन्न दक्षिण एसियाली मुलुकका व्यवसायी, उद्योगी तथा पत्रकारहरु नोयडामा उपस्थित छन् ।
प्रतिक्रिया